बालेनको भारत भ्रमण: शिक्षा क्षेत्रमा के-के भए सहमति ?
काठमाडौँ, ७ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट नेपालको उच्च शिक्षामा नयाँ ढोका खुलेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने घोषणा गरेका छन्। जवाफमा प्रधानमन्त्री शाहले नेपालमा खुल्ने आईआईटीमा भारतीय विद्यार्थीसमेत पढ्न आउने वातावरण बनाउने बताएका छन्।
सोमबार नयाँ दिल्लीको हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना गर्ने घोषणा गरे। उनले नेपाली युवा प्रतिभा, ऊर्जा र ठूला सपनाले भरिएका रहेको भन्दै ती सपना पूरा गर्न भारत साझेदार बन्न प्रतिबद्ध रहेको बताए।
दुई देशबीच जारी संयुक्त प्रेस विज्ञप्तिको बुँदा २० मा पनि यो सहमति उल्लेख छ। विज्ञप्तिअनुसार भारतले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना गर्नेछ, जसले नेपालको शिक्षा क्षेत्रमा ‘फोर्स मल्टिप्लायर’ को काम गर्ने र रोजगारी सिर्जनामा पनि सघाउने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाइने बताए। “आगामी दिनमा भारतीय विद्यार्थी नेपालमा स्थापना हुने आईआईटीमा अध्ययन गर्न आउने वातावरण बनाउनेछौँ,” उनले भने। उनले भारतीय लगानीकर्तालाई नेपालमा स्वागत गर्दै भारतलाई भरपर्दो साझेदार भनेका थिए।
कुन आईआईटीले क्याम्पस खोल्ने, कहाँ र कहिलेदेखि सञ्चालन हुने, अनि भर्ना र शुल्कको व्यवस्था कस्तो हुने भन्ने विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन। भारतले यसअघि आईआईटी मद्रासमार्फत तान्जानियाको जान्जिबार (सन् २०२३) र आईआईटी दिल्लीमार्फत अबु धाबी (सन् २०२४) मा यस्तै अफसोर क्याम्पस खोलिसकेको छ।
नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयलाई नेपालमै क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्ने घोषणा गरेको थियो। प्रधानमन्त्री शाहको भारत भ्रमणमा भएको यो सहमतिसँगै उक्त नीतिगत प्रतिबद्धता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो सहकार्यलाई नेपालमा एउटा विदेशी शैक्षिक संस्था थपिने विषयका रूपमा मात्र नहेरी समग्र इन्जिनियरिङ शिक्षा, अनुसन्धान र नवप्रवर्तनको वातावरण बलियो बनाउने आधारका रूपमा लिनुपर्ने बताएका छन्। “नेपालको उच्च शिक्षा र दक्ष प्राविधिक जनशक्ति विकासको यात्रामा यो एक महत्त्वपूर्ण सुरुवात हो,” उनले भनेका छन्।
भ्रमणका क्रममा ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना’ शीर्षकमा संयुक्त दृष्टिकोण पत्र (जोइन्ट भिजन) जारी गरिएको छ। यसको छैटौँ स्तम्भ ‘शिक्षा र सीप विकास’ मा यी विषय समेटिएका छन्:
भारतीय शैक्षिक संस्थाका शाखा: प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाका शाखा वा क्याम्पस नेपालमा खोल्ने सम्भावना खोजिनेछ, जसको सुरुवात आईआईटीबाट हुनेछ।
नयाँ विषयमा छात्रवृत्ति: हाल सञ्चालित छात्रवृत्ति योजनाहरूलाई निरन्तरता दिँदै नेपाली विद्यार्थीका लागि कानुन, प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नयाँ विषयमा थप छात्रवृत्ति र तालिमका अवसर दिइनेछ।
प्राध्यापक र विज्ञ आदानप्रदान: दुई देशका प्राध्यापक र विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिनेछ। साथै शैक्षिक तथा तालिम संस्थाबीचको सहकार्य बलियो बनाइनेछ।
व्यावसायिक तालिम केन्द्र: भारतको सहयोगमा नेपालमा एउटा व्यावसायिक तालिम केन्द्र (भोकेसनल ट्रेनिङ इन्स्टिच्युट) स्थापना गरिनेछ। यसले नेपाली युवालाई उत्पादन, सेवा र उद्यमशीलताका क्षेत्रमा सीप र तालिम दिनेछ।
नालन्दा केन्द्र, कृषि र मेडिकल क्षेत्रमा पनि सहकार्य
दृष्टिकोण पत्रका अन्य स्तम्भहरूमा पनि शिक्षासँग जोडिएका सहमति छन्:
लुम्बिनीमा नालन्दा केन्द्र: लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘नालन्दा केन्द्र’ स्थापना गरी भारतको नालन्दा विश्वविद्यालयसँग सहकार्य बलियो बनाइनेछ।
कृषि: नेपालमा भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) को उत्कृष्टता केन्द्र (सेन्टर अफ एक्सिलेन्स) स्थापना गरिनेछ। दुई देशका प्रमुख कृषि विश्वविद्यालयबीच सम्बन्ध जोडिनेछ, र अधिकारी, किसान तथा उद्यमीका लागि तालिम सञ्चालन गरिनेछ।
मेडिकल शिक्षा: दुई देशका प्रमुख मेडिकल संस्थानबीच सम्बन्ध विस्तार गर्दै विद्यार्थी र प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिनेछ।
भ्रमणका क्रममा आदानप्रदान भएका आठ समझदारीपत्रमध्ये तीनवटा तालिम र प्राज्ञिक सहकार्यसँग सम्बन्धित छन्। तीमध्ये भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीबीच, राष्ट्रिय रक्षा विश्वविद्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच, तथा भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपाल प्रशासन प्रशिक्षण प्रतिष्ठानबीचका समझदारी छन्।
काठमाडौँस्थित भारतीय दूतावासका अनुसार भारतले नेपाली विद्यार्थीलाई वार्षिक करिब १,५०० छात्रवृत्ति वा सिट उपलब्ध गराउँदै आएको छ। सन् २००१ यता करिब ४० हजार नेपाली विद्यार्थी यस्ता छात्रवृत्तिबाट लाभान्वित भएका छन्। नयाँ सहमतिअनुसार कानुन, प्रविधि र एआईमा थप छात्रवृत्ति कति हुने भन्ने संख्या भने संयुक्त दृष्टिकोण पत्रमा उल्लेख छैन।
- # AI छात्रवृत्ति
- # IIT Nepal
- # आईआईटी क्याम्पस नेपाल
- # उच्च शिक्षा नेपाल
- # नालन्दा केन्द्र लुम्बिनी
- # नेपाल भारत शैक्षिक सहमति
- # नेपालमा आईआईटी
- # बालेन मोदी भेट
- # बालेन शाह भारत भ्रमण
- # भारतीय छात्रवृत्ति नेपाली विद्यार्थी
- # व्यावसायिक तालिम केन्द्र
- # सस्मित पोखरेल
ताजा अपडेट
- बालेनको भारत भ्रमण: शिक्षा क्षेत्रमा के-के भए सहमति ?
- एमबीबीएस, बीडीएस, नर्सिङदेखि फार्मेसी: कुन मेडिकल विषय पढ्न कति लाग्छ शुल्क ?
- चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो बीडीएस प्रवेश परीक्षाको नतिजा
- सामाजिक सञ्जालमा ‘तथ्यहीन र अपमानजनक’ अभिव्यक्तिप्रति प्याब्सनको कडा आपत्ति, कानुनी उपचारको चेतावनी
- म्यादी प्रहरी, अब डाक्टर !
- १८७.५ अङ्कसहित परार्थको ऐतिहासिक सफलता, बने एमबीबीएस इन्ट्रान्स टपर!
- माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्यो, मंसिर ७ देखि आवेदन दिन सकिने
- त्रिविले निकाल्यो बीबीएस प्रथम वर्षको नतिजा, चार विद्यार्थीलाई दुई वर्ष परीक्षा दिन रोक
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया