अस्ट्रेलियन अंग्रेजी

‘तिमी के लेख्छौ हँ फेसबुकमा ? सयौं लाइक्स आउछन त !’ उसले भन्यो– ‘मेरो कम्पनीको पेजमा पनि त्यति धेरै लाइक्स हुँदैन ।’
‘म लेखक हुँ ।’ मैले भने ।
‘तर यो त सब अर्कै भाषामा छ त ?’ उसले फेसबुक तिर देखाउदै भन्यो– ‘हेर्दा त अरेबिक जस्तो देखिन्छ ।’
‘होइन ! यो मेरो नेपाली भाषा हो ।’ मैले भने– ‘म प्राय नेपालीमा लेख्छु ।’
‘अंग्रेजीमा किन लेख्दैनौ ?’ उसले म तिर फर्कदै सोध्यो, ‘इमेल लेखाइबाट म अनुमान गर्छु, तिम्रो लेखाई त यहाँका धेरै अंग्रेजी बोल्ने मान्छेहरुको भन्दा पनि राम्रो छ !’
‘हो र !’ म अलिकति घमण्ड मिसिएको लामो हाँसो हाँसे ।
अनि एकै छिनमा ठट्टा गर्दै भने । ‘तर तिम्रो भाईले मेरो अंग्रेजी बुझ्दैन त !’
‘त्यसको कुरा नगर । त्यसलाई राम्रोसँग आउँदैन ।’ उसले आजीत भएझै उतातिर फर्कदै भन्यो ।
उनीहरु मुस्लिम हुन् । सायद लेबनानका । पुर्खौ देखि यही बस्दै आएका छन् । परिवार पनि ठुलो छ । मुस्लिम परिवार । मैले भन्नु नपर्ला – सबै अल्लाहको वरदान ।
उनीहरुको परिवार मिलेर बिजनेश गरेका छन् – हेल्थ एण्ड फिटनेस वायरहाउस । अस्ट्रेलियामा ६ वटा स्टोर छन् । एउटा मल्टी मिलिनियर कम्पनी । आफ्नै परिवार मिलेर चलाउँछन् ।
घरको जेठो छोरोले इन्जिनियरिङ पढ्दा पढ्दै चौथो बर्षको पढाइ छोडेर बिजनेश शुरु गरेछ ।
‘पढेर के काम !’ – उसलाई एकदिन सुर चलेछ । बाँकी सारा भाइहरुलाइ पनि पढ्न बन्द गरिदिएछ । अनि बिजनेश शुरु ।
त्यो कम्पनीको अनलाइन सिस्टम मैले हेर्दिने गर्दछु ।– शनिबार र आइतबार ।
दाजुसँग मेरो राम्रो कुरा भइरहन्छ । तर, उसको एउटा भाइले बोलेको भने मैले बुझ्दिन र मैले बोलेको पनि उसले बुझ्दैन । उ यति छिटो बोल्छ कि कहिलेकाहीं त उसका शब्द गुगलमा पनि भेट्टाउदिन ।
ऊ सँग शुरुको दिनको भेट सम्झेर मलाई अहिले पनि हासो छुट्छ । अफिसको पहिलो दिन ढोकाबाट पस्दै गर्दा उसले मलाइ भनेको थियो– ‘हवाया माइट ?’
मैले बुझिन । म ट्वाल्ल परेर हेरें अनि खिसिक्क हासें– सबैले सजिलै बुझ्ने सबै भन्दा सजिलो भाषा ।
पछिसम्म सोचिरहें– के भनेको होला यसले । अफिस बाट फर्कने बेला बल्ल दिमागमा क्लिक भो– त्यो शब्द त ‘हाउ आर यु ?’ को अपभ्रंश पो रै’छ ।
धेरै दिनपछि अस्ति एक दिन फेरी ऊ सँग भेट भो – शनिबारको दिन ।
‘आजकल कता हाराएको ?’ मसंग हात मिलाउँदै उसले भन्यो ।
‘उ हाम्रोमा दुइ दिन मात्रै काम गर्छ । हामि धेरै दिन उसलाई एफोर्ड गर्न सक्दैनौ । महँगो छ ।’ छेउमा बसेको उसको ठट्टा गर्दै भन्यो र उ हाँस्यो ।
‘आजकल भाउ बढ्यो कि क्या हो ?’ उसले भन्यो ।
‘होइन ! मैले सिटिको आइटी कम्पनिमा फुलटाइम जागिर पाएँ ।’ मैले भने ।
‘सिट गो ब्रो’ उसले भन्यो ।
के भन्यो मैले बुझिन । फेरी हासेरें टारिदिएँ ।
‘सिट गो ब्रो’ उसले फेरि पनि म तिर हेर्दै भन्यो ।
म फेरि हाँसे । नबुझेको बेलामा जानेकै त्यहीँ ।
‘अनि तलाई अंग्रेजीमा समस्या भएन ?’ उसले ठट्टा गर्ने स्वभावमा भन्यो । ‘तेरो अंग्रेजीले काम गर्दो रहेनछ?”
त्यसैबेला मलाइ मेरो बोसको अस्तिको एउटा घटना याद आयो । हाम्रो कम्पनीको एउटा ब्रान्च एटलान्टमा पनि छ । त्यसको लागि बोस अमेरिका गइरहन्छिन् । त्यहाँका क्लाइन्टहरु उनी बोल्यो कि हाँस्न थाल्छन रे । उनी यति छिटो बोल्छिन रे कि उनीहरु कहिलेकाही त केहि पनि बुझ्दैनन् रे ।
अस्ति भन्दैथिइन् – मेरो त अमेरिकामा वेईज्जत नै भइसक्यो । केही बोल्ने हँुदैन, सब हाँस्न थाल्छन ।
‘मलाई गाह्रो भा’को छैन बरु तँलाइ चाँही गाह्रो पर्न सक्थ्यो’ त्यो सम्झे पछि मैले उसलाई जिस्काउँदै भने । ‘हाम्रोमा प्रायः अमेरिकाका क्लाइन्टहरु छन । तँ बोलिस भने उनीहरुले बुझ्दैनन् ।’
उनीहरु प्रायः अफिसियल चिठीहरु पनि लेख्दैनन । केहि लेख्नु प¥र्यो कि मलाई भन्छन् ।
मैले देख्दा उनीहरु प्रायः दुइ काम गर्छन– बोल्ने र सुन्ने । त्यसमै पारङ्गत छन, आवश्यकता भन्दा बढी नै । हुन त प्राय मान्छेले गर्ने त्यहि नै हो । तर पनि ममा एउटा भ्रम के रहेछ भने यहाँका सबै मान्छे एकेडेमिक पढाइ गरेकै हुन्छन, युनिभर्सीटी गएकै हुन्छन् । त्यसैले पढ्ने लेख्ने कुरामा पनि पारङ्गत नै हुन्छन होला । यहाँ निर म फेल खाएछु ।
पढ्ने र लेख्ने काम गर्नु उनीहरुलाइ दिक्क लाग्छ । त्यसैले त्यससँग सम्बन्धि अफिसको सबै काम मलाई दिन्छन् ।
मेरो एकेडेमिक लेखाइ उनीहरुलाई मनपर्छ । तर, म बोल्न भने उनीहरुलाई भेट्न सक्दिन । आजकल भने अलि बानी पर्दै गएको छ । कहिले काँही डर पनि लाग्छ । यहाँ बस्दा बस्दै कतै यिनीहरु जस्तै बढी पारङ्गत पो भइने हो कि !
(अस्ट्रेलियामा बस्दैं आएका ज्ञवाली लेखक तथा ब्लगर हुन् ।)