काठमाडौं । इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णयलाई लिएर चौतर्फी विरोध भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले आफ्नो निर्णय परिमार्जन गरेको छ। अब विद्यालय तहमा सञ्चालन हुने इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्स मात्रै बन्द गर्ने स्पष्ट पारिएको छ ।
मन्त्रालयले जारी गरेको नयाँ प्रेस विज्ञप्तिअनुसार विद्यालय तहका विभिन्न कक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन गरिँदै आएका ‘Entrance Preparation’ कक्षा तथा ब्रिज कोर्सहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने, शिक्षामा समान पहुँचमा असर पर्ने तथा अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थप्ने देखिएकाले यस्ता कार्यक्रम रोक्ने निर्णय गरिएको जनाएको छ।
यसअघि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा सञ्चालन हुने इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो । उक्त निर्णयप्रति निजी शैक्षिक संस्थाहरू र सरोकारवालाबाट विरोध भएपछि मन्त्रालयले पुनः स्पष्टीकरणसहित नयाँ विज्ञप्ति जारी गरेको हो ।
नयाँ निर्णयअनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि विद्यालय तहमा सञ्चालन हुने इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
निर्देशन विपरीत यस्ता कार्यक्रम सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ। साथै, यस्ता गतिविधि रोक्न अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई समेत अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया