Techie IT
  • मंगलबार, कात्तिक १८, २०८३ / Tuesday, November 3, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ अन्तर्राष्ट्रिय विज्ञान प्रतियोगितामा अर्बाना स्कुलको निरन्तर सफलता, समृद्धिलाई रजत पदक

अन्तर्राष्ट्रिय विज्ञान प्रतियोगितामा अर्बाना स्कुलको निरन्तर सफलता, समृद्धिलाई रजत पदक


काठमाडौं। थाइल्यान्डमा सम्पन्न एसिया प्यासिफिक कन्फरेन्स अफ यङ साइन्टिस्ट्स (APCYS–2026) मा नेपाली विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा पदक तथा पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा अर्बाना स्कुल अफ साइन्सकी विद्यार्थी समृद्धि राजलक्ष्मी शाहले जीवन विज्ञान विधामा रजत पदक जित्नुका साथै उत्कृष्ट पोस्टर अवार्डसमेत प्राप्त गरेकी छन्।

अक्टोबर २५ देखि २९, २०२६ सम्म थाइल्यान्डमा आयोजित प्रतियोगितामा मंगोलिया, नेपाल, फिलिपिन्स, गुआम, इन्डोनेसिया, भारत, मलेसिया, मेक्सिको, ताइवान र थाइल्यान्ड गरी १० देशका विद्यार्थी टोली सहभागी भएका थिए। पाँच फरक विधामा सञ्चालन भएको प्रतियोगितामा नेपालबाट पाँच टोलीले सहभागिता जनाएका थिए।

समृद्धिले ‘Unveiling the Sting: Magic of Urtica dioica’ शीर्षकमा आफ्नो अनुसन्धान प्रस्तुत गरेकी थिइन्। सामान्यतया सिस्नोका रूपमा चिनिने Urtica dioica को वैज्ञानिक महत्त्व, गुण तथा सम्भावनाबारे केन्द्रित उनको अनुसन्धानले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा पाउँदै रजत पदक र उत्कृष्ट पोस्टर अवार्ड हासिल गरेको हो। उनको यो उपलब्धिले नेपाली विद्यार्थीहरूको अनुसन्धान क्षमता र वैज्ञानिक सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ।

प्रतियोगितामा नेपालका अन्य विद्यार्थीहरूले पनि उल्लेखनीय सफलता हासिल गरेका छन्। आशिमा भट्टराई र रितिशा तिवारीले ‘Preparation of Abelmoschus esculentus (Okra) Derived Biofilms’ शीर्षकको अनुसन्धानका लागि कांस्य पदक प्राप्त गरेका छन्। त्यसैगरी, वातावरण विज्ञान विधामा ‘Zero Waste: Future of Nepal’ शीर्षकको परियोजनाका लागि अभिरल गिरीले कांस्य पदक जितेका छन् भने कम्प्युटर विज्ञान विधामा ‘NEXUS: The Smart Helmet’ परियोजनाका लागि मनिष परियार र प्रमिश अधिकारीले कांस्य पदक प्राप्त गरेका छन्।

उत्कृष्ट पोस्टर विधामा पनि नेपाली विद्यार्थीहरूले सफलता हासिल गरेका छन्। जीवन विज्ञान विधामा समृद्धि राजलक्ष्मी शाहको ‘Unveiling the Sting: Magic of Urtica dioica’ अनुसन्धानले उत्कृष्ट पोस्टर अवार्ड प्राप्त गरेको छ भने कम्प्युटर विज्ञान विधामा रामकृष्ण न्यौपानेको ‘Load Bearing of Different Types of Bridges’ शीर्षकको अनुसन्धानले पनि उत्कृष्ट पोस्टर अवार्ड हासिल गरेको छ।

अर्बाना स्कुल अफ साइन्सले APCYS मा लगातार सफलता हासिल गर्दै आएको छ। विद्यालयका प्राचार्य राम तिवारीका अनुसार सन् २०२४ मा मलेसियामा आयोजित APCYS मा विद्यालयका विद्यार्थी प्रिन्स राज चौधरीले कम्प्युटर विज्ञान विधामा कांस्य पदक प्राप्त गरेका थिए। उक्त प्रतियोगितामा १२ भन्दा बढी देशका विद्यार्थी सहभागी थिए। त्यसैगरी, सन् २०२५ मा ताइवानमा आयोजित APCYS मा अर्बानाका विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेका थिए। यस वर्ष समृद्धिले रजत पदक र उत्कृष्ट पोस्टर अवार्ड हासिल गरेसँगै अन्तर्राष्ट्रिय विज्ञान प्रतियोगितामा विद्यालयको सफलताको यात्रा थप निरन्तर बनेको छ।

यसअघि सन् २०२५ डिसेम्बर २६ र २७ मा नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी (NIET) द्वारा आयोजित दसौँ यङ साइन्टिस्ट्स समिट (YSS) मा पनि अर्बाना स्कुल अफ साइन्सले आदिवासी ज्ञान तथा स्थानीय प्रविधि (Indigenous Knowledge and Local Technology–IKLT) विधामा स्वर्ण पदक प्राप्त गरेको थियो। उक्त सम्मेलनमा प्राप्त उपलब्धिपछि समृद्धि APCYS–2026 का लागि छनोट भएकी थिइन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी थिइन्।

विद्यालयका प्राचार्य राम तिवारीले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी अनुसन्धान, प्रयोग र सिर्जनात्मक परियोजनामा सहभागी गराउने विद्यालयको अभ्यासले अन्तर्राष्ट्रिय स्तरमा यस्ता उपलब्धि हासिल गर्न सहयोग पुर्‍याएको बताएका छन्। उनका अनुसार विभिन्न वर्षमा विद्यार्थीहरूले प्राप्त गरेका पदकले विद्यालयमा अनुसन्धानमुखी शिक्षण अभ्यासलाई थप प्रोत्साहन मिलेको छ।

अन्तर्राष्ट्रिय विज्ञान प्रतियोगितामा अर्बाना स्कुलका विद्यार्थीहरूले विभिन्न वर्षमा हासिल गरेका स्वर्ण, रजत तथा कांस्य पदकले नेपाली विद्यार्थीहरूको प्रतिभा, अनुसन्धान क्षमता र नवप्रवर्तनप्रतिको रुचिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याउँदै आएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको