Techie IT
  • शनिबार, चैत्र २१, २०८२ / Saturday, April 4, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारएसईईसम्बन्धि कार्यविधि पास गर्न बोर्डको बैठक बोलाइयो, ५ः३० बजे बैठक बस्दै

एसईईसम्बन्धि कार्यविधि पास गर्न बोर्डको बैठक बोलाइयो, ५ः३० बजे बैठक बस्दै


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी नयाँ कार्यविधि पारित गर्न राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) को पूर्ण बैठक आज साँझ ५:३० बजे बस्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनअनुसार १५ दिनभित्रै एसईई नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित तयार गरिएको कार्यविधि बैठकमा पेश गरिनेछ।

बोर्डका एक अधिकारीका अनुसार बैठकले कार्यविधिमाथि विस्तृत छलफल गर्दै आवश्यक संशोधनसहित पारित गर्ने तयारी गरिएको छ। ‘आजको बैठक मुख्य रूपमा कार्यविधि पारितमै केन्द्रित हुनेछ,’ ती अधिकारीले भने, ‘छिटो नतिजा प्रकाशन गर्ने प्रणाली लागू गर्ने विषयमा निर्णायक छलफल हुनेछ।’

नयाँ कार्यविधिअनुसार परीक्षा केन्द्रमै परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। केन्द्राध्यक्ष, सुरक्षाकर्मी तथा सीसीटिभीको निगरानीमा उत्तरपुस्तिका जाँच गरी सोही दिन प्राप्ताङ्क सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने व्यवस्था राखिएको छ।

यसैगरी, जुन प्रदेशको नतिजा पहिला तयार हुन्छ, सोही प्रदेशको नतिजा क्रमशः सार्वजनिक गर्ने प्रस्तावसमेत कार्यविधिमा समेटिएको छ। यसले विगतमा जस्तै देशभरको नतिजा एकैपटक कुर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार कार्यविधि पारित भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइनेछ र स्वीकृतिपछि तत्काल कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि बोर्डमा कामको चाप बढेको छ। मन्त्रालयका अधिकारीहरूका अनुसार १५ दिनभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य पूरा गर्न बोर्डले आन्तरिक तयारी तीव्र बनाएको छ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणी पौडेल ले नतिजा सार्वजनिक गर्न कम्तीमा दुई महिना लाग्ने बताएका थिए। तर सरकारको कडा निर्देशनपछि बोर्डले नयाँ मोडालिटीमार्फत प्रक्रिया छिटो बनाउने प्रयास गरिरहेको छ।

बोर्डका पदाधिकारीहरूले भने कार्यविधि पारित भएपछि मात्र यसबारे औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको