नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
काठमाडौं । कार्डियाक सोसाइटी नेपालले विश्व मुटु दिवसको पूर्वसन्ध्यामा पत्रकार अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपालमा मुटुरोगको अवस्था, उपचारमा भएका प्रगति, रोकथामका उपाय तथा हृदयघातका बिरामीलाई समयमै उपचारमा पुर्याउनुपर्ने आवश्यकताबारे विशेषज्ञहरूले पत्रकारसँग छलफल गरेका छन् ।
नेपालमा मुटुरोगको अवस्था, उपचार पद्धति र रोकथामका उपायबारे पत्रकारलाई तथ्यपरक जानकारी उपलब्ध गराई आम नागरिकसम्म सही सूचना प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सोसाइटीका महासचिव तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले बताए ।
कार्यक्रममा मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक तथा कार्डियाक सोसाइटी नेपालका पूर्वअध्यक्ष डा. रत्नमणि गजुरेलले नेपालमा मुटुरोगको अवस्था र यसबाट उत्पन्न चुनौतीबारे प्रस्तुति दिएका थिए ।

उनले विश्वभर मुटुरोग मृत्युको प्रमुख कारणका रूपमा रहेको उल्लेख गर्दै नेपालमा पनि मुटुरोगको अवस्था गम्भीर बन्दै गएको बताए । धेरै अवस्थामा मुटुरोगले सुरुवाती चरणमा स्पष्ट लक्षण नदेखाउने भएकाले यसलाई ‘साइलेन्ट किलर’का रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो । “यो साइलेन्ट किलर नै हो। यसलाई हत्यारा भन्दा पनि फरक पर्दैन,” उनले भने।
त्यस्तै, कार्डियाक सोसाइटी नेपालका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीले नेपालमा उपलब्ध मुटुरोग उपचारका विधि, उपचार क्षेत्रमा भएका उपलब्धि तथा आगामी सम्भावनाबारे प्रस्तुति दिएका थिए ।
उनले नेपालमा पछिल्लो समय मुटुरोगको उपचारमा उल्लेख्य प्रगति भएको जानकारी दिँदै विभिन्न जटिल प्रकृतिका मुटुरोगको उपचारसमेत नेपालमै सम्भव हुँदै गएको बताए । मुटुरोगको उपचारमा प्रविधि, दक्ष जनशक्ति र पूर्वाधारको विकासले उपचार सेवा विस्तारमा सहयोग पुगेको उनको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्माले मुटुरोगको रोकथाम तथा जोखिम न्यूनीकरणका उपायबारे जानकारी गराएका थिए । उनले हृदयघात भएका बिरामीलाई सकेसम्म छिटो अस्पताल पुर्याउन सके उपचारको प्रभावकारिता बढाउन तथा जटिलताको जोखिम कम गर्न सहयोग पुग्ने बताए ।

मुटुरोगबाट बच्न व्यक्ति स्वयं सचेत हुनुपर्नेमा जोड दिँदै डा. शर्माले स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम तथा स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे । धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहने, रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्ने तथा आवश्यकताअनुसार नियमित स्वास्थ्य परीक्षण गराउने जस्ता उपायले मुटुरोगको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने चिकित्सकहरूको भनाइ थियो ।
विशेषगरी हृदयघातका लक्षण देखिएमा समय खेर नफाली बिरामीलाई तत्काल अस्पताल पुर्याउनु आवश्यक रहेको विशेषज्ञहरूले बताए । मुटुरोगसम्बन्धी सही सूचना र जनचेतना विस्तारमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने भएकाले पत्रकारलाई तथ्यपरक जानकारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सोसाइटीले जनाएको छ ।

हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाइन्छ । यस वर्ष पनि कार्डियाक सोसाइटी नेपालले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व मुटु दिवस मनाउँदैछ ।
यस वर्षको विश्व मुटु दिवसको नारा “Don’t Miss a Beat” रहेको छ। नेपालमा पनि सेप्टेम्बर २९ का दिन राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरी विश्व मुटु दिवस मनाइने कार्डियाक सोसाइटी नेपालका अध्यक्ष डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।
विश्व मुटु दिवसको अवसरमा मुटुरोगसम्बन्धी जनचेतना विस्तार, स्वस्थ जीवनशैलीप्रति नागरिकलाई सचेत बनाउने तथा मुटुरोगको जोखिम न्यूनीकरणका लागि आवश्यक सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरिने सोसाइटीले जनाएको छ ।

ताजा अपडेट
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया