25 Mar 2023 | शनिबार, ११ चैत, २०७९

logo
बुधबार, २२ आषाढ, २०७९

राष्ट्रपति कपमा सुष्माले तीन स्वर्ण जितेपछि...

राष्ट्रपति कपमा सुष्माले तीन स्वर्ण जितेपछि...

मनकुमारी परियार–नाम जस्तै मनकारी । राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन् । उनले सोचिन् अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर, जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ?

जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुगिन् त्यसपछि छाँगाबाट खसे झैँ भइन् उनी । कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी थिए । दोधारमा परिन् मनकुमारी । जाउँ कहाँ जाउँ ? गुहार मागू कसलाई ? भएन भनेर कोखका सन्तान जन्मने प्रक्रियामा थियो । मनकुमारीले अठोट गरिन् जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ ।

त्यसपछि सुरु हुन्छ उनको संघर्षको कथा । के चाहिँ गरिनन् उनले ? संजोगले बेनी नगरपालिकाका बजारमा ट्याक्टर चढेर फोहर संकलन गर्ने काम पाइन् मनकुमारीले । काम गर्दा कहिल्यै घिन मानिनन् अल्छी गरिनन् । सबैलाई मीठो बोली र कामले लोभ्याइन् । एकातिर काखमा बच्चा अर्कोतिर कामको चटारो हरेस नखाइकन निरन्तर काममा लागिन् । यहीक्रममा छोरी जन्मिइन् । छोरी नाम राखिन्– सुष्मा परियार ।

हो, यिनै सुष्माले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक काश्यपदक जितेर सबैलाई चकित तुल्याएकी छन् । उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सुष्माले दौडतर्फ १०० मिटर, २०० मिटर र चारसय मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६०० मिटर रिलेमा काश्यपदक जित्न सफल भएकी हुन् । अब सुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै छिन् ।

सुष्मा त्यसै सफल भएकी भन् होइनन् । उनको सफलतामा आमा मन कुमारीको ठूलो हात छ । एकातिर बुबाको साथको अभाव अर्कोतिर कमजोर आर्थिक अवस्था । ‘दशौँ वर्ष गरेको नगर पालिकाको जागिर पनि गयो । अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरेर दैनिक गुजारा चलाइरहेकी छु । महिनाभरिको कमाइले के घर भाडा तिर्ने ? के हातमुख जोर्ने ?’ गहभरि आँसु झार्दै मनकुमारीेले भनिन्, ‘कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ । कैयौँपटक कापी, कलम किन्ने पैसा भएन । यसले कहिल्यै गुनासो गरिन । अचानक अमिसाले फोन गरेर सुष्माले जितिन् भन्दा भुइँमा खुट्टा रहेन । दौडेर मञ्चमा पुगे । छोरी र साथीहरुलाई बधाई दिएँ आज यसको सफलताले सबै दुःख बिर्सिएको छु । सर मिसलाई नै अभिभावक सम्झेर प्रकाश मावि पढाएको छु आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउने छ,’ मनकुमारीले भनिन् ।

‘गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा आँखामा परेका थिइन्, सुष्मा । राष्ट्रपति कप हुने भन्दाबित्तिकै उनको तस्बिर झलझली आँखा अगाडि नाँच्यो । नभन्दै साथी माझ अब्बल सावित भएर छनोट भइहालिन्’, प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले भने । ‘सुष्माको प्रदर्शनले हामी खुसी छाँै, उनले विद्यालयको नाम राखेकी छन् । विद्यालयले गर्नुपर्ने सहयोगमा हामी कमी हुन दिने छैनौँ’, विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले भने ।

सुष्माले पनि अहिलेको प्रदर्शनले खुसी भएको बताइन् । ‘सरमिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ । विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकूँ । यही सपना बोकेर पोखरा जानेछु । आमाको सपना पूरा गर्नेछु । मेरा पदक आमाबुबालाई समर्पण छ ।’ खुसीभावमा सुष्माले भनिन् ।

अहिले सिङ्गो समाज सुष्माको अभिभावक बनेको छ । सुष्मालाई मान्छे बनाउन र बुवाको कमी महसुस हुन नदिन वास्तवमै सहयोगी हातको खाँचो भएको विद्यालयका शिक्षक विनय श्रेष्ठले बताए ।

Loading...

ताजा अपडेट

धेरै पढिएका समाचार