नेपालका अब्बल ३० माविहरू
देशभर कक्षा ११ र १२ अध्यापन गराउने ४ हजार ९ सय २४ माविहरु छन् । तीमध्ये सबैभन्दा अब्बल मावि कुन होला ? यही प्रश्नको उत्तर खोज्दै एजुकेशन समाचार डटकमले यस वर्ष पनि देशभरका अब्बल माविहरुको छनोट गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ग्रेडिङ प्रणालीमा प्रकाशित गर्दै आएको छ । बोर्डले वि.सं. २०७९ सालबाट रिजल्टमा ‘नन ग्रेडिङ (एनजी)’ प्रणाली लागु गरेको हो । कक्षा ११ को परीक्षा माविहरुलाई ‘होम सेन्टर’का रुपमा आफ्नै माविमा सञ्चालन गर्ने अधिकार दिइएको छ । कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्छ ।
राष्ट्रिय परीक्षा बोर्डले ‘नन ग्रेडिङ’ प्रणाली लागु गरेपछिका पछिल्ला तीन वर्षको कक्षा १२ को नतिजालाई हामीले अब्बल माविहरु छनोटको प्रमुख आधार बनाएका छौं । रिजल्टसँगै लगातार पछिल्ला तीन वर्षमा ४ सय ८० विद्यार्थी बोर्ड परीक्षामा सहभागी गराउने मावि, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, उत्कृष्ट माविको पुरस्कार, स्थापना वर्ष र पब्लिक पर्सेप्सनका आधारमा अब्बल माविहरु छनोट गरिएको हो ।
कक्षा ११ को परीक्षा आफ्नै विद्यालयमा सञ्चालन हुने भएकाले त्यसलाई अब्बल मावि छनोटको मापदण्ड बनाइएको छैन । अब्बल माविहरु छनोट गर्ने क्रममा सुरुमा पछिल्ला तीन वर्षमा लगातार ४ सय ८० भन्दा बढी विद्यार्थीलाई कक्षा १२ को बोर्डको परीक्षामा सहभागी गराउने माविहरुलाई छनोट गरियो । त्यसबाट सर्टलिष्ट भएर वि.सं. २०८० सालमा ११९ मावि, २०८१ सालमा ९४ मावि र २०८२ सालमा १०१ माविहरु छनोट भए । तर, ती माविहरुबाट केही माविहरु तीन वर्ष लगातार ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी नगराएका कारण प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
लगातार पछिल्ला तीन वर्ष नै राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ४ सय ८० विद्यार्थी सहभागी गराउने ७६ वटा माविहरुबाट उत्कृष्ट रिजल्टका आधारमा टप ३० माविहरु छनोट गरियो । उत्कृष्ट ३० मा परेका माविहरुलाई भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, उत्कृष्ट माविको पुरस्कार, स्थापना वर्ष र पिपुल्स पर्सेप्सनका आधारमा प्रतिस्पर्धा गराइएको थियो । जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४–४ प्रतिशतमा मार्किङ गरेर सबै जोडेर कुल अंकमा आधारमा वि.सं. २०८३ का उत्कृष्ट ३० माविहरु निकालिएको हो ।
१. प्रसादी एकेडेमी, ललितपुर

ललितपुर मानभवनस्थित प्रसादी एकेडेमी सेकेण्डरी स्कुल २१ वर्षदेखि निरन्तर अब्बल माविको सूचीमा पहिलो नम्बरमा राज गरिरहेको छ । ‘एकल कार्यक्रम, एकल व्यवस्थान’को नीति नै प्रसादीको सफलताको प्रमुख कारण हो । माविका प्रमुख विक्रम राई भन्छन्, ‘एकल कार्यक्रम, एकल व्यवस्थापनको नीति नै हाम्रो उत्कृष्टताको कारण हो ।’
सिमित भर्ना, अनुभवी फ्याकल्टी र विद्यार्थीका लागि व्यवस्थित शैक्षिक वातावरणजस्ता कारणले प्रसादीलाई सदैंब अब्बल माविको पहिलो नम्बरमै टिकिरहने बनाएको छ । विद्यार्थीको सुक्ष्म निगरानी र गुणस्तरीय पठनपाठनजस्ता कुराले प्रसादीको शैक्षिक जगलाई बलियो बनाएको छ । विद्यार्थीमुखी प्रचारलाई वेवास्ता गर्दै आफ्नै कर्ममा तल्लीन रहनु यो माविको अर्को प्रमुख विशेषता हो । २९ वर्षदेखि ११ र १२ कक्षा मात्रै पढाइरहेको प्रसादीले लगातार पाँच पटक उत्कृष्ट माविको पुरस्कार पाएको छ ।
सिट संख्या
विज्ञानः ७ सय
व्यवस्थापनः १ सय
शुल्क
विज्ञानः १ लाख ८८ हजार रुपैयाँ
व्यवस्थापनः ९० हजार रुपैयाँ
२. सेन्ट जेभियर्स, काठमाडौं
माइतीघरस्थित सेन्ट जेभियर्स कलेज एसईईपछि कक्षा ११ र १२ अध्ययनका लागि विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्ने गरेको छ । यसको मुख्य कारण हो—सेन्ट जेभियर्सले दिदैं आएको उत्कृष्ट नतिजा । विज्ञान संकाय मात्र पढाइ हुने यो कलेज प्रवेश परीक्षाबाटै उत्कृष्टहरुको छनोट, शैक्षिक वातावरण, कम बिदा, उच्चस्तरका फ्याकल्टीजस्ता कारणले अब्बल नतिजा दिदैं आएको छ ।
आधुनिक प्रयोगशाला, तीन–तीन महिनामा हुने परीक्षाले पनि विद्यार्थीलाई पढाइमा उत्प्रेरित गर्ने गरेको छ । ‘नियमित क्लास र एक्स्पीरियन्स फ्याकल्टीलगायतका कारणले हामीले उत्कृष्ट नतिजा दिन सफल भएका हौं,’ कलेजको कक्षा ११ र १२ कार्यक्रमका सहायक प्रधानाध्यापक गेहेन्द्र चन्द भन्छन् । सेन्ट जेभियर्सले १७ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराइरहेको छ ।
सिट संख्या
विज्ञानः ५ सय
(बायोलोजीः ३ सय ३४÷फिजिक्स : १ सय ६६)
शुल्क
१ लाख ७१ हजार रुपैयाँ
३. काठमाडौं मोडल सेकेण्डरी स्कुल, काठमाडौं
बागबजारस्थित काठमाडौं मोडल सेकेण्डरी स्कुल कक्षा ११ र १२ अध्ययनका लागि विद्यार्थीको मुख्य छनोटमा पर्दै आएको छ । शैक्षिक उत्कृष्टता, प्रतिस्पर्धात्मक नतिजा र विद्यार्थीको भविष्य केन्द्रित शिक्षण प्रणालीका कारण माविले निरन्तर अब्बल नतिजा ल्याउँदैं छ । ‘एकेडेमिक एक्सीलेन्स थ्रु क्वालिटी एजुकेशन’लाई आफ्नो मूल मन्त्र बनाएको यो माविले २७ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराउँदै आएको छ । उत्कृष्ट शैक्षिक नतिजा, विद्यार्थीलाई केन्द्रमा राखिने अनुशासित सिकाइ वातावरण, अनुभवी शिक्षक–शिक्षिकाका कारण यो मावि विद्यार्थी तथा अभिभावकको रोजाइ बन्न सफल भएको छ ।
माविका डेपुटी सिईओ अनिष ढकाल काठमाडौं मोडल नतिजामा मात्र नभएर विद्यार्थीको समग्र भविष्य निर्माणमा जोड दिँदै आएको बताउँछन् । ‘हामी विद्यार्थीलाई कक्षा १२ सम्म सिमित गर्दैनौं । उनीहरूको उच्च शिक्षा, करिअर योजना र प्रतिस्पर्धात्मक परीक्षासम्मको यात्रालाई केन्द्रमा राखेर काम गर्छौं,’ उनी भन्छन् । उनका अनुसार दक्ष तथा प्रतिस्पर्धात्मक फ्याकल्टी टिम, प्रविधिमैत्री कक्षा कोठा, अन्तरक्रियात्मक अध्यापन विधि, अनुसन्धानमुखी सिकाइ, विद्यार्थीको व्यक्तिगत केयरिङ, उत्कृष्ट भौतिक पूर्वाधार, सुविधासम्पन्न कक्षाकोठा, होस्टल तथा यातायातको व्यवस्था, लामो शैक्षिक विरासत काठमाडौं मोडलको सफलताका मुख्य आधार हुन् । माविले दुई पटक उत्कृष्ट माविको पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।
सिट संख्या
विज्ञान : १ हजार ५ सय
व्यवस्थापन : ४ सय ५०
कानुन : ५०
भर्ना शुल्क
विज्ञान : ६८ हजार ६ सय ८५ रुपैयाँ
व्यवस्थापन : ५१ हजार ३० रुपैयाँ
कानुन : ५१ हजार ३० रुपैयाँ
मासिक शुल्क
विज्ञानः ९ हजार ६ सय रुपैयाँ
व्यवस्थापनः ७ हजार ६ सय रुपैयाँ,
कानुनः ७ हजार रुपैयाँ ६ सय रुपैयाँ
अन्य शुल्क
विज्ञान : ३२ हजार रुपैयाँ
व्यवस्थापन : ३२ हजार
कानुन : ३२ हजार रुपैयाँ
४. ग्लोबल कलेज अफ म्यानेजमेन्ट काठमाडौं
मध्यबानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षामा नेपालकै अग्रणी शैक्षिक संस्थामा पर्छ । उत्कृष्ट फ्याकल्टीको टिम र अनुशासित शैक्षिक वातावरणका कारण ग्लोबल विद्यार्थी तथा अभिभावकको विश्वासिलो रोजाइ बनेको हो । २२ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराउँदै आएको ग्लोबलले राष्ट्रिय परीक्षा बोर्डको नतिजामा निरन्तर उत्कृष्ट नतिजा ल्याउने गरेको छ । कलेजका प्रिन्सिपल अम्बादत्त जोशीकाअनुसार ग्लोबलको सफलताको मुख्य आधार दक्ष र अनुभवी फ्याकल्टीको टिम हो । ‘हाम्रो अब्बल नतिजाको प्रमुख मापदण्ड नै हाम्रा फ्याकल्टी हुन्,’ उनी भन्छन, ‘नेपालकै उत्कृष्ट र अनुभवी शिक्षकहरू ग्लोबलसँग आवद्ध भएकाले सिकाइको स्तर सधैं उत्कृष्ट रहँदै आएको छ ।’
मापदण्डमा आधारित विद्यार्थी भर्ना, विद्यार्थीको क्षमताअनुसार मार्गदर्शन, समग्र विकासमा जोड, नियमित कक्षा, अतिरिक्त शैक्षिक सहयोग, नियमित मूल्यांकन, कमजोर विद्यार्थीलाई विशेष कक्षामार्फत सिकाइसँग अतिरिक्त क्रियाकलापको प्रभावकारी संयोजनले ग्लोबललाई फरक बनाएको छ । ‘हामीले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई महत्व दिएका छौं । यही सन्तुलन नै ग्लोबलको वास्तविक शक्ति हो,’ प्रिन्सिपल जोशी थप्छन् । प्रविधिमैत्री शिक्षण प्रणाली, सुविधासम्पन्न भौतिक पूर्वाधार, अनुशासित वातावरण र विद्यार्थीमैत्री व्यवस्थापनले ग्लोबललाई अब्बल माविहरुको सूचीमा अग्रस्थानमा ल्याउने गरेको छ ।
सिट संख्या
व्यवस्थापन : ८ सय
भर्ना शुल्क
१६ हजार ५ सय रुपैयाँ
मासिक शुल्क
१६ हजार ५ रुपैयाँ
वार्षिक शुल्क
व्यवस्थापनः ३३ हजार रुपैयाँ
५. रिलायन्स इन्टरनेशनल एकेडेमी, काठमाडौं
संस्कारसहितको शिक्षा, शैक्षिक गुणस्तर र अनुशासित वातावरणका कारण रिलायन्स इन्टरनेशनल एकेडेमी नेपालका उत्कृष्ट माविहरुको टपटेनको सूचीमा अटाउँदैं आएको छ । चाबहिल सरस्वतीनगरस्थित रिलायन्सलाई उत्कृष्ट शैक्षिक उपलब्धिसँगै विद्यार्थीको व्यवहार, अनुशासन, संस्कार र व्यक्तित्व विकासलाई समान प्राथमिकता दिने अभ्यासले फरक बनाएको छ । वि.सं. २०६० मा स्थापना भएको माविले दुई पटक उत्कृष्ट माविको पुरस्कारसमेत पाएको छ । दक्ष तथा अनुभवी फ्याकल्टी, कुशल व्यवस्थापन, अनुशासित शैक्षिक वातावरण, आधुनिक भौतिक पूर्वाधार, सुविधासम्पन्न पुस्तकालय, सुविधासम्पन्न प्रयोगशाला तथा कन्फ्रेन्स हल, शिक्षण सिकाइमा समानता, समरूपता र विद्यार्थीमैत्री पद्धति रिलायन्सका आकर्षण हुन् ।
एकेडेमीका प्रिन्सिपल रवीन्द्रजंग थापाका अनुसार रिलायन्सले विद्यार्थीलाई परीक्षामुखी शिक्षा मात्र नभई जीवन उपयोगी सीप, नेतृत्व क्षमता र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ शिक्षण सिकाइ प्रक्रिया अघि बढाउँदै आएको छ । ‘हामी विद्यार्थीको क्षमता पहिचान गरेर सोहीअनुसारको शिक्षण प्रणाली अपनाउँछौं,’ उनी भन्छन्, ‘कमजोर विद्यार्थीलाई छुट्टै सहयोगात्मक कक्षा सञ्चालन गर्छौं भने उत्कृष्ट विद्यार्थीलाई अझ सक्षम बनाउन समूहगत छलफल, प्रस्तुतीकरण र विश्लेषणात्मक अभ्यास गराइन्छ ।’ विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता र प्रस्तुतीकरण कौशल विकास गर्न रिलायन्सले शैक्षिक गतिविधिहरुसँग अतिरिक्त क्रियाकलापहरुलाई संयोजन गर्न वार्षिक क्यालेन्डर नै बनाउँछ ।
सिट संख्या
विज्ञान : ४ सय ८०
म्यानेजमेन्ट : ६ सय ४०
भर्ना शुल्क
विज्ञान : १४ हजार रुपैयाँ
व्यवस्थापन : १२ हजार रुपैयाँ
मासिक शुल्क
विज्ञान : ७ हजार रुपैयाँ
व्यवस्थापन : ६ हजार रुपैयाँ
अन्य शुल्क
विज्ञान : ५२ हजार रुपैयाँ
व्यवस्थापन : २४ हजार रुपैयाँ
६. पिनाकल एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर
लगनखेखस्थित पिनाकल एकेडेमी सेकेण्डरी स्कुल व्यवहारिक, अनुशासित र गुणस्तरीय शिक्षाका कारण उत्कृष्ट माविहरुको सूचीमा टपटेनमा रहँदैं आएको छ । विगत २८ वर्षदेखि कक्षा ११ र १२ लाई पढाउँदैं आएको पिनाकलले विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायअन्तर्गत अध्ययन अध्यापन सञ्चालन गर्दै आएको छ । घोकन्ते शिक्षाभन्दा व्यवहारिक सिकाइ, करियर काउन्सिलिङ र विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड, दक्ष तथा समर्पित शिक्षक–शिक्षिका, अनुशासित वातावरण, अत्याधुनिक भौतिक तथा शैक्षिक पूर्वाधार, एउटै व्यवस्थापनको निरन्तरता, विगतको उत्कृष्ट नतिजा र सकारात्मक सार्वजनिक विश्वास पिनाकलका सबल पक्ष हुन् ।
विद्यालयका प्रिन्सिपल डा. ऋषिप्रसाद तिवारीकाअनुसार विद्यार्थीलाई पढाइमा केन्द्रित गराउने वातावरण, नियमित मूल्यांकन, वैयक्तिक काउन्सिलिङ र आवश्यक विद्यार्थीलाई अतिरिक्त कक्षाले माविलाई अब्बल बनाएको छ । मेहनती र सिकाइप्रति प्रतिबद्ध विद्यार्थी छनोट गरी उनीहरूको क्षमता विकासमा विशेष ध्यान दिइने भएकाले विद्यालयले निरन्तर उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै आएको उनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम तथा गोष्ठीमा विद्यार्थीको सक्रिय सहभागिता, करियर निर्माणमा दिइने विशेष मार्गदर्शन पिनाकलका फरक विशेषता हुन् ।
सिट संख्या
विज्ञान : ३ सय
व्यवस्थापन : ४ सय ५०
कानुनः ५०
वार्षिक शुल्क
विज्ञान : १ लाख ६० हजार रुपैयाँ
व्यवस्थापन : १ लाख ३० हजार रुपैयाँ
कानुन : १ लाख १० हजार रुपैयाँ
७. ज्ञानज्योति सेकेण्डरी स्कुल, दाङ
दाङको तुलसीपुरमा अवस्थित ज्ञानज्योति सेकेण्डरी स्कुल पश्चिम नेपालकै उत्कृष्ट मावि हो । गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र निरन्तर उत्कृष्ट नतिजाका कारण ज्ञानज्योोति विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्ने गरेको छ । वि.सं. २०६५ देखि कक्षा ११ र १२ अध्यापन सुरु गरेको ज्ञानज्योति विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकाय अध्यापन गराउँदैं आएको छ । विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसीका अनुसार उत्कृष्ट नतिजाको पछाडि कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक–शिक्षिका र विद्यार्थीको क्षमता प्रस्फुटनमा दिइएको विशेष जोड मुख्य कारण हुन । ‘हामी विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा अत्यन्त सचेत छौं । त्यसैको प्रतिफल नतिजामा देखिएको हो,’ उनी भन्छन् ।
सुविधासम्पन्न भौतिक पूर्वाधार, स्तरीय प्रयोगशाला, समृद्ध पुस्तकालय र पढाइमैत्री वातावरण ज्ञानज्योतिका प्रमुख सबल पक्ष हुन । अध्ययनसँगै विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता, अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले विशेष जोड दिँदै आएको छ । ‘हामी जुन स्थानमा छौं, त्यो विद्यार्थीको मेहनत र अभिभावकको विश्वासकै परिणाम हो,’ प्रिन्सिपल जिसी भन्छन्, ‘यो विश्वासलाई अझ मजबुत बनाउँदै गुणस्तरीय शिक्षामा निरन्तर अघि बढ्ने हाम्रो प्रतिबद्धता छ ।’
सिट संख्या
विज्ञान : २ सय ५०, व्यवस्थापन : १ हजार, शिक्षा : ४०, कानुन : ४०
भर्ना शुल्क
विज्ञान : १२ हजार रुपैयाँ
व्यवस्थापन : ८ हजार रुपैयाँ
शिक्षा : ४ हजार रुपैयाँ
कानुन : ३ हजार रुपैयाँ
मासिक शुल्क
विज्ञान : ४ हजार २ सय रुपैयाँ
व्यवस्थापन : ३ हजार ६ सय रुपैयाँ
शिक्षा : ३ हजार रुपैयाँ
कानुन : ३ हजार रुपैयाँ
वार्षिक शुल्क
विज्ञान : २६ हजार ५ सय रुपैयाँ
व्यवस्थापन : १५ हजार रुपैयाँ
कानुन : १० हजार रुपैयाँ
शिक्षा : १० हजार रुपैयाँ
८. मेरिल्याण्ड सेकेण्डरी स्कुल, मोरङ
मोफसलको व्यवस्थापन एकल संकाय अध्यापन गराउने माविको परिचय बनाएको विराटनगरस्थित मेरिल्याण्ड माविले वि.सं. २०८१ बाट विज्ञान संकायको पनि पठनपाठन सुरु गरेको छ । पूर्वी नेपालको अब्बल माविमा निरन्तर पर्दै आएको मेरिल्याण्डले यो पटक देशकै टपटेन माविहरुमा स्थान बनाउन सफल भएको छ ।
रिच फ्याकल्टी, राम्रो भौतिक पूर्वाधार, अब्बल व्यवस्थापन, विद्यार्थीहरुलाई बढीभन्दा बढी सुविधा, अतिरिक्त क्रियाकलापमा जोड, प्रविधिमैत्री शिक्षा, आवश्यकताअनुसार अत्तिरिक्त कक्षाजस्ता कारण मेरिल्याण्ड उत्कृष्ट नतिजा दिइरहेको माविका प्रिन्सिपल लक्ष्मण ढकाल बताउँछन् । ‘विद्यार्थीको समग्र विकासका लागि हामी सदैव तयार रहन्छौं,’ उनले भने, करिअर डेभलपमेन्ट अपरचुनिटीहरु क्रियट गरिदिन्छौं ।’ त्यसबाहेक आन्तरिक परीक्षामा राम्रो नतिजा ल्याउनेलाई प्रोत्साहन तथा ठूलो रकम छात्रवृत्तिमा खर्च गर्ने उनले बताए । मेरिल्याण्डले वि.सं. २०६९ बाट कक्षा ११ र १२ को अध्यापन सुरु गरेको हो ।
सिट संख्या
विज्ञानः ३ सय
व्यवस्थापनः ५ सय
वार्षिक शुल्क
विज्ञानः १ लाख १५ हजार रुपैयाँ
व्यवस्थापनः ८५ हजार रुपैयाँ
९. काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल, काठमाडौं
बल्खुस्थित काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल देशभरका उत्कृष्ट माविमा ९ औं स्थानमा पर्न सफल भएको छ । ‘परिमाणभन्दा परिणाम’लाई मूल मन्त्र बनाएर अघि बढिरहेको बर्नहार्ट गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, लामो शैक्षिक अनुभव बोकेको दक्ष र समर्पित टिमलगायतका कारण अब्बल माविको सूचीमा अटाएको हो । विद्यालयका प्रिन्सिपल पुरुषोत्तम विष्टका अनुसार प्रयोगात्मक शिक्षण सिकाइ, अनुभवी फ्याकल्टी, नियमित शैक्षिक निगरानी र विद्यार्थी मोटिभेसन नै उत्कृष्ट नतिजाका मुख्य आधार हुन् । ‘हामी विद्यार्थीलाई सधैं केन्द्रमा राख्छौं,’ उनी भन्छन्, ‘दक्ष शिक्षक, कुशल व्यवस्थापन र विद्यार्थीप्रतिको व्यक्तिगत केयरिङले नै बर्नहार्टलाई फरक बनाएको छ ।’ वि.सं. २०५७ मा स्थापना भएको बर्नहार्ट करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
फराकिलो परिसर, अध्ययनमैत्री वातावरण, व्यवस्थित कक्षाकोठा, आधुनिक शैक्षिक पूर्वाधार, अतिरिक्त कक्षा र ‘वन टु वन’ केयरिङ प्रणाली, नियमित ६ पिरियड अध्यापन, हरेक हप्ता सहयोगात्मक अतिरिक्त कक्षा, अभिभावकसँग निरन्तर संवाद र पाठ्यक्रमअनुसारका तालिम निःशुल्क प्रि–मेडिकल तथा प्रि–इन्जिनियरिङ कक्षा बर्नहार्टका थप स्ट्रेन्थ हुन् । अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राख्ने बर्नहार्टका अध्यक्ष भुपेश छत्कुली विद्यार्थीको अन्तर्निहित प्रतिभा पहिचान र नेतृत्व विकासमा विद्यालय सधैं केन्द्रित रहेको बताउँछन । ‘हाम्रा विद्यार्थी जहाँ सहभागी हुन्छन्, त्यहाँ आफ्नो प्रभाव छोडेर फर्किन्छन्,’ उनी भन्छन् ।
सिट संख्या
विज्ञान : ५ सय
व्यवस्थापन : ३ सय ५०
कानुन : ५०
वार्षिक शुल्क
विज्ञान : १ लाख ६० हजार रुपैयाँ
व्यवस्थापन : १ लाख २५ हजार रुपैयाँ
कानुन : १ लाख २५ हजार रुपैयाँ
१०. युनिग्लोब सेकेण्डरी स्कुल, काठमाडौं
कमलादीस्थित युनिग्लोब सेकेण्डरी स्कुल छोटो समयमै उत्कृष्ट शैक्षिक पहिचान बनाउन सफल मावि हो । वि.सं. २०७१ देखि कक्षा ११ र १२ अध्यापन सुरु गरेको युनिग्लोबले उत्कृष्ट नतिजा, आधुनिक शिक्षण पद्धति र विद्यार्थीमैत्री वातावरणका कारण अब्बल माविको सूचीमा पर्न सफल भएको हो । ‘इन्टिग्रेटेड मोडालिटी’मा आधारित शिक्षण प्रणाली, अवधारणामूलक सिकाइ, प्रयोगात्मक अभ्यास र विश्लेषणात्मक सोच विकास युनिग्लोबका विशेषता हुन् । युनिग्लोबका महाप्रबन्धक एवं सूचना अधिकारी गणेश भट्टका अनुसार सफलताको मुख्य आधार दक्ष तथा अनुभवी फ्याकल्टी टिम हो । ‘हामी कहाँ शतप्रतिशत फुल–टाइम फ्याकल्टी हुनुहुन्छ,’ उनी भन्छन्, ‘विद्यार्थीले आफूलाई कठिन लागेको विषयमा जुनसुकै समयमा शिक्षकसँग प्रत्यक्ष छलफल गरेर समाधान पाउन सक्छन् ।’
शिक्षकसँग सहज पहुँच र निरन्तर शैक्षिक सहयोगले विद्यार्थीमा आत्मविश्वास र सिकाइप्रतिको लगाव बढाएको उनको विश्वास छ । उत्कृष्ट भौतिक पूर्वाधार, आधुनिक कक्षाकोठा, इनोभेसन ल्याब र प्रविधिमैत्री सिकाइ वातावरण युनिग्लोबका थप सबल पक्ष हुन । विज्ञान, व्यवस्थापन तथा कानून संकायमा अध्ययन अध्यापन गराउँदै आएको यस विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै नेतृत्व क्षमता, प्रस्तुतीकरण कला र सिर्जनशीलता विकासमा पनि उत्तिकै ध्यान दिँदै आएको छ ।
सिट संख्या
विज्ञान : ६ सय
व्यवस्थापन : ६ सय
कानुनः ४०
वार्षिक शुल्क
विज्ञान : १ लाख ८० हजार रुपैयाँ
व्यवस्थापन : १ लाख ५० हजार रुपैयाँ
कानुन : १ लाख २५ हजार रुपैयाँ
११. ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुल, ललितपुर

कुमारीपाटीस्थित ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुल उत्कृष्ट शैक्षिक नतिजाका कारण अब्बल माविहरूमा आफ्नो बलियो उपस्थिति बनाउन सफल भएको छ । गुणस्तरीय शिक्षा, दक्ष तथा अनुभवी फ्याकल्टी, अध्ययनमैत्री वातावरणजस्ता कारणले ओमेगा विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्दै आएको छ ।
विद्यालयका प्रिन्सिपल रमेश अधिकारीका अनुसार ओमेगाको सफलताको मुख्य आधार दक्ष तथा अनुभवी फ्याकल्टी, अध्ययनमैत्री वातावरण, प्रविधिमैत्री शिक्षण प्रणाली, अनुशासित सिकाइ संस्कृति, अतिरिक्त सहयोग कक्षा, सहभागितामूलक गतिविधि र आधुनिक भौतिक पूर्वाधार हो । ‘हाम्रो उत्कृष्ट नतिजाको मेरुदण्ड भनेकै हाम्रा शिक्षक–शिक्षिका हुनुहुन्छ,’ उनी भन्छन्, ‘हामी १५ जना सेयरहोल्डर स्वयं कक्षाकोठामा गएर अध्यापन गर्छाैं । यही प्रत्यक्ष शैक्षिक संलग्नताले संस्थालाई अझ मजबुत बनाएको छ ।’ वि.सं. २०६७ देखि कक्षा ११ र १२ अध्यापन सुरु गरेको ओमेगाले नियमित शैक्षिक निगरानी तथा विद्यार्थी लक्षित मनोसामाजिक परामर्शलाई पनि विशेष महत्व दिँदै आएको छ ।
सिट संख्या
विज्ञान : ४ सय ५०
व्यवस्थापन : ४ सय ८०
मानविकी : ३०
कानुन : ३०
वार्षिक शुल्क
विज्ञान : १ लाख ७९ हजार रुपैयाँ
व्यवस्थापन : १ लाख ५५ हजार रुपैयाँ
मानविकी : १ लाख ४५ हजार रुपैयाँ
कानुन : १ लाख ४५ हजार रुपैयाँ
१२. ग्लोबल स्कुल, काठमाडौं

मध्यबानेश्वरस्थित ग्लोबल स्कुल छोटो समयमै उत्कृष्ट रिजल्टका कारण अब्बल माविमा पर्न सफल भएको छ । विज्ञान संकायमा मात्र अध्यापन गराउँदै आएको यो मावि गुणस्तरीय शिक्षण प्रणाली, विद्यार्थीमाथि निगरानी, नियमित परीक्षा र शैक्षिक मुल्यांकन, उत्कृष्ट नतिजाका कारण अब्बल संस्थाको रूपमा स्थापित हुँदै गएको छ ।
वि.सं. २०७६ देखि कक्षा ११ र १२ अध्यापन सुरु गरेको ग्लोबलले राष्ट्रिय परीक्षा बोर्डको नतिजामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । विद्यालयका प्रिन्सिपल अम्बादत्त जोशीका अनुसार ग्लोबलको सफलताको मुख्य आधार यसको दक्ष तथा अनुभवी फ्याकल्टी टिम हो । ‘हाम्रो उत्कृष्ट नतिजाको प्रमुख आधार नै हाम्रा शिक्षक–शिक्षिका हुनुहुन्छ,’ उनी भन्छन्, ‘नेपालकै अनुभवी र समर्पित शिक्षकहरू आवद्ध भएकाले सिकाइको स्तर सधैं उत्कृष्ट रहँदै आएको छ ।’ उत्कृष्ट शैक्षिक वातावरण, नियमित निगरानी र अवधारणामूलक सिकाइमा पनि ग्लोबल स्कुलका बलिया पक्ष हुन् ।
सिट संख्या
विज्ञानः १ हजार
भर्ना शुल्क
१६ हजार ५ सय रुपैयाँ
मासिक शुल्क
१६ हजार ५ रुपैयाँ
वार्षिक शुल्क
३३ हजार रुपैयाँ
१३. विश्व निकेतन सेकेण्डरी स्कुल, काठमाडौं

देशभरकै सरकारी तथा सामुदायिक विद्यालयहरुका लागि नमुना मावि हो—त्रिपुरेश्वरस्थित विश्व निकेतन सेकेण्डरी स्कुल । स्कुलका प्रिन्सिपल हेरम्बराज कँडेलकाअनुसार स्कुलका ९० प्रतिशत शिक्षक कर्मचारीले छोराछोरी आ
फ्नै स्कुलमा पढाउनु, उत्कृष्ट टिमवर्क, प्रविधिमैत्री नवीनतम विधिबाट पठनपाठन, विभिन्न विषयमा कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षाको व्यवस्था, सार्वजनिक विदाका दिन पनि पठनपाठन, तालिम प्राप्त शिक्षक—शिक्षिका, पाँच पटक परीक्षाजस्ता कारणले विश्व निकेतन उत्कृष्ट मावि बन्न सफल भएको हो ।
‘उत्कृष्ट रिजल्टको मुख्य कारण यहाँका शिक्षक तथा कर्मचारीले आफूले आफैमाथि विश्वास गर्नु हो । राम्रो टिमवर्क र व्यवस्थापन छ,’ प्रिसिन्पल कँडेल भन्छन्, ‘हामी कहाँ विषयगत छुट्टाछुट्टै सुविधासम्पन्न प्रयोगशालाहरु छन्, रिर्सोसफूल लाइबेरी छ ।’ सस्तो शुल्कमा कक्षा ११ र १२ लाई पढाउँदैं आएको माविको सुविधासम्पन्न भौतिक पूर्वाधार र विद्यार्थीमैत्री शैक्षिक वातावरण छ । ‘सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन’ भन्ने भाष्यलाई यो माविले उत्कृष्ट रिजल्टबाट गलत सावित गरिदिएको छ ।
सिट संख्या
विज्ञानः ५ सय
व्यवस्थापनः ७ सय
मानविकी : ५०
कानुन: ५०
शिक्षाः ३०
इलेक्ट्रीकल इन्जिनियरिङः ४८
वार्षिक शुल्क
विज्ञानः ३८ हजार रुपैयाँ
व्यवस्थापनः १८ हजार रुपैयाँ
मानविकीः १४ हजार रुपैयाँ
कानुन: १७ हजार रुपैयाँ
शिक्षाः १४ हजार रुपैयाँ
इलेक्ट्रीकल इन्जिनियरिङः १२ हजार रुपैयाँ
१४. ट्रिनिटी इन्टरनेशनल सेकेण्डरी स्कुल, काठमाडौं

डिल्लीबजारस्थित ट्रिनिटी इन्टरनेशनल सेकेण्डरी स्कुल देशभरकै अब्बल माविहरुमध्येमा पर्छ । निरन्तर उत्कृष्ट नतिजा, आधुनिक शिक्षण प्रणाली र विद्यार्थीको समग्र विकासमा केन्द्रीत शैक्षिक वातावरणले ट्रिनिटीलाई विद्यार्थी तथा अभिभावकको रोजाइ बनाउँदैं लगेको छ । सन् २००८ देखि कक्षा ११ र १२ अध्यापन गराउँदै आएको ट्रिनिटीले विज्ञान तथा व्यवस्थापन संकायमा पठनपाठन गर्दै आएको छ । विद्यालयका प्रशासन निर्देशक अम्बिर थापाका अनुसार ट्रिनिटीले विद्यार्थीलाई केवल ‘के पढ्ने’ भन्दा पनि ‘कसरी प्रभावकारी रूपमा सिक्ने’मा केन्द्रीत गराउँदै आएको छ । ‘विद्यार्थीमा अवधारणामूलक बुझाइ, विश्लेषण क्षमता र आत्मविश्वास विकासमा जोड दिन्छौं,’ उनी भन्छन्, ‘त्यही कारण हाम्रो नतिजा निरन्तर उत्कृष्ट रहँदै आएको छ ।’
प्रयोगात्मक शिक्षण सिकाइ, प्रविधिमैत्री स्मार्ट कक्षाकोठा, नियमित शैक्षिक निगरानी, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्ने वातावरण निर्माण, आधुनिक भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षण प्रणाली र एमबीबीएस तथा इन्जिनियरिङका तयारी कक्षा ट्रिनिटीका थप विशेषता हुन । काठमाडौं उपत्यकाकै उत्कृष्ट तथा स्मार्ट क्लासरुम रहेको दाबी गर्ने ट्रिनिटीले विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोडेर सिकाइलाई थप प्रभावकारी बनाउँदै आएको छ । माविले अध्ययनसँगै अतिरिक्त क्रियाकलाप तथा व्यक्तित्व विकासलाई पनि समान प्राथमिकता दिदैं आएको छ ।
सिट संख्या
विज्ञान : १ हजार ८ सय
व्यवस्थापन : ७ सय
भर्ना शुल्क
विज्ञान : २२ हजार रुपैयाँ
व्यवस्थापन : २२ हजार रुपैयाँ
मासिक शुल्क
विज्ञान : १० हजार ५ सय रुपैयाँ
व्यवस्थापन : ९ हजार २ सय रुपैयाँ
अन्य शुल्क
विज्ञान : ३८ हजार रुपैयाँ
व्यवस्थापन : ३८ हजार रुपैयाँ
१५. सेन्ट लरेन्स सेकेण्डरी स्कुल, काठमाडौं

चाबहिलस्थित सेन्ट लरेन्स सेकेण्डरी स्कुल ‘तपाईंको सफलताः हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रसहित अब्बल माविहरुमा आफ्नो स्थान कायम राख्दै आएको छ । २८ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराउँदै आएको यस माविले गुणस्तरीय, सिर्जनशील र विद्यार्थी केन्द्रित शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ । ‘मौलिक सिर्जनशील शिक्षा, आजको युगको आवश्यकता’ भन्ने आदर्शलाई आत्मसाथ गरेको सेन्ट लरेन्सले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमै सिमित नराखी व्यवहारिक, प्रविधिमैत्री र आत्मविश्वास अभिवृद्धि गर्ने शिक्षण प्रणाली अपनाउँदै आएको छ । कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीका अनुसार अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक अभ्यास र नेतृत्व विकासमार्फत विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्यसहित शिक्षण सिकाइ सञ्चालन गरिन्छ ।
विद्यालयका अध्यक्ष केशवप्रसाद दंगालका अनुसार गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र समग्र व्यक्तित्व विकासमा केन्द्रित अभ्यास, आधुनिक शिक्षण पद्धति, शोधमूलक कार्य, क्षमता पहिचान, नियमित अभिभावक अन्तक्र्रिया र विद्यार्थीको निरन्तर मूल्यांकन सेन्ट लरेन्सको शैक्षिक सफलताका प्रमुख आधार हुन् । वर्षमा ६ वटा आन्तरिक परीक्षा सञ्चालन गर्ने यस विद्यालयले विभिन्न १० वटा क्लबमार्फत विद्यार्थीको सीप, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा विशेष जोड दिँदै आएको छ ।
सिट संख्या
विज्ञान : ४ सय २५
व्यवस्थापन : ५ सय
वार्षिक शुल्क
विज्ञान : १ लाख ६८ हजार
व्यवस्थापन : १ लाख २९ हजार
१६. अरनिको आवासीय सेकेण्डरी स्कुल, मोरङ

पूर्वी नेपालको औद्योगिक नगरी विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुल पूर्वी नेपालको मात्रै नभएर देशभरकै उत्कृष्ट माविहरुमा पर्दै आएको छ । ठूलो संख्यामा विद्यार्थीहरु भर्ना लिएर उत्कृष्ट नतिजा पस्कनु यो माविको प्रमुख विशेषता हो । त्यही कारण अरनिको देशभरकै अब्बल माविहरुको सूचीमा निरन्तर पर्दै आएको छ ।
पूर्णकालीन शिक्षक—शिक्षिका, अब्बल व्यवस्थापन, राम्रो शैक्षिक वातावरण, निरन्तर एक्स्ट्रा र तयारी कक्षाहरु, उत्कृष्ट भौतिक पूर्वाधारका कारण माविले उत्कृष्ट नतिजा ल्याइरहेको विद्यालयका प्रिन्सिपल राजेश कार्की बताउँछन् । ‘पूर्णकालीन मेहनती शिक्षकहरुको टिम छ,’ उनी भन्छन्, ‘अब्बल व्यवस्थापन, नियमित प्रयोगात्मक कक्षा, मिहिनेती विद्यार्थीका कारण निरन्तर उत्कृष्ट नतिजा दिइरहेका छौं ।’ प्रि—मेडिकल र प्रि—इञ्जिनियरिङ कक्षासमेत सञ्चालन गर्ने अरनिकोले २७ वर्षदेखि कक्षा ११ र १२ पठनपाठन गर्दै आएको छ ।
सिट संख्या
विज्ञानः १ हजार १ सय
व्यवस्थापनः ८०
वार्षिक शुल्क
विज्ञानः १ लाख २५ हजार रुपैयाँ
व्यवस्थापनः ६० हजार रुपैयाँ/होटल म्यानेजमेन्टः ८० हजार रुपैयाँ
१७. मनास्लु वर्ल्ड कलेज, काठमाडौं

चाबहिल–चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेज छोटो समयमै अब्बल माविको सूचीमा पर्न सफल मावि हो । गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण प्रणालीका कारण मनास्लुले उत्कृष्ट नतिजा ल्याइरहेको छ । कलेजका प्रिन्सिपल एवं संस्थाका अध्यक्ष गेन्द्र लामाका अनुसार अनुभवी तथा दक्ष फ्याकल्टी टिम, कुशल व्यवस्थापन र प्रविधिमैत्री शिक्षण प्रणाली नै मनास्लुको सफलताको मुख्य आधार हुन् । ‘हामी विद्यार्थीको क्षमता पहिचान गरेर उनीहरूको समग्र विकासमा केन्द्रीत हुन्छौं,’ उनी भन्छन्, ‘सुरुवाती वर्षदेखि नै उत्कृष्ट नतिजा आउनुको कारण बलियो शैक्षिक वातावरण र समर्पित टिमवर्क हो ।’
आईएसओ सर्टिफाइड मनास्लुले आधुनिक भौतिक पूर्वाधार, शान्त तथा अनुशासित वातावरण र विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । अध्ययनसँगै अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास र सिर्जनात्मक क्षमतामा जोड दिइएकाले विद्यार्थीले बहुआयामिक सिकाइ अनुभव प्राप्त गर्ने गरेका छन् । वि.सं. २०५३ मा प्राक्सिस इन्टरनेशनल स्कुलको नामबाट सञ्चालनमा आएको यो मावि वि.सं. २०७७ देखि मनास्लु वर्ल्ड स्कुलका रूपमा सञ्चालनमा छ।
सिट संख्या
विज्ञान : ३ सय
व्यवस्थापन : ६ सय
मानविकी : ५०
कानुन : ५०
वार्षिक शुल्क
विज्ञान : १ लाख ५० हजार रुपैयाँ
व्यवस्थापन : १ लाख २० हजार रुपैयाँ
मानविकी : १ लाख १० हजार रुपैयाँ
कानुन : १ लाख १० हजार रुपैयाँ
१८. युनाइटेड एकेडेमी सेकेण्डरी स्कुल, ललितपुर

कुमारीपाटीस्थित युनाइटेड एकेडेमी सेकेण्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण कारण अब्बल माविका रूपमा परिचित छ । विगत २६ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराउँदै आएको युनाइटेड निरन्तर उत्कृष्ट नतिजामार्फत विद्यार्थीको रोजाइमा पर्दै आएको छ । युनाइटेड एकेडेमीले उच्चस्तरीय पठनपाठन शैली र विद्यार्थीको व्यक्तिगत केयरलाई विशेष प्राथमिकतामा राख्दै आएको छ ।
विद्यालयका एकेडेमिक प्रमुख बसन्त नेपालीका अनुसार विद्यार्थीलाई व्यक्तिगत रूपमा बुझेर मार्गदर्शन गर्ने प्रणाली नै संस्थाको सफलताको मुख्य आधार हो । ‘उच्च गुणस्तरयुक्त पठनपाठन शैली र विद्यार्थीको व्यक्तिगत केयरले नै हामीलाई अब्बल माविका रूपमा स्थापित गरेको हो,’ उनी भन्छन् । कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा, नियमित निगरानी, संस्कारयुक्त शैक्षिक वातावरण, अनुशासित सिकाइ संस्कृति र शिक्षक–विद्यार्थीबीचको नजिकको समन्वयका कारण युनाइटेड एकेडेमी विश्वासिलो शैक्षिक गन्तव्य बन्न पुगेको छ ।
सिट संख्या
विज्ञान : ६ सय
व्यवस्थापन : ५ सय
मानविकी : ३०
कानुन : ३०
भर्ना शुल्क
विज्ञान : ७५ हजार रुपैयाँ
कव्यवस्थापन : ६९ हजार रुपैयाँ
मानविकी : ५९ हजार रुपैयाँ
कानुन : ५९ हजार रुपैयाँ
मासिक शुल्क
विज्ञान : ११ हजार रुपैयाँ
व्यवस्थापन : ९ हजार रुपैयाँ
मानविकी : ७ हजार ३ सय रुपैयाँ
कानुन : ७ हजार ३ सय रुपैयाँ
१९. डिएभी सुशील केडिया विश्व भारती सेकेण्डरी स्कुल, ललितपुर

जावलाखेलस्थित डिएभी सुशील केडिया विश्व भारती सेकेण्डरी स्कुलले गुणस्तरीय र संस्कारयुक्त शिक्षाका कारण बेग्लै पहिचान बनाएको छ । डिएभी राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याएर अब्बल माविमा पर्न सफल भएको हो । विगत २६ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराउँदै आएको यस माविले अनुशासन, संस्कृति र व्यक्तित्व विकासलाई समान प्राथमिकतामा राख्दै आएको छ । दक्ष तथा अनुभवी शिक्षक–शिक्षिका, बलियो व्यवस्थापन र जिम्मेवार अभिभावकबीचको समन्वय विद्यालयको सफलताको मुख्य आधार हो ।
विद्यालयका प्रिन्सिपल सुमन बस्नेतका अनुसार डिएभीको शिक्षण दर्शन केवल पाठ्यपुस्तकमा सिमित छैन । ‘संस्कारबिनाको शिक्षाले कसैलाई पनि सही गन्तव्यमा पु¥याउन सक्दैन,’ उनी भन्छन्, ‘त्यसैले हामी विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अनुशासन, जिम्मेवारी र संस्कार सिकाउन केन्द्रीत छौं ।’ जावलाखेलमा ३३ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालय भौतिक पूर्वाधारका दृष्टिले पनि अत्यन्त सबल मानिन्छ । अत्याधुनिक भवन, प्रविधिमैत्री प्रयोगशाला, पर्याप्त खेल मैदान, अध्ययनमैत्री वातावरण र व्यवस्थित यातायात सुविधाले विद्यार्थीलाई सहज र प्रभावकारी सिकाइ अनुभव प्रदान गर्दै आएको छ । विद्यार्थीको समग्र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण डिएभी सुशील केडिया विश्व भारती सेकेण्डरी स्कुलको अलग्गै पहिचान छ ।
सिट संख्या
विज्ञानः ६ सय
व्यवस्थापनः ४ सय
मानविकीः ४०
वार्षिक शुल्क
विज्ञानः १ लाख ८० हजार रुपैयाँ
व्यवस्थापन : १ लाख ४० हजार रुपैयाँ
मानविकी : १ लाख ४० हजार रुपैयाँ
२०. नेशनल इन्फोटेक सेकेण्डरी स्कुल, पर्सा

विज्ञानमात्रै पढाइ हुने वीरगञ्जस्थित नेशनल इन्फोटेक सेकेण्डरी स्कुल मधेश प्रदेशकै उत्कृष्ट मावि हो । निरन्तर उत्कृष्ट शैक्षिक नतिजा र विद्यार्थी केन्द्रीत प्रतिस्पर्धात्मक शिक्षण प्रणालीका कारण नेशनल इन्फोटेकले मधेश प्रदेशमा बलियो शैक्षिक पहिचान बनाएको छ । वि.सं. २०६० देखि कक्षा ११ र १२ पठनपाठन सुरु गरेको यस माविले हरेक वर्ष राष्ट्रिय परीक्षा बोर्डको नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । विद्यालयका प्रिन्सिपल मनिष सिंहका अनुसार अनुभवी तथा दक्ष फ्याकल्टी टिम, प्रविधिमैत्री कक्षाकोठा, आधुनिक प्रयोगशाला, व्यक्तिगत निगरानी, अतिरिक्त कक्षा, नियमित टेस्ट र योजनावद्ध अध्यापन प्रणाली स्कुलको सफलताका मुख्य आधार हुन ।
‘हामी विद्यार्थी भर्ना भएपछि कक्षा सुरु हुनुअघि नै उनीहरूको शैक्षिक क्षमता मूल्यांकन गर्छौं,’ प्रिन्सिपल सिंह भन्छन्, ‘त्यसपछि प्रत्येक विद्यार्थीको सिकाइ अवस्था बुझेर सुधारका लागि आवश्यक योजना बनाउँछौं ।’ कक्षा ११ देखि नै प्रि–मेडिकल तथा प्रि–इन्जिनियरिङ कक्षा सञ्चालन गरिएकाले विद्यार्थीमा प्रतिस्पर्धात्मक तयारी र पठन संस्कृतिको विकास भएको विद्यालयको दाबी छ । आधुनिक भौतिक पूर्वाधार, गुणस्तरीय प्रयोगशाला, अनुशासित वातावरण र परिणाममुखी शिक्षण प्रणालीलगायतका कारण नेशनल इन्फोटेकले मधेश प्रदेशमा विशिष्ट पहिचान बनाएको छ ।
सिट संख्या
विज्ञान : ६ सय
वार्षिक शुल्क
विज्ञान : १ लाख १० हजार रुपैयाँ
२१. प्रतिभा सेकेण्डरी स्कुल, पाेखरा, कास्की

पोखरास्थित प्रतिभा सेकेण्डरी स्कुल गण्डकी प्रदेशकै उत्कृष्ट माविका रूपमा स्थापित छ । दक्ष तथा अनुभवी फ्याकल्टी टिम, प्रविधिमैत्री कक्षाकोठा, व्यवहारिक सिकाइ पद्धति र व्यवस्थित शैक्षिक वातावरणका कारण पछिल्ला वर्षहरूमा राष्ट्रियस्तरमै प्रतिभाको बलियो शैक्षिक पहिचान बनेको छ । शिक्षा क्षेत्रमै सक्रिय व्यक्तिहरूको सोच र नेतृत्वबाट स्थापित प्रतिभाले सुरुवातदेखि नै गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ । विद्यालयका प्रिन्सिपल किरण सापकोटाका अनुसार दक्ष तथा अनुभवी फ्याकल्टी टिम, आधुनिक भौतिक पूर्वाधार, सुविधासम्पन्न प्रयोगशाला, प्रविधिमा आधारित शिक्षण प्रणाली, प्रविधिमैत्री कक्षाकोठा, व्यवहारिक सिकाइ पद्धति, अध्ययनमैत्री व्यवस्थित शैक्षिक वातावरण नै विद्यालयको सफलताको मुख्य आधार हुन ।
‘हामी विद्यार्थीलाई केवल बोर्ड परीक्षामा सिमित गर्दैनौं,’ उनी भन्छन्, ‘उनीहरूको भविष्य, प्रतिस्पर्धात्मक क्षमता र अन्तर्राष्ट्रिय अवसरलाई समेत ध्यानमा राखेर शिक्षण सिकाइ सञ्चालन गर्छौं ।’ प्रतिभाका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको नतिजासँगै एमबीबीएस, इन्जिनियरिङ, एग्रीकल्चर, फरेस्टी तथा नर्सिङजस्ता प्रतिस्पर्धात्मक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । विभिन्न राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशकै अब्बल उपस्थिति जनाउँदै आएको प्रतिभाले अतिरिक्त क्रियाकलाप र नेतृत्व विकासलाई पनि समान प्राथमिकतामा राख्दै आएको छ ।
सिट संख्या
विज्ञान: ३ सय ६०
व्यवस्थापन: ३ सय ६०
होटल व्यवस्थापन: ७२
वार्षिक शुल्क
विज्ञान: ३९ हजार रुपैयाँ
वार्षिक शुल्क: २५ हजार रुपैयाँ
२२. तिलोत्तमा सेकेण्डरी स्कुल, रुपन्देही

बुटवलस्थित तिलोत्तमा सेकेण्डरी स्कुल नारायणी पश्चिम क्षेत्रकै अब्बल माविमा पर्छ । २९ वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पढाइ हुने यो स्कुल विद्यार्थीलाई दिने वातावरण, डेडिकेटेड टिचिङ टिम, निरन्तर अन्तक्रिया, विद्यार्थीहरु निरन्तर निगरानीजस्ता कारणले उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
‘हाम्रो निरन्तर राम्रो नतिजाको कारण विद्यार्थीलाई दिने उत्कृष्ट शैक्षिक वातावरण र डेडिकेटेड टिचिङ टिम हो,’ माविका प्रिन्सिपल तुलसी सापकोटा भन्छन्, ‘विद्यार्थीहरुलाई सुरुदेखि नै मोटिभेट गरेर छलफल चलाउँछौं, नियमित अन्तक्रिया र निगरानी गर्छौ ।’ सापकोटाकाअनुसार विद्यार्थीको पठनपाठन कसरी अगाडि लैजाने भन्ने विषयमा निरन्तर रुपमा माविले कार्य गर्ने गर्छ । वर्षमा तीन वटा परीक्षा, अभिभावकसँग नियमित छलफल, सुरुबाटैं विद्यार्थीको केयर, उत्कृष्ट भौतिक पूर्वाधार, प्रविधिमैत्री सिकाइ, पर्याप्त खेल मैदान, अत्याधुनिक प्रयोगशालाजस्ता कारणले पनि तिलोत्तमा निरन्तर अब्बल माविमा पर्न सफल भएको हो ।
सिट संख्या
विज्ञान : ५ सय
व्यवस्थापन : १ सय ५०
वार्षिक शुल्क
विज्ञान : १ लाख १ हजार रुपैयाँ
व्यवस्थापन : ७१ हजार रुपैयाँ
२३. ब्लूवर्ड सेकेण्डरी स्कुल, ललितपुर

कुमारीपाटीस्थित ब्लूवर्ड सेकेण्डरी स्कुल निरन्तर उत्कृष्ट नतिजाका कारण अब्बल माविको सूचीमा आफ्नो स्थान बनाउन सफल भएको छ । शिक्षकहरूको टिमवर्क, विद्यार्थीप्रतिको समर्पण र गुणस्तरीय शिक्षा ब्लूवर्डको मुख्य विशेषता मानिन्छ । विद्यालयका प्रिन्सिपल वीर सिंह क्षेत्रीका अनुसार शिक्षकहरूकै व्यवस्थापनमा सञ्चालन भइरहेको संस्था भएकाले प्रत्येक शिक्षक विद्यालयको गुणस्तरप्रति थप जिम्मेवार र प्रतिबद्ध छन् । ‘टिमवर्क नै हाम्रो उत्कृष्ट नतिजाको मुख्य आधार हो,’ उनी भन्छन्, ‘हाम्रा शिक्षकहरू विद्यार्थीप्रति अत्यन्त समर्पित हुनुहुन्छ र संस्थालाई अझ उत्कृष्ट बनाउन निरन्तर खटिरहनु भएको छ ।’
अनुशासित वातावरण, समर्पित शिक्षक टिम र विद्यार्थीमैत्री शिक्षण प्रणालीका अध्ययनसँगै नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक सहभागितामा जोड दिइएकाले विद्यार्थीले बहुआयामिक सिकाइ अनुभव प्राप्त गर्ने गरेको क्षेत्री बताउँछन् । वि.सं. २०६१ देखि कक्षा ११ र १२ अध्यापन गराउँदै आएको ब्लूवर्डले व्यक्तिगत केयरसँगै विद्यार्थीहरुलाई विभिन्न क्लबहरूमार्फत अतिरिक्त क्रियाकलापमा पनि सक्रिय गराउँदैं आएको छ ।
सिट संख्या
विज्ञान : २ सय ८०
व्यवस्थापन : ४ सय
मानविकी : ५०
कानुन : ५०
वार्षिक शुल्क
विज्ञान : १ लाख ६७ हजार ४ सय रुपैयाँ
व्यवस्थापन : १ लाख २७ हजार ५ सय
मानविकी : १ लाख २७ हजार ५ सय
कानुन : १ लाख २७ हजारदेखि ५ सय
२४. कालिका मानव ज्ञान सेकेण्डरी स्कुल, रुपन्देही

बुटवलस्थित कालिका मानव ज्ञान सेकेण्डरी स्कुल नेपालकै नमुना सामुदायिक विद्यालयमा स्थापित छ । उत्कृष्ट नतिजा, विद्यार्थी संख्या, शैक्षिक उपलब्धि, व्यवस्थापन क्षमताका कारण कालिका मानव ज्ञानको सामुदायिक विद्यालयहरूमाझ छुट्टै पहिचान बनेको हो । वि.सं. २०१८ मा स्थापना भएको यस विद्यालयमा कक्षा ११ र १२ मा मात्रै करिब ३ हजार ६ सय विद्यार्थी अध्ययन छन् । यति ठूलो विद्यार्थी संख्या हुँदाहुँदै पनि विद्यालयले निरन्तर उत्कृष्ट शैक्षिक नतिजा कायम राख्नु आफैंमा उल्लेखनीय उपलब्धि हो ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार कालिका मानव ज्ञानको सफलताको मूल आधार यसको विद्यार्थीमैत्री शिक्षण पद्धति हो । ‘हामी घोकाउने शिक्षामा विश्वास गर्दैनौं,’ उनी भन्छन्, ‘विद्यार्थीलाई सिक्ने वातावरण, अवसर र सामग्री उपलब्ध गराइदिने हो भने उनीहरू आफैं खोज्दै, खेल्दै र बुझ्दै सिक्छन् ।’ विद्यालयमा नियमित आन्तरिक मूल्यांकन, शिक्षकहरूको समर्पण, विद्यार्थी–शिक्षक–प्रधानाध्यापक–व्यवस्थापनबीचको बलियो समन्वयसँगै व्यवहारिक सिकाइमा विशेष जोड दिँदै फिल्ड भिजिटलगायतका कार्य गर्दै आएको छ । विभिन्न क्लब तथा सहक्रियाकलापमार्फत विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाउने गरेका छन । अतिरिक्त क्रियाकलाप तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थासमेत विद्यालयमा छ ।
सिट संख्या
विज्ञान : ५ सय
व्यवस्थापन : ८ सय
फाइन आर्ट : ३०
कानुन : ५०
शिक्षा : १ सय
मानविकी : ४०
वार्षिक शुल्क
विज्ञान : २ हजार रुपैयाँ
व्यवस्थापन : १ हजार ५ सय रुपैयाँ
फाइन आर्ट : १ हजार ५ सय रुपैयाँ
कानुनः १ हजार ५ सय रुपैयाँ
शिक्षा : १ हजार २ सय रुपैयाँ
मानविकी : १ हजार २ सय रुपैयाँ
२५. जेभियर इन्टरनेशनल एकेडेमी, काठमाडौं

‘ग्लोबल लेभल अफ स्टडिज, लेभल अफ ग्रेड, लेभल अफ एकेडेमिक्स, लेभल अफ द स्कील्स, लेभल अफ द लाइफस्टाइल्स, लेभल अफ द सक्सेस’ पाँच वटा थिममा केन्द्रीत रहेर विद्यार्थीको होलस्टिक डेभलपमेन्टमा काम गर्नाले नै कालोपुलस्थित जेभियर इन्टरनेशनल सेकेण्डरी स्कुललाई उत्कृष्ट बनाएको हो । बदलिँदो युग सुहाउँदो प्रतिस्पर्धी जनशक्ति विकासमा केन्द्रीत रहेकाले जेभियर विद्यार्थीहरुको ‘ल्याडर अफ सक्सेस’ भएको स्कुलका प्रिन्सिपल दिपेन दाहाल बताउँछन् । ‘अहिलेको वर्गलाई स्कीलसँगै जीवनशैली पनि सिकाउनुपर्छ,’ दाहाल भन्छन्, ‘विद्यार्थीको सक्सेसमा जेभियर ल्याडर हो ।’
पूर्णकालीन शिक्षक, विद्यार्थीको नियमित निगरानी, अतिरिक्त कक्षा जेभियरका थप सबल पक्ष हुन् । एलटीडब्लू (लेक्चर, ट्युटोरियल र वर्कसप) विधिबाट विद्यार्थीलाई पढाउँदैं आएको यो माविमा विद्यार्थीहरुका लागि १९ वटा क्लबहरुमार्फत विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गरेका छन् । सन् २००१ देखि कक्षा ११ र १२ को अध्यापन गराइरहेको जेभियरले विज्ञान, व्यवस्थापन, मानविक र कानुन अध्यापन गराउँदैं आएको छ ।
सिट संख्या
विज्ञानः १ हजार ५०
व्यवस्थापनः ४ सय ५०
मानविकीः २०
कानुनः ४०
मासिक शुल्क
विज्ञानः १२ हजार रुपैयाँ
व्यवस्थापनः ११ हजार रुपैयाँ
मानविकीः ११ हजार रुपैयाँ
कानुनः ११ हजार रुपैयाँ
वार्षिक शुल्क
विज्ञानः ६५ हजार रुपैयाँ
व्यवस्थापनः ६५ हजार रुपैयाँ
मानविकीः ६५ हजार रुपैयाँ
कानुनः ६५ हजार रुपैयाँ
२६. होराइजन गौतम वुद्ध सेकेण्डरी स्कुल, रुपन्देही

तिलोत्तमा नगरपालिका—१ ड्राइभरटोलस्थित होराइजन गौतम वुद्ध सेकेण्डरी स्कुल पश्चिम क्षेत्रको अब्बल माविहरुमा रुपमा परिचित छ । वर्षेनी उत्कृष्ट नतिजा ल्याउँदै आएको यो मावि विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्दै आएको छ । माविले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउनुको प्रमुख कारण स्थापनादेखि हालसम्म एउटै व्यवस्थापन टिम हुनु रहेको माविका प्रिन्सिपल गोपाल आचार्य बताउँछन् ।
‘स्थापनादेखि हाम्रो म्यानेजमेण्ट टिम एउटै छ,’ उनी भन्छन्, ‘हामीले फ्याकल्टीहरुको प्राज्ञिक उनन्नयका लागि तलबी विदा दिएर शिक्षकहरुलाई अध्ययनमा पठाउने गरेको छौं । यसले सशक्त र क्वालिफाइड फ्याकल्टी विकास गरेको छ ।’ यस्तै, उत्कृष्ट भौतिक पूर्वाधार, सुविधासम्पन्न प्रयोगशाला र विद्यार्थी तथा अभिभावकको विश्वास मावि उत्कृष्टताका अन्य कारणहरु हुन् । वि.सं. २०५३ सालदेखि कक्षा ११ र १२ अध्यापन गराइरहेको होराइजन गौतम वुद्धले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।
सिट संख्या
विज्ञान : ३ सय
व्यवस्थापन : ४ सय
वार्षिक शुल्क
विज्ञान : १ लाख १५ हजार रुपैयाँ
व्यवस्थापन : ९७ हजार रुपैयाँ
२७. लिटिल एन्जल सेकेण्डरी स्कुल, ललितपुर

सातदोबाटो गोदावरी रोडस्थित लिटिल एन्जल सेकेण्डरी स्कुल (एलए) विद्यार्थीलाई केन्द्रमा राखेर पठनपाठन गराउँदैं आएको छ । इन्ट्रान्सदेखि नै कलेजले राम्रा विद्यार्थीहरु छनोट गरेर भर्ना लिने गरेकाले लिटिल एन्जल मावि उत्कृष्ट नतिजा दिन सफल रहेको माविका प्रिन्सिपल कृष्णदत्त अवस्थी बताउँछन् ।
‘प्रवेश परीक्षामार्फत उत्कृष्ट विद्यार्थी भर्ना, कमजोर विद्यार्थीलाई एक्स्ट्रा क्लास, प्रोजेक्ट वर्क, प्रायाक्टिकल सिकाइलाई बढी महत्व र विद्यार्थीहरुको व्यक्तिगत हेरचाहमा बढी जोड दिएका कारण हामीले उत्कृष्ट नतिजा ल्याउँदैं आएका छौं,’ अवस्थी भन्छन् । माविले विभिन्न प्रकारका एक्टीभिटिज, पब्लिक स्फिकिङ, नेतृत्व विकास, पटक—पटक टेष्टहरु, परीक्षा केन्द्रीत प्रयाक्टिस गराउँदैं आएको छ । २८ वर्षदेखि ११ र १२ कक्षा पढाइरहेको लिटिल एन्जल्सले दुई पटक उत्कृष्ट माविको अवार्ड पाएको छ । माविले गत वर्षबाट विद्यार्थीलाई ११ र १२ मा अध्यापन गराउने सिट संख्या पनि घटाउँदैं लगेको छ ।
सिट संख्या
विज्ञान : २ सय ४०
व्यवस्थापन : २ सय
वार्षिक शुल्क
विज्ञान : १ लाख ३० हजार रुपैयाँ
व्यवस्थापन : १ लाख ५० हजार रुपैयाँ
२८. ख्वप सेकेण्डरी स्कुल, भक्तपुर

सामुदायिक विद्यालय भएर उत्कृष्ट नतिजाका कारण अब्बल माविमा पर्छ भक्तपुरस्थित ख्वप सेकेण्डरी स्कुल । वि.सं. २०५६ सालबाट कक्षा ११ र १२ को अध्यापन सुरु गरेको यस विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायको पढाइ हुन्छ । सामुदायिक विद्यालय भएकाले यहाँका सबै शिक्षक तथा कर्मचारीले सामुदायिक भावना राख्छन् ।
त्यसैले पनि ख्वप अब्बल मावि बन्न बल पु¥याएको प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘अब्बल नतिजाको कारण टिमवर्क, शिक्षकको मेहनत र डेडिकेशन हो,’ उनी भन्छन्, ‘हामीले इभालुएसन सिष्टम बनाएका छौं ।’ त्यसबाहेक प्रवेश परीक्षाबाट उत्कृष्ट विद्यार्थीहरु छनोट, विद्यार्थी तथा अभिभावकको मेहनतका कारण पनि निरन्तर अब्बल नतिजा ल्याउन सकिएको उनको भनाइ छ ।
सिट संख्या
विज्ञानः ७ सय
व्यवस्थापनः ६ सय ५०
मानविकीः ९०
शिक्षाः ४०
कानूनः ५०
वार्षिक शुल्क
विज्ञान : ७२ हजार रुपैयाँ
व्यवस्थापन : ४६ हजार रुपैयाँ
मानविकी : ४६ हजार रुपैयाँ
कानून : ४६ हजार रुपैयाँ
शिक्षा : ३५ हजार रुपैयाँ
२९. हेराल्ड सेकेण्डरी स्कुल, काठमाडौं

बसुन्धारास्थित हेराल्ड सेकेण्डरी स्कुल निरन्तर उत्कृष्ट शैक्षिक नतिजाका कारण अब्बल माविका रूपमा परिचित छ । विद्यार्थीको सूक्ष्म निगरानी, क्लोज एजुकेशन सिस्टम, अनुभवी फ्याकल्टी टिम र प्रविधिमैत्री शिक्षण प्रणालीका कारण हेराल्डले आफ्नो बेग्लै शैक्षिक पहिचान बनाएको छ ।
विद्यालयका प्रिन्सिपल विनोद रेग्मीका अनुसार विद्यार्थीलाई दिइने व्यक्तिगत शैक्षिक निगरानी, मनोसामाजिक परामर्श, गेष्ट लेक्चर र अभिभावकसँगको नियमित समन्वय नै हेराल्डको सफलताको मुख्य आधार हो । वि.सं. २०६४ देखि कक्षा ११ र १२ अध्यापन सुरु गरेको हेराल्डले होटल म्यानेजमेन्टअन्तर्गत ट्राभल एन्ड टुरिज्म अध्ययन गर्ने विद्यार्थीका लागि वाल क्लाइम्बिङ र स्काई वाकजस्ता व्यवहारिक अतिरिक्त सुविधा उपलब्ध गराइरहेको छ । उत्कृष्ट भौतिक पूर्वाधार, अत्याधुनिक प्रयोगशाला, पर्याप्त खेल मैदान र अध्ययनमैत्री वातावरण हेराल्डका थप सबल पक्ष हुन ।
सिट संख्या
विज्ञानः ५ सय
व्यवस्थापन : ७ सय
कानुन : ४०
मनोविज्ञानः ८०
वार्षिक शुल्क
विज्ञानः १ लाख ५९ हजार रुपैयाँ
व्यवस्थापनः १ लाख २५ हजार रुपैयाँ
कानुन : १ लाख १० हजार रुपैयाँ
स्वास्थ्य : १ लाख १७ हजार रुपैयाँ
मनोविज्ञान : १ लाख १७ हजार रुपैयाँ
३०.नेशनल स्कुल अफ साइन्सेज सेकेण्डरी स्कुल, काठमाडौं

लैनचौरस्थित नेशनल स्कुल अफ साइन्सेज सेकेण्डरी उत्कृष्ट माविहरुको सूचीमा छ । विज्ञान संकायबाट पठनपाठन थालेको यो माविले केही वर्षयता व्यवस्थापन पनि अध्यापन गराइरहेको छ । सैद्धान्तिक र प्रयोगात्मक कक्षाको सन्तुलन, समस्या समाधान तथा परियोजनामूलक शिक्षण पद्धति, अभ्यास पुस्तिका निर्माण र त्यसमा आधारित असाइन्मेन्ट र दिगो सिकाइजस्ता विशेषताले यो स्कुल अब्बल माविको सूचीमा पर्न सफल भएको हो ।
‘गुणस्तरीय शिक्षण तथा उत्कृष्ट शैक्षिक उपलब्धिहरूमार्फत शैक्षिक उत्कृष्टताको विशिष्ट पहिचान बनाउन सफल भएको छ,’ स्कुलकी कार्यकारी निर्देशक प्रनिता शर्मा बरालले स्कुलको बेबसाइटमा भनेकी छन्, ‘फलस्वरूप, हाम्रा विद्यार्थीहरू नेपालभित्र तथा विश्वभर विभिन्न प्रतिष्ठित पेशा र उद्यमशीलताका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन् ।’ शिक्षकहरूलाई नवीनतम शिक्षण विधि र विश्वव्यापी उत्कृष्ट अभ्यासहरूसँग अद्यावधिक राख्न निरन्तर व्यावसायिक विकासमा पनि विद्यालयले विशेष ध्यान गरेको बरालको भनाइ छ ।
ताजा अपडेट
- नेपालका अब्बल ३० माविहरू
- अघि बढ्यो आठ वटा विश्वविद्यालयको उपकुलपतिका नियुक्तिको प्रक्रिया
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- नेपालका अब्बल ३० माविहरू
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय






तपाईको प्रतिक्रिया