Techie IT
  • मंगलबार, मंसीर २, २०८३ / Tuesday, November 17, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्यो, मंसिर ७ देखि आवेदन दिन सकिने

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्यो, मंसिर ७ देखि आवेदन दिन सकिने


काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। आयोगले २०८३ कात्तिक ३० गते प्रकाशित गरेको विज्ञापनअनुसार इच्छुक तथा योग्य उम्मेदवारले आगामी मंसिर ७ गतेदेखि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

आयोगको विज्ञापन नं. ४५/०८३/८४ अनुसार नियमित दस्तुरमा आवेदन दिने अन्तिम मिति २०८३ पुस ७ गते तोकिएको छ। उक्त अवधिमा आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन्।

अध्यापन अनुमतिपत्रका लागि हुने परीक्षा लिखित तथा वस्तुगत प्रकृतिको हुनेछ। परीक्षाको मिति र समय भने आयोगले पछि प्रकाशन गर्ने जनाएको छ।

आवेदन दस्तुर एक हजार रुपैयाँ तोकिएको छ। दोब्बर दस्तुरसहित आवेदन दिँदा दुई हजार रुपैयाँ बुझाउनुपर्नेछ। उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ।

विषयअनुसार तालिममा छुटको व्यवस्था

शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम ९ बमोजिम तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पूरा गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन्।

विज्ञापनमा उल्लेख भएअनुसार विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन वा बाली विज्ञान विषयमा स्नातक गरेका व्यक्तिले तालिम नलिएको भए पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा उम्मेदवार बन्न सक्ने व्यवस्था गरिएको छ। यीबाहेक अन्य विषयका लागि तोकिएबमोजिमको तालिम अनिवार्य गरिएको छ।

आयोगका अनुसार नेपाली नागरिक नभएका, १८ वर्ष उमेर पूरा नगरेका, मगज बिग्रिएका, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका तथा भविष्यमा सरकारी सेवा वा शिक्षक सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन पाउने छैनन्। तोकिएको शैक्षिक योग्यता वा तालिम नपुगेका व्यक्तिसमेत परीक्षामा सहभागी हुन पाउने छैनन्।

अनलाइनबाटै आवेदन दिनुपर्ने

इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाइन पोर्टल https://license.tsc.gov.np/ मा गएर आवेदन दिन सक्नेछन्।

आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र, तालिमको प्रमाणपत्र तथा विदेशी शिक्षण संस्थाबाट अध्ययन गरेको भए समकक्षताको प्रमाणपत्र अपलोड गर्नुपर्नेछ।

अपलोड गरिने कागजात JPG, JPEG वा PNG फर्म्याटमा हुनुपर्नेछ। प्रत्येक फाइलको आकार न्यूनतम ७५ केबी र अधिकतम २०० केबी हुनुपर्ने आयोगले जनाएको छ।

आवेदन फाराम उम्मेदवार स्वयंले भर्नुपर्नेछ। फाराम बुझाउनुअघि व्यक्तिगत विवरण तथा अपलोड गरिएका कागजात सही भए–नभएको यकिन गर्नुपर्नेछ। राजस्व दस्तुर बुझाइसकेपछि विवरण परिवर्तन गर्न नसकिने भएकाले फाराम भर्दा विशेष सावधानी अपनाउन आयोगले आग्रह गरेको छ।

ई–सेवा, खल्ती र कनेक्ट आईपीएसबाट पनि भुक्तानी

आवेदन दस्तुर बुझाउन राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंक लिमिटेडमध्ये एउटा छनोट गर्न सकिनेछ। बैंकमा गएर भुक्तानी गर्नका लागि अनलाइन प्रणालीबाट भौचर तयार गरी प्रिन्ट गर्नुपर्नेछ।

त्यसैगरी अनलाइन भुक्तानीतर्फ कनेक्ट आईपीएस, ई–सेवा, खल्ती र आईएमई पेबाट रकम बुझाउन सकिने व्यवस्था गरिएको छ। भौचर तयार नगरी गरिएको भुक्तानी मान्य नहुने आयोगले स्पष्ट पारेको छ।

नियमित दस्तुरमा आवेदन दिने अन्तिम दिन पुस ७ गते राति ११:५९ बजेसम्म राजस्व प्रणालीबाट भौचर तयार गरी फाराम सबमिट गर्नुपर्नेछ। भौचर सोही दिन वा भोलिपल्ट बैंकिङ कारोबार हुने समयमा बुझाउन सकिनेछ। कुनै कारणले सम्भव नभए पुस १४ गतेसम्म बैंकिङ कारोबार हुने समयभित्र भौचरमा उल्लेखित दस्तुर अनिवार्य बुझाउनुपर्नेछ।

दोब्बर दस्तुरमा आवेदन दिने उम्मेदवारले भने पुस १४ गते राति ११:५९ बजेसम्म आवेदन प्रक्रिया पूरा गर्नुपर्नेछ।

एक प्रदेशबाट मात्र परीक्षा दिन पाइने

आयोगले लिखित परीक्षा सबै प्रदेशमा एकै दिन र एकै समयमा सञ्चालन हुने भएकाले उम्मेदवारले आफू सहभागी हुन चाहेको एउटा प्रदेश मात्र छनोट गर्नुपर्ने व्यवस्था गरेको छ। एक व्यक्तिले एकभन्दा बढी प्रदेशबाट आवेदन दिन पाउने छैन।

परीक्षा केन्द्र प्रदेश राजधानी रहेका जिल्लाका साथै आयोगले आवश्यकताअनुसार तोकेका अन्य जिल्लामा रहनेछन्। परीक्षा केन्द्रसम्बन्धी विस्तृत जानकारी पछि आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।

आयोगले उम्मेदवारलाई आवेदन फाराममा उल्लेख गरेका सबै विवरण र प्रमाणपत्र सही राख्नसमेत सचेत गराएको छ। न्यूनतम योग्यता नपुगेको वा गलत विवरण तथा कागजात पेस गरेको पाइएमा परीक्षा परिणाम प्रकाशित भइसकेको अवस्थामा समेत दरखास्त रद्द हुन सक्ने विज्ञापनमा उल्लेख छ।

अध्यापन अनुमतिपत्रसम्बन्धी थप जानकारी, पाठ्यक्रम तथा आवेदन प्रक्रियाका लागि आयोगको आधिकारिक वेबसाइट www.tsc.gov.np र अनलाइन आवेदन पोर्टल https://license.tsc.gov.np/ हेर्न सकिनेछ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको