बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोद पण्डितमाथि विद्यालय परिसरमै भएको आक्रमणको सीसीटीभी फुटेज सार्वजनिक भएपछि घटना चर्चामा आएको छ। गत असोज २२ गते भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै प्रधानाध्यापकमाथि आक्रमण हुनुको कारणबारे प्रश्न उठेका छन्।
सार्वजनिक भएको सीसीटीभी फुटेजमा सामान्य कुराकानी भइरहेका बेला एक युवकले प्रधानाध्यापक पण्डितमाथि हातपात गरेको देखिन्छ। घटनामा संलग्न रहेको आरोपमा निशाल दाहाल र उनलाई उक्साएको आरोप लागेका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरेलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाइएको छ।
प्रहरीका अनुसार दुवै जनामाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको जनाइएको छ।
के हो घटनाको पृष्ठभूमि ?
एजुकेशन समाचारसँगको कुराकानीमा प्रधानाध्यापक पण्डितले आफूमाथि भएको आक्रमणलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने विषयसँग जोडेर व्याख्या गरेका छन् । उनका अनुसार पूर्वअध्यक्ष घिमिरे पुनः व्यवस्थापन समितिको अध्यक्ष बन्ने तयारीमा थिए । त्यसका लागि आवश्यक पर्ने अभिभावकको हैसियत कायम गर्न उनले चार वर्षअघि कक्षा १२ उत्तीर्ण गरिसकेकी आफ्नी छोरीलाई पुनः कक्षा ११ मा भर्ना गराउन खोजेको पण्डितको दाबी छ ।
पण्डितका अनुसार उक्त भर्नाका लागि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) नम्बर आवश्यक पर्ने भएकाले उनले सम्बन्धित प्रक्रिया पूरा नगरी भर्ना गर्न नसकिने बताएका थिए । यही विषयमा आफूलाई दबाब दिइएको र आफ्नो अडानपछि अर्का व्यक्तिमार्फत आक्रमण गराइएको उनको आरोप छ ।
‘विद्यालय व्यवस्थापन समितिको सदस्य बन्नका लागि अभिभावक हुनैपर्छ। त्यही अभिभावक बन्ने मनसायले उहाँले चार वर्षअघि नै कक्षा १२ उत्तीर्ण भइसकेकी छोरीलाई फेरि कक्षा ११ मा भर्ना गराउन खोज्नुभएको थियो । मैले आईईएमआईएस नम्बर चाहिन्छ भनेपछि उहाँले जबर्जस्ती भर्ना गराउन दबाब दिइरहनुभएको थियो । मैले उहाँको आग्रह अस्वीकार गरेपछि ममाथि आक्रमण गर्न लगाउनुभयो,’ पण्डितले भने ।
उनको भनाइमा, भर्नासम्बन्धी विवाद नै आफूमाथि आक्रमण हुनुको मुख्य कारण हो । यद्यपि, घटनाको कारण र आरोपमा उल्लेखित व्यक्तिहरूको भूमिकाबारे प्रहरी अनुसन्धानको निष्कर्ष आउन बाँकी छ ।
यसअघि पनि दुर्व्यवहार भएको प्रधानाध्यापकको दाबी
प्रधानाध्यापक पण्डितले पूर्वअध्यक्ष घिमिरेबाट यसअघि पनि विद्यालयका शिक्षक तथा आफूले विभिन्न विषयमा दुर्व्यवहार भोग्नुपरेको दाबी गरेका छन्।
उनका अनुसार केही समयअघि नगरपालिकाको बैठक कक्षमा विद्यालयकै एक शिक्षकलाई दुर्व्यवहार गरिएको थियो। उक्त क्रममा शिक्षकको जनैसमेत चुँडालिएको पण्डितको भनाइ छ ।
‘उहाँको यो दुर्व्यवहार पहिलो होइन। केही समयअघि नगरपालिकाको बैठक हलमा हाम्रा एकजना शिक्षकमाथि दुर्व्यवहार गरी उहाँको जनै नै चुँडालिदिनुभएको थियो,’ पण्डितले भने ।
उनका अनुसार उक्त घटनामा पनि प्रहरीमा जाहेरी दिइएको थियो। तर, सामान्य छलफलपछि मेलमिलाप भएको उनले बताए ।
विद्यालय परिसरमै दिनदहाडै प्रधानाध्यापकमाथि हातपात भएको घटनाले शिक्षकहरूको मनोबलमा असर परेको पण्डितको भनाइ छ । उनले आफूलाई शारीरिक चोटसँगै मानसिक तनावसमेत भएको बताएका छन् ।
‘म मानसिक रूपमा पनि विचलित छु। यतिबेला ह्याम्स अस्पतालमा उपचार गराइरहेको छु,’ उनले भने ।
घटनापछि आफूले प्रशासनबाट न्याय पाउने अपेक्षा गरेको पनि पण्डितले बताएका छन्। ‘पक्कै पनि प्रशासनले हामीमाथि न्याय गर्छ भन्ने विश्वास लिएको छु,’ उनले भने।
विद्यालय शैक्षिक गतिविधि सञ्चालन हुने सुरक्षित स्थान हुनुपर्नेमा त्यही परिसरमा प्रधानाध्यापकमाथि हातपात भएको घटनाले शिक्षकको सुरक्षा र विद्यालय व्यवस्थापनमा देखिन सक्ने विवाद समाधानको प्रक्रियामाथि प्रश्न उठाएको छ ।
घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूको प्रतिक्रिया, विवादको अर्को पक्षको भनाइ तथा प्रहरी अनुसन्धानको अन्तिम निष्कर्ष प्राप्त भएपछि घटनाबारे थप तथ्य स्पष्ट हुनेछन् ।
ताजा अपडेट
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया