Techie IT
  • शुक्रबार, असार १३, २०८२ / Friday, June 27, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठएडमिसन/इभेन्टनेपालका २५ अब्बल माविहरू

नेपालका २५ अब्बल माविहरू


काठमाडौं– मुलुकभर कक्षा ११ र १२ पढाइ हुने झण्डै ५ हजार माविहरु छन् । ग्रेडिङ प्रणालीबाट रिजल्ट प्रकाशित गरिरहेको राष्ट्रिय परीक्षा बोर्डले वि.सं. २०७९ बाट ‘नन ग्रेडिङ’ प्रणाली लागु गरेको छ । कक्षा ११ को परीक्षा माविहरुलाई आफ्नै स्कुलमा संचालन गर्ने अधिकार दिइएको छ । कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्छ ।

एजुकेशन समाचारले राष्ट्रिय परीक्षा बोर्डले ‘नन ग्रेडिङ’ प्रणाली लागु गरेपछिको तीन वर्षको कक्षा १२ को रिजल्टलाई अब्बल माविहरु छनोटको प्रमुख आधार बनाएको छ । रिजल्टसँगै लगातार पछिल्ला तीन वर्षमा ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी गराउने मावि, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, उत्कृष्ट माविको पुरस्कार, कक्षा ११ र १२ पढाउने अनुमति पाएको वर्ष र पिपुल्स पर्सेप्सनलाई अब्बल मावि छनोटका आधार बनाइएको छ ।

कक्षा ११ को परीक्षा ‘होम सेन्टर’मै सञ्चालन हुने भएकाले त्यसलाई अब्बल मावि छनोटको मापदण्ड बनाइएको छैन । अब्बल माविहरु छनोट गर्ने क्रममा सुरुमा कक्षा १२ मा लगातार तीन वर्ष ४ सय ८० भन्दा बढी विद्यार्थीलाई बोर्डको परीक्षामा सहभागी गराउने माविहरुलाई छनोट गरियो । त्यसबाट सर्टलिष्ट भएर वि.सं. २०७९ सालमा प्रकाशित रिजल्टबाट ८० मावि, २०८० सालमा प्रकाशित रिजल्टबाट ११९ मावि र २०८१ सालमा प्रकाशित रिजल्टबाट ९४ माविहरु छनोट भए । कतिपय माविहरु तीन वर्ष लगातार ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी नगराएका कारण प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

तीन वर्ष नै बोर्डको वार्षिक परीक्षामा ४ सय ८० विद्यार्थी सहभागी गराएका ७६ वटा माविहरुबाट रिजल्टका आधारमा टप ट्वान्टी फाइभमा रहेका माविहरुलाई भौतिक पूर्वाधार, पिपुल्स पर्सेप्सन, अतिरिक्त क्रियाकलाप, उत्कृष्ट माविको पुरस्कार, प्लस टु अध्यापन गराउन थालेको वर्षमा प्रतिस्पर्धा गराइएको थियो । जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई २० (प्रत्येकलाई ४/४) प्रतिशतमा मार्किङ गरेर सबै जोडेर कुल अंकमा आधारमा ‘टप टेन’ माविहरु निकालिएको हो ।

१. प्रसादी एकेडेमी, ललितपुर

ललितपुर मानभवनस्थित प्रसादी एकेडेमी सेकेण्डरी स्कुल अब्बल माविको सूचीमा निरन्तर पहिलो नम्बरमै छ । माविका प्रमुख विक्रम राईकाअनुसार प्रसादीको ‘एकल कार्यक्रम, एकल व्यवस्थापन’को नीति नै अब्बलताको प्रमुख कारण हो । सिमित भर्ना, अनुभवी फ्याकल्टी र विद्यार्थीको शैक्षिक उन्नयनमा बढी केन्द्रीत हुनुसँग प्रसादीको सफलता जोडिएको छ । विद्यार्थीमैत्री शैक्षिक वातावरण र गुणस्तरीय पठनपाठनजस्ता कुराले प्रसादीलाई सधैं अब्बल बनाउन भूमिका खेलेका छन् । विद्यार्थीमुखी प्रचारलाई वेवास्ता गर्दै आफ्नै कर्ममा तल्लीन रहनु यो माविको अर्को प्रमुख विशेषता हो । २८ वर्षदेखि ११ र १२ कक्षा मात्रै पढाइरहेको प्रसादीले लगातार पाँच पटक उत्कृष्ट माविको पुरस्कार पाएको छ । २० वर्षदेखि लगातार अब्बल माविमा दरिनुले पनि प्रसादीको उत्कृष्टतालाई प्रमाणित गर्दछ ।

सिट संख्या
विज्ञान: ७ सय
व्यवस्थापन: १ सय

शुल्क

विज्ञान

– पहिलो स्टलमेन्टः ५५ हजार रुपैयाँ
– दोस्रो स्टलमेन्टः ४० हजार रुपैयाँ
– तेस्रो स्टलमेन्टः ३८ हजार रुपैयाँ
– चौथो स्टलमेन्टः ३७ हजार रुपैयाँ

व्यवस्थापन

– पहिलो स्टलमेन्टः ३५ हजार रुपैयाँ
– दोस्रो स्टलमेन्टः २० हजार रुपैयाँ
– तेस्रो स्टलमेन्टः १९ हजार रुपैयाँ
– चौथो स्टलमेन्टः १६ हजार रुपैयाँ

२. सेन्ट जेभियर्स, काठमाडौं

कक्षा ११ र १२ को अध्ययनका लागि माइतीघरस्थित सेन्ट जेभियर्स कलेज विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाइमा पर्छ । विज्ञान संकाय मात्र पढाइ हुने यो कलेजलाई शैक्षिक वातावरण, कम बिदा, उच्चस्तरका फ्याकल्टीजस्ता कारणले अब्बल बनाएको हो । आधुनिक प्रयोगशाला, तीन–तीन महिनामा हुने परीक्षाले पनि विद्यार्थीलाई पढाइमा उत्प्रेरित गर्ने गरेको कलेजको कक्षा ११ र १२ कार्यक्रमका सहायक प्रधानाध्यापक गेहेन्द्र चन्द बताउँछन् । ‘पाठ्यक्रमका विषयवस्तुका अलावा अतिरिक्त क्रियाकलापमा पनि सेन्ट जेभियर्सले उत्तिकै जोड दिँदै आएको छ,’ चन्द भन्छन्, ‘ओलम्पियाडजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि हामीले विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएका छौँ ।’ सेन्ट जेभियर्सले १६ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराइरहेको छ ।

सिट संख्या

विज्ञान: ५ सय
(बायोलोजी: ३ सय ३४/फिजिक्स ः १ सय ६६)

शुल्क
१ लाख ७१ हजार रुपैयाँ

३. काठमाडौं मोडल सेकेण्डरी स्कुल, काठमाडौं

विद्यार्थीको प्रमुख रोजाइमा पर्दै आएको बागबजारस्थित काठमाडौं मोडल सेकेण्डरी स्कुल निरन्तर अब्बल माविहरुमा पर्दै आएको छ । ‘एकेडेमिक एक्सिलेन्स थ्रु क्वालिटी एजुकेशन’ मान्यतामा राख्ने माविले स्थापनाकालदेखि नै एकेडेमिक क्षेत्रमा नमुना बन्नुपर्छ भन्ने मान्यताका साथ काम गर्दै आएको छ । ‘निरन्तर शैक्षिक उत्कृष्टतामा हाम्रो ध्यान केन्द्रीत छ,’ माविका डेपुटी सिईओ अनिष ढकाल भन्छन्, ‘त्यसका लागि चाहिने दक्ष, अनुभवी र प्रतिस्पर्धात्मक फ्याकल्टी टीम, प्रविधिमैत्री कक्षाकोठा र सिकाइ, मार्केट ट्रेड अनुसारको शिक्षा, शिक्षण सिकाइमा अध्यावधिक, अनुसन्धानात्मक कार्य, अन्तरक्रियात्मक अध्यापन विधि हाम्रो सफलता कारक हुन् ।’ माविले कक्षा १२ पछिको शैक्षिक लक्ष्य र भविष्यको मार्गदर्शनमा जोड दिने गरेको छ । ‘यसले राष्ट्रिय परीक्षा बोर्डको नतिजासँगै एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्समा पनि अब्बल नतिजा हासिल गर्दै आएका छौं,’ उनी थप्छन्, ‘गत वर्ष नै हाम्रा ४२ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्ति इन्जिनियरिङमा ४७ जनाले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।’ २६ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराइरहेको काठमाडौं मोडेल सेकेण्डरी स्कुलले २ पटक उत्कृष्ट माविको पुरस्कार हात पारेको छ । केएमसी अर्को शाखा बालकुमारीमा समेत रहेको छ । त्यहाँ पनि कक्षा ११ र १२ अध्यापन गराउँदै आएको छ ।

सिट संख्या
विज्ञान: १ हजार ५ सय
व्यवस्थापन: ४ सय ५०
कानुन: ५०

भर्ना शुल्क
विज्ञान: ६८ हजार ६ सय ८५ रुपैयाँ
व्यवस्थापन: ५१ हजार ३० रुपैयाँ
कानुन: ५१ हजार ३० रुपैयाँ

मासिक शुल्क
विज्ञानः ९ हजार ६ सय रुपैयाँ
व्यवस्थापनः ७ हजार ६ सय रुपैयाँ,
कानुनः ७ हजार रुपैयाँ ६ सय रुपैयाँ

अन्य शुल्क
विज्ञान: ३२ हजार रुपैयाँ
व्यवस्थापन:३२ हजार
कानुन: ३२ हजार रुपैयाँ

४. ग्लोबल कलेज अफ म्यानेजमेन्ट काठमाडौं

म्यानेजमेन्ट कलेजहरुमा पहिलो नम्बरमा पर्ने मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्ट समग्र माविहरुमा अब्बल माविको सूचीमा सधैं अग्रपंक्तिमै दर्ज छ । विद्यार्थीको पर्सनल केयर, क्वालिफाइड फ्याकल्टी, प्रविधिमैत्री शिक्षा, अतिरिक्त क्रियाकलापजस्ता कुराले ग्लोबललाई अब्बल बनाएको कलेजका प्रिन्सिपल अम्बादत्त जोशी बताउँछन् । ‘हाम्रो अब्बल नतिजाको मेरुदण्ड भनेकै हाम्रा फ्याकल्टीहरु हुन्,’ उनी भन्छन्, ‘नेपालकै उत्कृष्ट फ्याकल्टीहरु हामीसँग आवद्ध भएकाले नतिजा सधैं राम्रो छ ।’ २१ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराउँदै आएको ग्लोबलले विद्यार्थी भर्नामा आफ्नै मापदण्ड तय गरेको छ । सिकाइमा फरक शैली, विद्यार्थीको नियमित मूल्यांकन, अनुशासित वातावरणजस्ता कारणले नतिजामा सहयोग गरिरहेको प्रिन्सिपल जोशी बताउँछन् । ‘हामीले पढाइका साथसाथै सीसीए र ईसीएलाई गज्जबले संयोजन गरेर लगेका छौं,’ जोशी भन्छन्, ‘हाम्रो स्ट्रेन्थ नै यही हो ।’ यसका अलावा ग्लोबलको उत्कृष्ट अत्याधुनिक भौतिक पूर्वाधार पनि अर्को बलियो पक्ष हो ।

सिट संख्या
व्यवस्थापन: ८ सय

भर्ना शुल्क
२० हजार रुपैयाँ

मासिक शुल्क
व्यवस्थापनः १५ हजार रुपैयाँ

वार्षिक शुल्क
व्यवस्थापनः ९० हजार रुपैयाँ

५. रिलायन्स इन्टरनेशनल एकेडेमी, काठमाडौं

चाबहिल सरस्वतीनगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी उत्कृष्ट माविका पर्दै आएको छ । वि.सं. २०६० मा स्थापना भएको यो माविले हरेक वर्ष उत्कृष्ट नतिजा दिदैं आएको छ । दक्ष एवं अनुभवी शिक्षक—शिक्षिका, कुशल व्यवस्थापन, शान्त एवं अनुशासित शैक्षिक वातावरण, संस्कारसहितको शिक्षा उत्कृष्ट नतिजाको सूचक रहेको एकेडेमीका प्रिन्सिपल रवीन्द्रजंग थापा बताउँछन् । रिलायन्सले हरेक वर्ष एकेडेमीक, इसीए, सीसीए र कल्चरल कार्यक्रमको बेग्ला—बेग्लै क्यालेण्डर बनाएर लागू गर्दै आएको छ । जसले विद्यार्थीको व्यक्तित्व विकासमा चौतर्फी रुपमा सहयोग गरिरहेको थापाको भनाइ छ । शिक्षण सिकाइमा समानता र समरुपतालाई प्राथमिकता दिने गरेको रिलायन्सले विद्यार्थी पहिचान गरी सोहीअनुसारको पठनपाठन गर्दै आएको छ । ‘कमजोर विद्यार्थीहरुलाई बेग्लै राखेर कक्षा लिन्छौँ । राम्रा विद्यार्थीलाई अझै राम्रो बनाउनका लागि समूहगत छलफल गराउँछौँ,’ उनी भन्छन् । यसका अलावा उत्कृष्ट भौतिक पूर्वाधार, लाइबे्ररी, अत्याधुनिक प्रयोगशाला, कन्फ्रेन्स हल रिलायन्सका थप स्ट्रेन्थ हुन् ।

सिट संख्या
विज्ञान: ४८०
म्यानेजमेन्ट: ६४०

भर्ना शुल्क
विज्ञान: १४ हजार रुपैयाँ
व्यवस्थापन: १२ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान: ७ हजार रुपैयाँ
व्यवस्थापन: ६ हजार रुपैयाँ

अन्य शुल्क
विज्ञान: ५२ हजार रुपैयाँ
व्यवस्थापन: २४ हजार रुपैयाँ

६. पिनाकल एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर

कक्षा ११ र १२ अध्यापन गराउने माविहरुमा उत्कृष्ट मावि हो– पिनाकल एकेडेमी सकेण्डरी स्कुल । घोकन्तेभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिँदै आएको यो माविले हरेक वर्ष विद्यार्थी भर्नामा विशेष होसियारी अपनाउँछ । मेहनती विद्यार्थीको मुल्यांकन गरेरमात्र भर्ना लिने भएकाले अहिलेसम्म राम्रो नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल डा. ऋषिराम तिवारी बताउँछन् । ‘हामी विद्यार्थीको पढाइमात्र होइन्, करियर काउन्सिलिङमा पनि विशेष ध्यान दिन्छौं,’ उनी भन्छन्, ‘विद्यार्थीको व्यवहारिक शिक्षामा जोड दिँदै आएका छौं ।’ विगत २७ वर्षदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको यस माविले विज्ञान, व्यवस्थापन, मानविकी र कानुनअन्तर्गत विषयका कक्षा सञ्चालन गर्दै आएको छ । पिनाकलले विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम तथा गोष्ठीहरुमा समेत समावेश गराउँदै आएको छ । यसका अलवा उपयुक्त शिक्षण सिकाइ, २७ वर्षको शिक्षण अनुभव, दक्ष शिक्षक शिक्षिका, विद्यार्थी मूल्यांकन, आवश्यक विद्यार्थीलाई अतिरिक्त कक्षा, वैयक्तिक काउन्सिलिङलगायतका कुराले पिनाकल अब्बल मावि बनाउँदैं आएका छन् ।

सिट संख्या
विज्ञान: ३ सय
व्यवस्थापन: ४ सय ५०
मानविकी: ५०
कानुनः ५०

भर्ना शुल्क
विज्ञान: २५ हजार रुपैयाँ
व्यवस्थापन: २० हजार रुपैयाँ
मानविकीः १५ हजार रुपैयाँ
कानुनः २० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान:६ हजार ५ सय रुपैयाँ
व्यवस्थापन: ६ हजार रुपैयाँ
मानविकी: ५ हजार ५ सय रुपैयाँ
कानुनः ६ हजार रुपैयाँ

अन्य शुल्क
विज्ञान: ३० हजार रुपैयाँ
व्यवस्थापन: २१ हजार रुपैयाँ
मानविकीः ६ हजार रुपैयाँ
कानुनः ६ हजार रुपैयाँ

७. ज्ञानज्योति सेकेण्डरी स्कुल, दाङ

पश्चिम नेपालको उत्कृष्ट माविमा पर्छ– दाङ तुलसीपुरस्थित ज्ञानज्योति सेकेण्डरी स्कुल । यो माविले वर्षेनी उत्कृष्ट नतिजा ल्याउनुका पछाडि कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक—शिक्षिका र विद्यार्थीको क्षमता प्रस्फुटनमा जोड दिनुजस्ता कारणहरु रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसी बताउँछन् । ‘हामी विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा निकै सचेत छौँ,’ जिसीले भन्छन्, ‘त्यसैको प्रतिफल नै नतिजामा देखिएको हो ।’ सुविधासम्पन्न भौतिक पूर्वाधार, पढाइमैत्री वातावरण, स्तरीय ल्याब तथा लाइब्रेरीजस्ता कारण ज्ञानज्योति पश्चिम नेपालका विद्यार्थी तथा अभिभावकको शैक्षिक रोजाइ बन्न पुगेको छ । ‘हामी अहिले जुन स्थानमा छौँ त्यो भनेको विद्यार्थीको मेहनत र अभिभावकको विश्वास नै हो,’ जिसी थप्छन्, ‘यो विश्वासलाई कायम राख्न हामी कटिबद्ध छौं ।’ विद्यार्थीको व्यक्तित्व विकास, अतिरिक्त क्रियाकलापमा पनि ज्ञान ज्योतिले जोड दिदैं आएको छ । वि.सं. २०६५ बाट कक्षा ११ र १२ को कक्षा सुरु भएको यस विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुन्छ ।

सिट संख्या
विज्ञान: २ सय ५०
व्यवस्थापन: ९ सय
शिक्षा: ४५
कानुन: ४०

भर्ना शुल्क
विज्ञान: १२ हजार रुपैयाँ
व्यवस्थापन: ८ हजार रुपैयाँ
शिक्षा: ४ हजार रुपैयाँ
कानुन: १० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान: ४ हजार २ सय रुपैयाँ
व्यवस्थापन: ३ हजार ६ सय रुपैयाँ
कानुन: ३ हजार
शिक्षा: ३ हजार

वार्षिक शुल्क
विज्ञान: २५ हजार ५ सय रुपैयाँ
व्यवस्थापन: १५ हजार
कानुन: १० हजार रुपैयाँ
शिक्षा: १० हजार रुपैयाँ

८. सेन्ट लरेन्स सेकेण्डरी स्कुल, काठमाडौं

‘तपाईंको सफलता: हाम्रो प्रतिवद्धता’ मूलमन्त्र बनाएको चाबहिलस्थित सेन्ट लरेन्स सेकेण्डरी स्कुल निरन्तर नेपालका अब्बल माविहरुमा पर्दै आएको छ । यो स्कुलले ‘मौलिक सिर्जनशील शिक्षा, आजको युगको आवश्यकता’ भन्ने आदर्शलाई आत्मसाथ गरिरहेको छ । सबै वर्गका विद्यार्थीलाई स्तरीय शिक्षा र विश्वबजारमा प्रतिस्पर्धा गर्नुपर्ने जनशक्ति उत्पादनका लागि पाठ्यक्रममा निर्धारित पाठ घोकाउनु मात्र आफूहरुको उद्देश्य नभएको प्रिन्सिपल ताराप्रसाद सुवेदी बताउँछन् । ‘त्यसैले कक्षागत सिकाइ प्रविधिमैत्री सिर्जनशील तथा विभिन्न अतिरिक्त क्रियाकलापमा सरिक बनाई आत्मविश्वास जगाउने खालको शिक्षा प्रदान गर्दै आएका छौं,’ सुवेदी भन्छन् । आधुनिक शिक्षण सिकाइ, अतिरिक्त क्रियाकलाप, शोधमूलक कार्य, क्षमता पहिचान तथा दिशानिर्देश र अभिभावकसँग अन्तक्रियालाई यो माविले सिकाइको प्रमुख आधार बनाउँदैं आएको अध्यक्ष केशवप्रसाद दंगाल बताउँछन् । वर्षमा ६ वटा आन्तरिक परीक्षा सञ्चालन गर्ने सेन्ट लरेन्सले सीप र नेतृत्व विकासमा जोड दिदैं आएको छ । विभिन्न १० वटा क्लबमार्फत विद्यार्थीको सीप र व्यक्तित्व विकासमा काम गर्दै आएको सेन्ट लरेन्स २७ वर्षदेखि कक्षा ११ र १२ लाई पढाउँदैं आएको छ ।

सिट संख्या
विज्ञान: ४ सय २५
व्यवस्थापन: ५ सय

भर्ना शुल्क
विज्ञान: १५ हजार रुपैयाँ
व्यवस्थापनः१५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान: ६ हजार रुपैयाँ
व्यवस्थापन: ५ हजार रुपैयाँ

वार्षिक शुल्क
विज्ञान: ३० हजार रुपैयाँ
व्यवस्थापन: ३० हजार रुपैयाँ

९. काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल, काठमाडौं

परिमाणभन्दा पनि परिणाममा विश्वास राख्ने काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल देशभरकै उत्कृष्ट माविको सूचीमा छ । प्रयोगात्मक शिक्षण सिकाइ, दक्ष तथा अनुभवी शिक्षक शिक्षिका, कुशल व्यवस्थापन, विद्यार्थी मोटिभेसनजस्ता कुराले अब्बल नतिजा ल्याउन सकेको स्कुलका प्रिन्सिपल पुरुषोत्तम विष्ट बताउँछन् । ‘हामीले विद्यार्थीलाई सधैँ केन्द्रमा राख्छौँ,’ उनी भन्छन्, ‘यसका अलवा दक्ष प्राध्यापक, कुशल व्यवस्थापन र विद्यार्थी मोटिभेसनले नै हामीलाई अब्बल बनाइ राख्न सहयोग गरेको छ ।’ जिम्मेवार अभिभावक, मिहिनेती विद्यार्थी, हरेक हप्ता हुने परीक्षा, नियमित मनिटरिङले गर्दा बर्नहार्टलाई थप बलियो बनाएको हो । वि.सं. २०५७ मा स्थापना भएको बर्नहार्टमा लामो शैक्षिक अनुभव बटुलेको समूह आवद्ध छ । विद्यार्थीमा भएको अन्तर्निहित प्रतिभा पहिचान गर्नका लागि अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राख्ने गरेको कलेज अध्यक्ष भुपेश छत्कुली बताउँछन् । ‘हामी विद्यार्थीलाई पढाइमा मात्र होइन्, अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय बनाउँछौँ,’ उनले भने, ‘हामीले गर्ने अतिरिक्त क्रियाकलापको प्रभाव नै मान्नुपर्छ, हाम्रा विद्यार्थीहरु जहाँ जान्छन् खाली हात फर्कँदैनन् ।’

सिट संख्या
विज्ञान: ५ सय
व्यवस्थापन: ५ सय
कानुन: ४५

भर्ना शुल्क
विज्ञान: १५ हजार रुपैयाँ
व्यवस्थापन: १५ हजार रुपैयाँ
कानुन: १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः ७ हजार ५ सय रुपैयाँ
व्यवस्थापनः ५ हजार ५ सय रुपैयाँ
कानुन: ५ हजार ५ सय रुपैयाँ

वार्षिक शुल्क
विज्ञान: ४८ हजार रुपैयाँ
व्यवस्थापन:३० हजार रुपैयाँ
कानुन:३० हजार रुपैयाँ

१०. नेशनल इन्फोटेक सेकेण्डरी स्कुल, पर्सा

मधेश प्रदेशकै अग्रणी मावि हो—पर्साको नेशनल इन्फोटेक सेकेण्डरी स्कुल । विज्ञान विषयमात्र पढाइ हुने यो माविले हरेक वर्ष उत्कृष्ट नतिजा दिँदै आएको छ । अनुभवी र दक्ष फ्याकल्टी, प्रविधिमैत्री कक्षाकोठा, गुणस्तरीय प्रयोगशाला, विद्यार्थी केन्द्रीत पढाइजस्ता कुराले नै सधैं नतिजामा अग्रस्थानमा रहन सहयोग गरेको स्कुलका प्रिन्सिपल मनिष सिंह बताउँछन् । ‘हामीले विद्यार्थी भर्ना गरिसकेपछि कक्षा सुरु हुनुभन्दा अघि विद्यार्थीको क्षमता मूल्यांकन गर्छौँ,’ उनले भने, ‘त्यसपछि उनीहरुको सिकाइलाई कसरी सुधार गर्न सकिन्छ, त्यहीअनुसारको योजना बनाएर अघि बढ्छौँ ।’ कमजोर विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, हरेक शुक्रबार लिइने टेस्ट र कक्षा ११ देखि नै प्रि—मेडिकल र प्रि—इन्जिनियरिङ कक्षा सञ्चालनले विद्यार्थीहरुमा पठन संस्कृतिको विकास गरेको उनको भनाइ छ । नेशनल इन्फोटेकले वि.सं. २०६० सालबाट कक्षा ११ र १२ को अध्यापन सुरु गरेको हो ।

सिट संख्या
विज्ञान: ६ सय

शुल्क
विज्ञान: १ लाख १० हजार रुपैयाँ

११. युनिग्लोब सेकेण्डरी स्कुल, काठमाडौं

वि.सं. २०७१ बाट कक्षा ११ र १२ अध्यापन सुरु गरेको कमलादीस्थित युनिग्लोब सेकेण्डरी स्कुल केही वर्षयता उत्कृष्ट नतिजासहित अब्बल माविमा दरिदैं आएको छ । छोटो अवधिमै उत्कृष्ट शैक्षिक सफलता हात पार्नुको पछाडिको कारण के हो त ? स्कुलका महाप्रबन्धक एवं सूचना अधिकारी गणेश भट्ट भन्छन्, ‘दक्ष एवं अनुभवी शिक्षक—शिक्षिकाहरुको समूह ।’ यसका अलावा विद्यार्थी केन्द्रीत शिक्षण सिकाइ सफलताको अर्को कारण भएको उनको भनाइ छ । ‘हामी कहाँ शतप्रतिशत फुलटाइम फ्याकल्टी हुनुहुन्छ,’ उनले भने, ‘जसका कारण विद्यार्थीले आफूलाई असहज भएको विषयमा जुनसुकै बेला शिक्षकसँग भेटेर समस्या समाधान गर्न सक्छन् ।’ उत्कृष्ट भौतिक पूर्वाधार, इनोभेसन ल्याब, इन्टिग्रेटेड मोडालिटीमा आधारिक शिक्षण सिकाइजस्ता कुराले युनिग्लोबलाई ‘युनिक’ बनाउन सहयोग गरेको छ । देशभरका हजारौं माविहरुमा छोटो अवधिमै बेग्लै शैक्षिक पहिचान बनाउन सफल यस माविले विज्ञान, व्यवस्थापन र कानुन संकाय अध्यापन गराउँदै आएका छ ।

सिट संख्या
विज्ञान: ६ सय
व्यवस्थापन: ६ सय
कानुनः ४०

भर्ना शुल्क
विज्ञान: १५ हजार रुपैयाँ
व्यवस्थापन: १५ हजार रुपैयाँ
कानुनः १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान: १२ हजार रुपैयाँ
व्यवस्थापन: १० हजार रुपैयाँ
कानुनः १० हजार रुपैयाँ

अन्य शुल्क
विज्ञान: ६० हजार रुपैयाँ
व्यवस्थापन: ६० हजार रुपैयाँ
कानुनः ६० हजार रुपैयाँ

१२. ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुल, ललितपुर

ललितपुर कुमारीपाटीस्थित ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुल उत्कृष्ट नतिजाका कारण अब्बल माविहरुको सूचीमा परेको हो । प्रिन्सिपल रमेश अधिकारी स्कुलको यो सफलताको श्रेय शिक्षक शिक्षिकालाई दिन्छन् । ‘हाम्रो उत्कृष्ट नतिजाको मेरुदण्ड भनेकै हाम्रा दक्ष एवं अनुभवी फ्याकल्टीजहरु हुनुहुन्छ,’ उनी भन्छन्, ‘हामी १५ जना सेयरहोल्डर सबैजना कक्षाकोठामा गएर पढाउँछौँ । यसले हामीलाई थप बलियो बनाएको हुनुपर्छ ।’ त्यसबाहेक शिक्षण सिकाइ क्रियाकलापका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, शान्त र उत्कृष्ट शैक्षिक वातारण, प्रविधीमैत्री पढाइ, अनुशासन, अतिरिक्त क्रियाकलाप, पर्याप्त खेल मैदान, कमजोर विद्यार्थीको समयमै पहिचान, विद्यार्थीलक्षित मनोसामाजिक परामर्शजस्ता पक्षले पनि उत्कृष्ट नतिजाका लागि सहयोग पुर्‍याइरहेको अधिकारी बताउँछन् । ‘हाम्रो अब्बल नतिजाको कारण उत्कृष्ट पढाइ नै हो,’ उनी थप्छन् । ओमेगाले वि.सं. २०६७ बाट कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको छ ।

सिट संख्या
विज्ञान: ४ सय ५०
व्यवस्थापन: ४ सय ८०
मानविकी: ३०
कानुन : ३०

शुल्क
विज्ञान: १ लाख ७९ हजार रुपैयाँ
व्यवस्थापन: १ लाख ५५ हजार रुपैयाँ
मानविकी: १ लाख ४५ हजार रुपैयाँ
कानुन: १ लाख ४५ हजार रुपैयाँ

१३. टेक्सास इन्टरनेशनल सेकेण्डरी स्कुल, काठमाडौं

मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल स्कुलले आफूलाई अब्बल माविको सूचीमा कायमै राखेको छ । विद्यार्थीका लागि शिक्षकको अथक मेहनत, अतिरिक्त कक्षा, विद्यार्थीको निगरानी, नियमित परीक्षण नै टेक्सासको उत्कृष्ट नतिजाको राज हो । उत्कृष्ट भौतिक पूर्वाधार, आफ्नै रिसर्च लर्निङ एण्ड डेभलेपमेन्ट सेन्टर, टेक्सास इन्कुवेसन सेन्टर टेक्सासका स्ट्रेन्थ प्वाइन्ट हुन् । प्राक्टिकल एक्स्पोजर, वार्षिक इसीए मिट, करिअर फेयर, साइन्स एण्ड आईटी एक्स्पोलगायत विद्यार्थी लक्षित विभिन्न कार्यक्रमहरु रहेको विद्यालयक प्रिन्सिपल श्याम श्रेष्ठ बताउँछन । ‘शिक्षक, विद्यार्थी र व्यवस्थापनको साझा प्रयास नै हाम्रो अब्बल नतिजाको मुख्य कारण हो’ श्रेष्ठ भन्छन्, ‘अभिभावकहरुको प्रेरणाले पनि यसमा काम गरेको छ ।’ वि.सं. २०६६ बाट कक्षा ११ र १२ को अध्यापन सुरु गरेको यो स्कुलमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको पढाइ हुन्छ ।

सिट संख्या
विज्ञान: ७ सय २०
व्यवस्थापन: १ हजार
मानविकी: ४०
कानुन: ४०

भर्ना शुल्क
विज्ञान : १५ हजार रुपैयाँ
व्यवस्थापन: १५ हजार रुपैयाँ
मानविकी: १५ हजार रुपैयाँ
कानुन: १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान: ६ हजार रुपैयाँ
व्यवस्थापन: ५ हजार रुपैयाँ
मानविकी:४ हजार रुपैयाँ
कानुन: ४ हजार रुपैयाँ

वार्षिक शुल्क
विज्ञान: १५ हजार रुपैयाँ
व्यवस्थापन: १५ हजार रुपैयाँ
मानविकी: १५ हजार रुपैयाँ
कानुन: १५ हजार रुपैयाँ

१४. अरनिको आवासीय सेकेण्डरी स्कुल, मोरङ

विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुल अब्बल माविका रुपमा उभ्याउँदैं आएको छ । अरनिको उत्कृष्ट नतिजाका कारण कोशी प्रदेशका अब्बल माविहरुको अग्रपंक्तिमा छ । दक्ष एवं अनुभवी पूर्णकालीन शिक्षक—शिक्षिका, कुशल व्यवस्थापन, उत्कृष्ट भौतिक पूर्वाधारका कारण उत्कृष्ट नतिजा सम्भव भएको विद्यालयका प्रिन्सिपल राजेश कार्की बताउँछन् । ‘सुर्योदयदेखि सुर्यास्तसम्म मिहिनेत गर्ने पूर्णकालीन शिक्षकहरु हुनुहुन्छ, विद्यार्थीले चाहेको समयमा शिक्षकलाई भेट्न सक्छन्,’ उनी भन्छन्, ‘यसका अलवा कुशल व्यवस्थापन, जिम्मेवार अभिभावक, मिहिनेती विद्यार्थीका कारण निरन्तर उत्कृष्ट नतिजा प्राप्त भइरहेको छ ।’ प्रि—मेडिकल र प्रि—इञ्जिनियरिङ कक्षासमेत सञ्चालन गर्ने अरनिकोका प्रडक्टहरुले एमबीबीएस र इन्जिनियरिङमा राम्रो नतिजा हात पार्दै आएका छन् । ‘हामी कक्षा ११ र १२ मा नै उच्च शिक्षाका लागि विद्यार्थीको बलियो आधार बनाइदिन्छौँ,’ कार्की भन्छन्, ‘अहिले स्वदेश तथा विदेशमा अध्ययन गर्ने थुप्रै विद्यार्थीहरुले पूर्ण छात्रवृत्ति प्राप्त गरी अध्ययन गरिरहनुभएको छ ।’ यो माविले विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ ।

सिट संख्या
विज्ञान: १ हजार
व्यवस्थापन: १ सय

भर्ना शुल्क
विज्ञान: २५ हजार रुपैयाँ
व्यवस्थापन: १८ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान: ५ हजार ८ सय रुपैयाँ
व्यवस्थापन: ३ हजार ८ सय रुपैयाँ

अन्य शुल्क
विज्ञान: ३० हजार रुपैयाँ
व्यवस्थापन: २० हजार रुपैयाँ

१५. मेरिल्याण्ड सेकेण्डरी स्कुल, मोरङ

स्थापनाकालदेखि नैै व्यवस्थापन संकाय मात्र पढाइ हुने विराटनगरस्थित मेरिल्यान्ड माविले यो वर्षबाट विज्ञान संकायमा पनि अध्यापन सुरु गरेको छ । निरन्तर पूर्वी नेपालका अब्बल माविको सूची पर्दै आएको मेरिल्याण्डले निरन्तर उत्कृष्ट नतिजाका कारण देशभरकै अब्बल माविहरुमा पनि दरिदैं आएको छ । उत्कृष्ट भौतिक पूर्वाधार, अनुभवी फ्याकल्टी, विद्यार्थीहरुलाई एक्स्ट्रा केयर, समयानुकूल प्रविधिमैत्री शिक्षा, आवश्यकताअनुसार अत्तिरिक्त कक्षा, परियोजनामा आधारित कार्यजस्ता गतिविधिका कारण मेरिल्याण्ड उत्कृष्ट नतिजा दिन सक्षम भएको माविका प्रिन्सिपल लक्ष्मण ढकाल बताउँछन् । ‘विद्यार्थीको समग्र विकासका लागि उपलब्ध गराउने सबै सुविधा हामीले दिदैं आएका छौं,’ उनले भने, ‘विद्यार्थीको सवालमा कुनै कम्प्रोमाइज नगरेकै कारण हामीले अब्बल नतिजा ल्याइरहेका छौं ।’ पूर्वी नेपालमा अलग पहिचान बनाएको मेरिल्याण्डले वि.सं. २०६९ बाट कक्षा ११ र १२ को अध्यापन सुरु गरेको हो ।

सिट संख्या
विज्ञान: ४ सय
व्यवस्थापन: ७ सय

शुल्क
विज्ञानः १ लाख १५ हजार रुपैयाँ
व्यवस्थापनः ८५ हजार रुपैयाँ

१६. युनाइटेड एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर

उच्चस्तरीय पठनपाठन शैली र विद्यार्थीलाई व्यक्तिगत केयरिङ गर्नेलगायतका कारणले ललितपुर कुमारीपाटीस्थित युनाइटेड एकेडेमीलाई अब्बल मावि बनाएको हो । २५ वर्षदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदै आएको यस माविले गुणस्तरीय शिक्षामा जोड दिदैं आएको स्कुलका एकेडेमिक प्रमुख बसन्त नेपालीले जानकारी दिए । ‘उच्च गुणस्तरयुक्त पठनपाठन शैली र विद्यार्थीको व्यक्तिगत केयरले नै हामीलाई अब्बल मावि बनाएको हो,’ उनले भने । माविले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन गराउँदै आएको छ ।

सिट संख्या
विज्ञान: ६ सय
व्यवस्थापन : ५ सय
मानविकी : ३०
कानुन: ३०

भर्ना शुल्क
विज्ञान: ७५ हजार रुपैयाँ
व्यवस्थापन: ६९ हजार रुपैयाँ
मानविकी : ५९ हजार रुपैयाँ
कानुन: ५९ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान:११ हजार रुपैयाँ
व्यवस्थापन: ९ हजार रुपैयाँ
मानविकी: ७ हजार ३ सय रुपैयाँ
कानुन: ७ हजार ३ सय रुपैयाँ

१७. ब्लूवर्ड सेकेण्डरी स्कुल, ललितपुर

अब्बल माविको सूचीमा पर्न सफल ललितपुरको कुमारीपाटीस्थित ब्लूवर्ड सेकेण्डरी स्कुल शिक्षकहरुको टिमवर्क र शिक्षकहरुकै व्यवस्थापनमा सञ्चालनमा छ । स्कुलका प्रिन्सिपल वीर सिंह क्षेत्रीकाअनुसार वि.सं. २०६१ देखि कक्षा ११ र १२ लाई अध्यापन गराउँदैं आएको ब्लूवर्डमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन संकायमा पढाइ हुन्छ । ‘टिमवर्क नै हाम्रो उत्कृष्ट रिजल्टको मुख्य कारण हो,’ क्षेत्री भन्छन्, ‘हाम्रा टिचरहरु एकममै डेडिकेटेड हुनुहुन्छ र विद्यार्थीप्रति समर्पित हुनुहुन्छ ।’ शिक्षकहरुकै व्यवस्थापन सञ्चालित भएकाले पनि शिक्षकहरुले आफ्नो संस्थालाई राम्रो बनाउन अहोरात्र खट्दा अब्बल रिजल्ट दिन सफल भएको उनको भनाइ छ । विद्यार्थीहरुको विशेष केयर गर्ने स्कुलले अतिरिक्त क्रियाकलाप विशेष जोड दिदैं आएको छ भने विभिन्न क्लब सक्रिय छन् ।

सिट संख्या
विज्ञान: २ सय ८०
व्यवस्थापन: ४ सय
मानविकी : ५०
कानुन: ५०

शुल्क
विज्ञान: १ लाख ५२ हजार रुपैयाँ
व्यवस्थापन : १ लाख २० हजारदेखि ४० हजार रुपैयाँसम्म
मानविकी : १ लाख २० हजारदेखि ३० हजार रुपैयाँसम्म
कानुन : १ लाख २० हजारदेखि ३० हजार रुपैयाँसम्म

१८. जेभियर इन्टरनेशनल सेकेण्डरी स्कुल, काठमाडौं

कालोपुलस्थित जेभियर इन्टरनेशनल सेकेण्डरी स्कुलले ‘ग्लोबल लेभल अफ स्टडिज, लेभल अफ ग्रेड, लेभल एफ एकेडेमिक्स, लेभल अफ द स्कील्स, लेभल अफ द लाइफस्टाइल्स, लेभल अफ द सक्सेस’लाई मुख्य कम्पोनेन्ट बनाएर विद्यार्थीको होलस्टिक डेभलपमेन्टमा ध्यान दिदैं आएको छ । यिनै कारण जेभियरले अब्बल नतिजा हात पार्ने गरेको स्कुलका प्रिन्सिपल दिपेन दाहाल बताउँछन् । एलटीडब्लू (लेक्चर, ट्युटोरियल र वर्कसप) विधीबाट विद्यार्थीलाई पढाउँदैं आएको यो माविमा विद्यार्थीहरुका १९ वटा क्लबहरु समेत छन् । ‘जसबाट विद्यार्थीले आफैँ अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्छन्,’ दाहाल भन्छन्, ‘हरेक वर्ष काउन्सिलिङ फेयर, साइन्स एक्जिविसन, जेभियर ओलम्पिक्स, जेभियर इन्टरनेशनल मोडल युनाइटेड नेशनन्स, राइटिङ ट्यालेन्ट अफ जेभियर्सजस्ता क्रियाकलापमार्फत विद्यार्थीको सीपलाई प्रस्फुटन गर्दै आएका छौं ।’ काठमाडौं फुलटाइम शिक्षक, विद्यार्थीको नियमित निगरानी, अतिरिक्त कक्षाजस्ता कारण पनि जेभियर अब्बल माविहरुको सूचीमा पर्दै आएको छ । सन् २००१ देखि कक्षा ११ र १२ को अध्यापन गराइरहेको जेभियरले विज्ञान, व्यवस्थापन, मानविक र कानुन अध्यापन गराउँदैं आएको छ ।

सिट संख्या
विज्ञान: १ हजार
व्यवस्थापन: ४ सय ५०
मानविकी: ४०
कानुन: ४०

मासिक शुल्क
विज्ञान: १२ हजार रुपैयाँ
व्यवस्थापन: ११ हजार रुपैयाँ
मानविकी: ११ हजार रुपैयाँ
कानुन: ११ हजार रुपैयाँ

वार्षिक शुल्क
विज्ञान: ६५ हजार रुपैयाँ
व्यवस्थापन: ६५ हजार रुपैयाँ
मानविकी: ६५ हजार रुपैयाँ
कानुन: ६५ हजार रुपैयाँ

१९. ट्रिनिटी इन्टरनेशल सेकेण्डरी स्कुल, काठमाडौं

काठमाडौं डिल्लीबजारस्थित ट्रिनिटी इन्टरनेशल सेकेण्डरी स्कुल देशभरकै अब्बल माविभित्र पर्दैै आएको छ । नियमित उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, उपयुक्त लोकेसन, अतिरिक्त क्रियाकलापमा जोड, प्रयोगात्मक शिक्षण सिकाइजस्ता कुराले हरेक वर्ष विद्यार्थी तथा अभिभावकको स्कुलप्रतिको आकर्षण बढिरहेको कलेजका प्रशासन निर्देशक अम्बिर थापा बताउँछन् । ‘हामी विद्यार्थीलाई के पढ्नेभन्दा पनि कसरी पढ्ने भन्ने विषयमा बढी जोड दिन्छौँ,’ उनी भन्छन्, ‘जसकारण नतिजामा सधैं अब्बल छौं ।’ प्रविधिमैत्री कक्षाकोठा, विद्यार्थीको कक्षा १२ पछिको शैक्षिक यात्राका लागि तयारी ट्रिनिटीका थप विशेषता हुन् । एमबीबीएस होस् या इन्जिनियरिङको छात्रवृत्ति परीक्षामा यस माविका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको थापा बताउँछन् । सन् २००८ मा स्थापना भएको यो माविले विज्ञान र व्यवस्थापन विषय पढाउँदैं आएको छ ।

