Techie IT
  • शनिबार, चैत्र २१, २०८२ / Saturday, April 4, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम

कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम


काठमाडौं । शंखरापुर नगरपालिकाद्वारा सञ्चालन गरिएको कक्षा ८ को आधारभूत तह परीक्षा (बिएलई)मा इन्द्रायणीस्थित चिरायु एजुकेशनल एकेडेमीले सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तकुमार बुढाथोकीका अनुसार चिरायु एजुकेशनल एकेडेमीले औसत ३.६१ जीपीए प्राप्त गर्दै संस्थागत विद्यालयतर्फ प्रथम स्थान हासिल गरेको हो।

विद्यालयबाट यस वर्ष २१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये अस्मिता पुडासैनीले ३.९१ जीपीए ल्याउँदै नगरपालिकाभर प्रथम बनेकी हुन्। विद्यालयका प्रिन्सिपल शिवप्रसाद देवकोटाका अनुसार चिरायुका ११ जना विद्यार्थीले ए प्लस र १० जनाले ए ग्रेड प्राप्त गरेका छन्।

नगरपालिकाले चैत ५ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको परीक्षामा २३ वटा विद्यालयका ५१५ विद्यार्थी सहभागी भएका थिए। सामुदायिक विद्यालयतर्फ भने भगवती माध्यमिक विद्यालय प्रथम भएको छ।

सामुदायिक विद्यालयतर्फ छात्रामा मनिषा श्रेष्ठले ३.७४ जीपीए प्राप्त गर्दै प्रथम बनेकी हुन् भने छात्रतर्फ भाग्योदय माध्यमिक विद्यालयका अर्जुन तामाङले ३.८५ जीपीएसहित प्रथम स्थान हासिल गरेका छन्। संस्थागत विद्यालयतर्फ छात्रतर्फ भने जहरसिंहपौवास्थित हिलसाइड एकेडेमीका धनबहादुरले ३.७७ जीपीएसहित प्रथम स्थान प्राप्त गरेका छन्।

विद्यालयका प्रिन्सिपल देवकोटाले उत्कृष्ट नतिजाको श्रेय विद्यार्थीको मेहनत, शिक्षकको लगनशीलता र अभिभावकको सहयोगलाई दिएका छन्। उनका अनुसार विद्यालयले विद्यार्थी केन्द्रित सिकाइमा जोड दिँदै कमजोर विद्यार्थीलाई पहिचान गरेर विशेष सहयोग गर्ने गरेको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको