इन्जिनियरिङमा पढाइमा अब्बल छौं
कालीमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेजले २० वर्षदेखि विद्यार्थीको चाहनाअनुसार शिक्षा दिइरहेको छ । स्तरीय शिक्षाका कारण कलेजमा विद्यार्थी आकर्षण बढिरहेको छ । कलेजका अध्यक्ष तथा प्राध्यापक हृरेन्द्रमान प्रधानसँग गरिएको कुराकानीः
कलेजको दुई दशकको यात्राबारे अनुभव सुनाइदिनुस् न ?
यस कलेजको स्थापना सन् १९९८ मा भएको हो । हामीले सुरुमा सिभिल इन्जिनियरिङ विषयबाट पढाइ सञ्चालन गरेका थियौं । त्यसपछि आर्किटेक्चर, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेशन विषयको पढाइ सुरु गरेका हौं ।
केईसीमा आकर्षण के होला ?
पहिलो कुरा त हामीले दिएको स्तरीय शिक्षा नै हो । हामी कहाँ पढ्ने विद्यार्थी सबै रोजगारीमा लाग्न सक्षम हुन्छन् । थप अध्ययनका लागि विदेशी तथा स्वदेशी विश्वविद्यालयमा पनि छात्रवृत्तिमा गएका छन् । यो नै हाम्रो सफलताको मुख्य कारण हो ।
स्तरीय शिक्षा भन्नुभयो, के गर्न सकियो भने यस्तो शिक्षा दिन सकिँदो रहेछ ?
हामी टिम स्पिरिटमा काम गर्छौं । शिक्षकहरु अनुभवी हुनुहुन्छ । हामीसँग स्थायी शिक्षक मात्र एक सय जति हुनुहुन्छ । उहाँहरु सबैजना बिषयगत रुपमा अत्यन्त दक्ष हुनुहुन्छ, अनुभवी हुनुहुन्छ । त्यसबाहेक हामीसँग विद्यार्थीलाई चाहिने सम्पूर्ण सुविधा छ । पुस्तकालय छ, भौतिक सुविधा पर्याप्त छ ।
त्रिविअन्तर्गतका इन्जिनियरिङ कलेजमध्ये तपाइँको स्थान कहाँ छ जस्तो लाग्छ ?
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पूल्चोकपछिको कलेज भनेको हाम्रो नै हो । यस हिसाबले हाम िदोस्रो स्थानमा छौँ भन्ने दाबी गर्छौं । अन्य कलेजमा विद्यार्थी अभाव भइरहेका बेला हामी कहाँ भने पर्याप्त विद्यार्थी आउँछन् । नतिजा अब्बल छ ।
कलेजको भावी योजना के छ ?
अहिले भाडाको घरमा कलेज सञ्चालन गरिरहेका छाैं । यसको मतलब हामीसँग सुविधा सम्पन्न संरचना छैन भन्ने हैन । यति हुँदाहुँदै पनि हामी छिट्टै आफ्नै भवन बनाएर सर्ने योजनामा छौँ । यसका लागि ३० रोपनी जग्गा समेत खरिद गरिसकेका छौ । अझ थप्ने प्रक्रियामा छौँ ।