सिट संख्या
विज्ञान: १ हजार ३ सय ५०
व्यवस्थापन: ६ सय

भर्ना शुल्क
विज्ञान: २२ हजार रुपैयाँ
व्यवस्थापन: २२ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान: १० हजार ५ सय रुपैयाँ
व्यवस्थापन: ९ हजार २ सय रुपैयाँ

अन्य शुल्क
विज्ञान: ३८ हजार रुपैयाँ
व्यवस्थापन: ३८ हजार रुपैयाँ

२०. मनास्लु वर्ल्ड स्कुल, काठमाडौं

काठमाडौंको चावहिल चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड सेकेण्डरी स्कुल/कलेज पनि छोटो समयमा अब्बल माविको सूचीमा पर्न सफल भएको छ । स्थापनाकालदेखि नै विद्यार्थीहरुको रोजाइमा पर्दै आएको यो स्कुलले निरन्तर उत्कृष्ट नतिजा हात पारिरहेको छ । वि.सं. २०५३ सालमा प्राक्सिस इन्टरनेशनल स्कुलको नामबाट सुरु भएको यो स्कुल वि.सं. २०७७ सालबाट मनास्लु वल्र्ड स्कुलको नामबाट परिचित छ । वि.सं. २०७७ सालबाटै कक्षा ११ र १२ अध्यापन सुरु गरेको मनास्लुले विज्ञान, व्यवस्थापन, मानविकी र कानुनका विषयमा अध्यापन गराउँदै आएको छ । विद्यार्थी केन्द्रीत शिक्षण सिकाइ, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका, कुशल व्यवस्थापन, प्रविधिमैत्री शिक्षामा जोडजस्ता कुराले सुरुवाती वर्षबाटै नतिजा सुधार गर्न सहज भएको स्कुलका प्रिन्सिपल एवं संस्थाका अध्यक्ष गेन्द्र लामा बताउँछन् । यसका अलावा आईएसओ सर्टिफाइड, उत्कृष्ट भौतिक पूर्वाधार, विद्यार्थीको अन्तरनिहित प्रतिभा पहिचान र प्रस्फुटन, शान्त एवं अनुशासित शैक्षिक वातावरण मनास्लुका थप विशेषता हुन् ।

सिट संख्या
विज्ञान: २ सय ५०
व्यवस्थापन: ५ सय
मानविकी: २५
कानुन: २५

शुल्क
विज्ञान: १ लाख ५० हजार रुपैयाँ
व्यवस्थापन: १ लाख १२ हजार रुपैयाँ
मानविकी: १ लाख रुपैयाँ
कानुन: १ लाख रुपैयाँ

२१. हेराल्ड सेकेण्डरी स्कुल, काठमाडौं

बसुन्धारास्थित हेराल्ड सेकेण्डरी निरन्तर उत्कृष्ट नतिजाका कारण अब्बल माविको सूचीमा रहँदै आएको छ । विद्यार्थीको सुक्ष्म निगरानी, विविधतामा आधारित पढाइ, अनुभवी तथा दक्ष शिक्षक शिक्षिका, प्रविधिमैत्री शिक्षामा जोडजस्ता कुराले हेराल्डको नतिजामा सुधार गरिरहेको प्रिन्सिपल विनोद रेग्मी बताउँछन् । वि.सं. २०६४ बाट कक्षा ११ र १२ को पढाइ सुरु गरेको यस माविले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, स्वास्थ्य र मनोविज्ञानका विषयहरुको अध्यापन गराउँदै आएको छ । ‘क्लोज एजुकेशन सिस्टम, गेष्ट लेक्चरर, विद्यार्थीलाई दिइने मनोसामाजिक परामर्श, अभिभावकसँगको नियमित सम्पर्कलगायतका कुरा नै हेराल्डको सफलताका सूचक हुन्,’ प्रिन्सिपल रेग्मी भन्छन्, ‘होटल म्यानेजमेन्टअन्तर्गतको ट्राभल टुरिज्म विषयलाई लक्षित गर्दै वाल क्लाइम्बिङ र स्काई वाकजस्ता अतिरिक्त सुविधाहरु विद्यार्थीले हेराल्डमा पाउँछन् ।’ उत्कृष्ट भौतिक पूर्वाधार, अत्याधुनिक प्रयोगशाला, पर्याप्त खेल मैदान हेराल्डका थप विशेषता हुन् ।

सिट संख्या
विज्ञानः ३ सय
व्यवस्थापन: ८ सय
कानुन: ४०
मनोविज्ञानः ८०

वार्षिक शुल्क
विज्ञानः १ लाख ५९ हजार रुपैयाँ
व्यवस्थापनः १ लाख २५ हजार रुपैयाँ
कानुन : १ लाख १० हजार रुपैयाँ
स्वास्थ्य: १ लाख १७ हजार रुपैयाँ
मनोविज्ञान: १ लाख १७ हजार रुपैयाँ

२२. साउथ वेस्टर्न स्टेट सेकेण्डरी स्कुल, काठमाडौं

बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट सेकेण्डरी स्कुललाई दक्ष तथा अनुभवी फ्याकल्टी, कुशल व्यवस्थापन, उत्कृष्ट भौतिक पूर्वाधार, गुणस्तरीय प्रयोगशाला, अतिरिक्त क्रियाकलापलगायतले अब्बल माबि बनाएको छ । त्यही कारण उत्कृष्ट नतिजा दिदैं आएको यो स्कुल विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्दै आएको छ । गुणस्तरीय प्रयोगशाला, प्रिजेन्टेसन क्लास, अभिभावकसँग निरन्तर मनोसामाजिक परामर्श, विज्ञसँग नियमित अन्तक्रिया, क्रस क्लासजस्ता कुराको प्रतिबिम्ब नतिजामा देखिएको कलेजको विश्वास छ । साउथ वेस्टर्न स्टेटका विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा राम्रो छाप छोड्न सफल भएका छन् । ‘हामीले हरेक वर्ष शैक्षिक भ्रमणका सिलसिलामा अमेरिका, यूरोपलगायतका विभिन्न देशमा लैजान्छौँ,’ प्रिन्सिपल डा. राजेन्द्र केसी भन्छन्, ‘यसले विद्यार्थीहरुलाई विकसित राष्ट्रहरुको विकास र शैक्षिक अवस्थाको बारेमा बुझ्ने अवसर प्रदान गरिरहेको छ ।’ १४ वर्षदेखि कक्षा ११ र १२ लाई अध्यापन गराउँदैं आएको साउथ वेस्टर्न स्टेटले हाल विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकाय पढाउँदैं आएको छ ।

सिट संख्या
विज्ञान: ५ सय
व्यवस्थापन: ९ सय
मानविकी: ४०
कानुन: ४०

भर्ना शुल्क
विज्ञान: २३ हजार ५ सय रुपैयाँ
व्यवस्थापन: २२ हजार ५ सय रुपैयाँ
मानविकी: २० हजार रुपैयाँ
कानुन : २० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : १० हजार रुपैयाँ
व्यवस्थापन: ९ हजार रुपैयाँ
मानविकी: ७ हजार रुपैयाँ
कानुन: ७ हजार ५ सय

अन्य शुल्क
विज्ञान : ३९ हजार रुपैयाँ
व्यवस्थापन: ३१ हजार ५ सय रुपैयाँ
मानविकी: २४ हजार रुपैयाँ
कानुन: २४ हजार रुपैयाँ

२३. प्रतिभा सेकेण्डरी स्कुल, पोखरा

कास्कीको पोखरास्थित प्रतिभा सेकेण्डरी स्कुल गण्डक क्षेत्रको अब्बल माविमा पर्छ । शिक्षा कर्ममै सक्रिय व्यक्तिको सपनाबाट जन्मिएको यो स्कुल फराकिलो भौतिक पूर्वाधार, अब्बल फ्याकल्टी र उत्कृष्ट व्यवस्थापनका कारण प्रतिभा देशभरकै उत्कृष्ट माविहरुमा पर्न सफल भएको माविका प्रिन्सिपल किरण सापकोटा बताउँछन् । प्रविधिमैत्री कक्षा, प्रविधीमा आधारित सिकाइ पद्धतिलगायतका कारणले पनि प्रतिभालाई अब्बल बन्न सघाएका छन् । हरेक वर्ष एमबीबीएस, इन्जिनियरिङको इन्ट्रान्समा पनि स्कुलका धेरै विद्यार्थीहरुले नाम निकाल्ने गरेको सापकोटाको भनाइ छ । ‘हामी पोखरा क्षेत्रकै अब्बल विद्यालय हौं । एमबीबीएस, इन्जिनियरिङमा हाम्रा थुप्रै प्रडक्टले राम्रो नतिजा ल्याएका छन्,’ उनी भन्छन्, ‘एग्रीकल्चर, फरेस्टी, नर्सिङमा पनि हाम्रा विद्यार्थीको नतिजा उत्कृष्ट छ ।’ अतिरिक्त क्रियाकलापका उत्कृष्ट भौतिक पूर्वाधार समेत रहेको प्रतिभाका विद्यार्थीले विदेशी विश्वविद्यालयमा समेत राम्रो अवसर पाएका छन् ।

सिट संख्या
विज्ञान: ३ सय ६०
व्यवस्थापन: ३ सय २०
होटल व्यवस्थापन: ७२

वार्षिक शुल्क
विज्ञान: ३९ हजार रुपैयाँ
वार्षिक शुल्क: २५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः ७ हजार रुपैयाँ
व्यवस्थापन: ६ हजार रुपैयाँ

२४. विश्व निकेतन सेकेण्डरी स्कुल, काठमाडौं

देशभरकै सामुदायिक विद्यालयहरुमध्ये अब्बल नतिजा दिने मावि हो—काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन सेकेण्डरी स्कुल । सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन् भन्ने भाष्यलाई यसले गलत सावित गरिदिएको छ । देशैभरका सामुदायिक विद्यालयको नतिजा खस्किरहेको बेला विश्व निकेतनले आफूलाई कसरी अब्बल बनाइरहेको छ ? स्कुलका प्रिन्सिपल हेरम्बराज कँडेल शिक्षक कर्मचारीहरुको टिमवर्कको भावना नै यो सफलताको प्रमुख कारण मान्छन् । ‘हामी शिक्षक तथा कर्मचारीमा टिमवर्कको भावना छ,’ उनी भन्छन्, ‘जसकारण हाम्रा कुनै कक्षा खाली हुँदैनन्, त्यसलाई व्यवस्थापन गर्न सक्ने खुबी सबैमा छ ।’ कमजोर विद्यार्थीको पहिचान गरी लक्षित उपचारात्मक कक्षा सञ्चालन गर्नु, अनुभवी, समर्पित र तालिमप्राप्त शिक्षकले पढाउनुजस्ता कारणले पनि सधैं अब्बल नतिजा आउने गरेको उनी बताउँछन् । विश्व निकेतनका ९० प्रतिशतभन्दा शिक्षक कर्मचारीका छोराछोरी यहीँ अध्ययन गर्छन् । ‘आफ्ना छोराछोरी नै यहीँ अध्ययन गर्छन् भन्ने भएपछि शिक्षक कर्मचारीहरु आफ्नो काममा थप जिम्मेवार हुनुहुँदो रहेछ,’ कँडेलले थपे, ‘त्यसको प्रभाव नतिजामा देखिएको हो ।’ सस्तो शुल्कमा माविले नवीनतम विधिबाट पठनपाठन गराउँदै आएको छ भने सुविधासम्पन्न भौतिक पूर्वाधार, विषयअनुसारका बेग्ला—बेग्लै प्रयोगशाला समेत छन् ।

सिट संख्या
विज्ञान: ४ सय ५०
व्यवस्थापन: ६ सय
मानविकी : ५०
कानुन : ६०
शिक्षा: ३०

मासिक शुल्क
विज्ञान: २ हजार रुपैयाँ
व्यवस्थापन: ९ सय रुपैयाँ
मानविकी: ७ सय रुपैयाँ
कानुन : ९ सय रुपैयाँ
शिक्षा: ७ सय रुपैयाँ

वार्षिक शुल्क
विज्ञान: १८ हजार रुपैयाँ
व्यवस्थापन: ११ हजार रुपैयाँ
मानविकी : ९ हजार रुपैयाँ
कानुन : ९ हजार रुपैयाँ
शिक्षा : ९ हजार रुपैयाँ

२५. तिलोत्तमा सेकेण्डरी स्कुल, रुपन्देही

रुपन्देहीको तिलोत्तमा सेकेण्डरी स्कुल देशभरका अब्बल माविमा पर्न सफल भएको छ । निरन्तर उत्कृष्ट नतिजाका कारण तिलोत्तमा विद्यार्थी तथा अभिभावको शैक्षिक गन्तव्य बन्दै आएको हो । कुशल व्यवस्थापन, डेडिकेटेड टिचिङ फ्याकल्टी, विद्यार्थीको निरन्तर अनुगमन, अभिभावकसँगको सामिप्यताजस्ता कुराले उत्कृष्ट नतिजा ल्याउन सहयोग गरिरहेको स्कुलका प्रिन्सिपल प्राध्यापक डा. रामचन्द्र आचार्य बताउँछन् । यसका अलावा उत्कृष्ट भौतिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण सिकाइ, पर्याप्त खेल मैदान, यातायातको सुविधा, अत्याधुनिक प्रयोगशाला तिलोत्तमाको थप विशेषता हुन् । वि.सं. २०५३ बाट कक्षा ११ र १२ को अध्यापन सुरु गरेको यो स्कुलले विज्ञान र व्यवस्थापनमा अध्यापन गराउँदैं आएको छ ।

सिट संख्या
विज्ञान: ५ सय
व्यवस्थापन: २ सय

शुल्क
विज्ञान: १ लाख १ हजार रुपैयाँ
व्यवस्थापन: ७१ हजार रुपैयाँ

टप टेन भिडियाे :



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको