अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
काठमाडौं– काठमाडौंको सिफलस्थित अध्याय पाठशाला कलेजले अनुमति बिनै कक्षा ११ मा विद्यार्थी भर्ना गरेको पाइएको छ । अध्यायले काठमाडौं महानगरपालिकाको शिक्षा विभागबाट स्थानान्तरण र नाम परिवर्तनको अनुमति नलिई अवैध ढंगबाट कक्षा ११ मा विद्यार्थी भर्ना गरेको पाइएको हो ।
बालुवाटारमा रहेको बालुवाटार नमुना स्कुल (कस्मोपोलिटन इङ्लिस बोर्डिङ स्कुल)ले महानगरको अनुमति बिना नै सिफलमा ल्याएर नामसमेत अध्याय पाठशालामा बनाएर सञ्चालन गरिरहेको पाइएको हो । सुरुमा बालुवाटारबाट सिफलमा ल्याएर कस्मोपोलिटन स्कुलमा उक्त विद्यालय सञ्चालन गरिएको थियो । अहिले फेरि कस्मोपोलिटनलाई अध्याय पाठशाला बनाइएको छ । यद्यपि, नाम परिवर्तन र स्थान परिवर्तनका लागि महानगरमा प्रक्रियासमेत सुरु गरिएको छैन ।
कुनै पनि विद्यालयले स्थानान्तरण वा नाम परिवर्तनका लागि पालिकामा निवेदन दिनुपर्ने हुन्छ । त्यसपछि पालिकाको शिक्षा शाखाले अनुगमन गरेर प्रतिवेदन दिएपछि त्यसलाई शिक्षा समितिमा छलफल गरेर मात्र अनुमति दिने कि नदिने भन्ने विषयमा निर्णय हुने महानगर शिक्षा विभागका अधिकृत नेत्र पौडेल बताउँछन् । ‘सर्वप्रथम त नाम परिवर्तन र स्थान परिवर्तन गर्ने विद्यालयले महानगरको शिक्षा शाखामा निवेदन दिनुपर्छ, त्यसउपर हामीले अनुगमन समिति बनाउँछौँ,’ पौडेलले भने, ‘अनुगमन समितिले बुझाएको प्रतिवेदनलाई शिक्षा समितिमा छलफल गरेरमात्र निर्णय लिइन्छ ।’ तर, अध्याय पाठशाला भने प्रक्रियामै नगई धमाधम विद्यार्थी भर्नामा गरिरहेको छ ।
एक ठाउँमा भएको स्कुललाई बिना अनुमति अर्को स्थानमा लैजानु र नाम समेत परिवर्तन गर्नु गैरकानूनी कार्य भएको महानगर शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवाली बताउँछन् । ‘यो अवैध काम हो,’ उनी भन्छन् ‘यसरी अनियमितता गर्नेमाथि हामी निर्मम भएर कारवाही गर्छौं ।’
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को परिच्छेद २ को २.१ मा विद्यालयको स्थानान्तरण सम्बन्धमा व्यवस्था गरिएको छ । जसमा यदि विद्यालयको आफ्नै जग्गा वा भवनमा स्थानान्तरण गर्न सकिने, नगर क्षेत्रमा भएको स्कुललाई ग्रामीण क्षेत्रमा स्थानान्तरण गर्न सकिने, स्थानान्तरण हुने विद्यालयले भाडाको भवन र जग्गामा विद्यालय सार्ने हो भने न्यूनतम ५ वर्षको सम्झौता गरेको हुनुपर्ने, कम्पनी स्थानान्तरणका आधारमा विद्यालय स्थानान्तरण गर्न नपाइने व्यवस्था गरिएको छ ।
तर, अध्यायले भने निर्देशिकाको नै धज्जी उडाउने गरी बालुवाटारमा रहेको विद्यालयलाई सिफल सारेर धमाधम विद्यार्थी भर्ना गरिरहेको छ । यस विषयमा कुराकानी गर्दा अध्याय पाठशालाका प्रिन्सिपल विजय विश्वासले अनुमतिका लागि प्रक्रियामा रहेको बताए । ‘हामीले पनि केही महिना अघिमात्र कस्मोपोलिटनको नामको विद्यालय किनेका हौं,’ उनले भने, ‘हामी महानगरबाट अनुमति लिने प्रक्रियामै छौं ।’
त्यस्तै, कलेजका सञ्चालक अजय शाही ठकुरी भने आफूहरुले सबै डकुमेन्ट पूरा गरेर नै कलेज सञ्चालन गरेको दाबी गर्छन् । यद्यपि, उनको दाबीअनुसार महानगरमा बुझ्दा कस्मोपोलिटन स्कुलले स्थानान्तरण र नामासारीका लागि कुनै पनि प्रक्रिया पूरा गरेको पाइँदैन् ।
काठमाडौं महानगरपालिका—७ का विद्यालय स्रोत व्यक्ति यज्ञ प्रसाईं पनि अध्यायले नियमविपरित विद्यार्थी भर्ना गरिरहेको छ भन्ने आफूलाई जानकारी आएको बताउँछन् । ‘सिफलमा अध्याय पाठशाला पनि खुलेको छ भन्ने केही दिन अघिमात्र थाहा पाएँ,’ उनले भने, ‘आखिर त्यो बालुवाटारमा रहेको स्कुल रहेछ, उहाँहरुले अनुमति बिना नै नाम परिवर्तन र स्थान परिवर्तन गर्नु सरासर गलत हो । हामी थप अध्ययन गरेर कारवाही गर्छौं ।’
चाबहिलमा हुँदै नभएको स्कुलमा महानगरको छात्रवृत्ति, विद्यार्थीलाई तनाव
काठमाडौं महानगरपालिकाले ६ साउनमा छात्रवृत्तिको सूची सार्वजनिक गर्यो । जसमा कस्मोपोलिटन स्कुल, चाबहिल ७ काठमाडौंका नाममा २७ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको उल्लेख थियो । तर, कस्मोपोलिटन नाम गरेको स्कुल चाबहिलमा छैन । जसकारण उक्त स्कुलमा छात्रवृत्ति परेका विद्यार्थीहरु चाबहिलमा स्कुल नै नभेटिएपछि भौंतारिएर महानगर पुग्ने गरेका छन् ।
केही विद्यार्थीहरु कस्मोपोलिटन नाम गरेको स्कुल चावहिल एरियामा नभेटिएको भन्दै महानगर शिक्षा विभागमा आइरहेको विभागका निमित्त प्रमुख ज्ञवाली बताउँछन् । तर, अध्यायको सम्पर्कमा पुगेका विद्यार्थीहरुले भने कस्मोपोलिटन भनेको हामी नै हो भन्दै भर्ना गरिरहेको समेत पाइएको छ । केही विद्यार्थीको भने चाबहिलमा कस्मोपोलिटन खोज्दा—खोज्दै शुक्रबारसम्मको भर्ना म्याद गुज्रिने भएको छ ।
आखिर चाबहिलमा हुँदै नभएको विद्यालयका नाममा किन पठाइयो छात्रवृत्तिका विद्यार्थी ? काठमाडौं–७ का विद्यालय निरीक्षक यज्ञ प्रसाईं महानगरभित्र दर्ता भएको संस्थागत विद्यालय भएकाले छात्रवृत्तिका लागि विद्यार्थी पठाइएको बताउँछन् । ‘हामीले विद्यार्थी पठाउँदा ठाउँ सारी गरेको छ कि छैन नाम परिवर्तन गरेको छ कि छैन भन्ने सोधेनौँ कस्मोपोलिटन नै भनेर कुरा गर्यौं,’ उनले भने, ‘उहाँहरुले महानगरको अनुमति बिना नै कस्मोपोलिटनको नाम परिवर्तन गरेर अध्याय पाठशाला बनाइसक्नुभएको कुरा हामीलाई थाहा भएन ।’ त्यसैले रित पूर्वक सञ्चालन नगरिएको विद्यालयलाई महानगरले कानूनी कारवाही प्रक्रिया अघि बढाउने उनी बताउँछन् ।

के हुन्छ कारवाही ?
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ को परिच्छेद ८.६ को ८.५.६ मा ‘नाम र स्थान परिवर्तन गरी तथा अनुमति नलिई तह र कक्षा सञ्चालन गर्ने विद्यालयहरुलाई तत्काल कारवाही गरी अनुमति बिनाको स्थानमा सञ्चालन आएको विद्यालय, अनुमति बिनाको कक्षा र तह बन्द गराउने’ उल्लेख छ । अध्याय पाठशालाका हकमा पनि निर्देशिकाको यही बुँदा आकर्षित हुने विद्यालय स्रोत व्यक्ति प्रसाईं बताउँछन् ।

ताजा अपडेट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया