Techie IT
  • बिहीबार, मंसीर ४, २०८३ / Thursday, November 19, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ म्यादी प्रहरी, अब डाक्टर !

म्यादी प्रहरी, अब डाक्टर !

कहिल्यै बधाई नदिने बुवा, आज भन्छन् धन्यवाद !


काठमाडौँ । निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी बनेर खटिएका एक युवा अब डाक्टर बन्ने बाटोमा छन्। चिकित्सा शिक्षा आयोग (MEC) को शैक्षिक सत्र २०८३/०८४ को एमबीबीएस (MBBS) एकीकृत प्रवेश परीक्षामा अल्फ्रेड साङ्केन राईले खुल्लातर्फ १४७औँ स्थान हासिल गर्दै पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन्।

घरको कमजोर आर्थिक अवस्था, म्यादी प्रहरीको जिम्मेवारी र प्रवेश परीक्षाको कडा तयारी, तीनैलाई सँगसँगै सम्हाल्दै उनले यो सफलता हात पारेका हुन्। उनको यो यात्राको पछाडि बुवा नरेन्द्र किराती राईको वर्षौँ पुरानो एउटा सङ्कल्प जोडिएको छ।

वर्दी र किताब सँगसँगै

घरको आर्थिक अवस्था कमजोर थियो। अध्ययन खर्च जुटाउन र परिवारलाई सघाउन अल्फ्रेड निर्वाचनका बेला म्यादी प्रहरीमा भर्ना भए। एकातिर निर्वाचन सुरक्षाको ड्युटी, अर्कोतिर मेडिकल प्रवेश परीक्षाको तयारी। दुवै जिम्मेवारी सँगसँगै बोक्दै उनले पढाइ छाडेनन्। हिमालयन कलेजबाट उच्च माध्यमिक तह पूरा गरेका अल्फ्रेडले काठमाडौँस्थित नेम इन्स्टिच्युट (NAME Institute) बाट प्रवेश परीक्षाको तयारी गरेका थिए।

कतारको अस्पतालमा लिएको सङ्कल्प

अल्फ्रेडको सफलताको जरो बुवा नरेन्द्र किराती राईको कडा अनुशासन र त्यागमा छ। वैदेशिक रोजगारीका क्रममा कतारमा रहँदा उनी बिरामी परे। अस्पतालमा डाक्टर खोज्दै भौँतारिनुपर्‍यो। त्यही पीडामा उनले अठोट गरे: सकेँ भने छोरालाई डाक्टर बनाउँछु। त्यसपछि छोराको पढाइप्रति उनी कठोर बने। कक्षा ९ मा सरकारी विद्यालयमा भर्ना गरिदिए, कक्षा १० पछि म्यानेजमेन्ट होइन विज्ञान पढ्नैपर्छ भने। एक दिन बुवाले विद्या चापागाईँको ‘हेर्नै कथा’ को ‘डाक्टरको गाउँ’ सपरिवार टिभीमा हेर्न लगाए। भोलिपल्ट छोरालाई सोधे, कस्तो लाग्यो? अल्फ्रेडको जवाफ थियो, “म कोसिस गर्छु।” आज त्यही कोसिस सफल भएको छ।

‘बधाई भन्दा पनि आलाङ्ने’

छोराले छात्रवृत्तिमा नाम निकालेपछि बुवा नरेन्द्रले सामाजिक सञ्जालमा आफ्नो भावना यसरी लेखेका छन्:

“आज भन्नैपर्‍यो : छोराको लागि म अलिक कठोर पापा परेँ। उसलाई उसको लाइनमा कहिल्यै हिँड्न दिइनँ, कक्षा १ देखि १२ सम्म पास गर्दै जाँदा बधाई पनि भनिनँ। सरकारी स्कुलमा पढ्नुपर्छ भन्दै कक्षा ९ मा जबरजस्ती नाम लेखाइदिएँ, लाहुरे बन्न कोसिस गर्छु भन्दा त्यस्तो कुरा मैले सुन्न नपरोस् फेरि–फेरि भनेँ।

कक्षा १० पास गरेपछि म्यानेजमेन्ट पढ्छु भन्यो, होइन साइन्स नै पढ्नुपर्छ भन्ने, जेन–जी आन्दोलनमा जानुपर्छ राजनीति नजाने पनि बुझिराख्नुपर्छ भनेर जबरजस्ती गरेँ। गइस् कि गइनस् भिडियो–फोटो पठा भनेँ; पहिलो दिन गयो, दोस्रो दिन गोली चलेर गएन। आन्दोलनपछि चुनावमा म्यादी प्रहरीमा पठाएँ। घरको चार कुनाभित्र जन्मदिन मनाउने कुरा सुन्न नपरोस् भनेँ!

एकदिन विद्या चापागाईँको ‘डाक्टरको गाउँ’ हेर्नै कथा सेन्ड गरेर आमादेखि सपरिवार टिभीमा हेर्न लगाएँ। भोलिपल्ट छोरालाई सोधेँ, कस्तो लाग्यो? छोराले भन्यो— राम्रो लाग्यो। त्यसो भए तैँले पनि अब डाक्टर बन्नुपर्छ। छोरा चुपचाप बस्यो, फोर्स गर्दै भनेँ, उत्तर आयो— म कोसिस गर्छु। र, आज नाम निस्किएछ।

कुनै समय म कतारमा कार्यरत हुँदा बिरामी भएर हस्पिटलमा डाक्टर खोज्दै जाँदा मैले सङ्कल्प गरेको थिएँ, म सकेँ भने छोरालाई डाक्टर बनाउँछु भनेर। त्यो मेरो सङ्कल्प पूरा गर्ने बाटोमा छोरा लागेकोमा छोरालाई बधाई भन्दा पनि धन्यवाद र मेरो आशीर्वाद दुवै भन्न चाहेँ। छोरालाई पितृ माङको आशीर्वाद सधैँ मिलोस्!

अहिलेसम्म छोरालाई कहिल्यै पनि बधाई दिइनँ र आज एमबीबीएस खुल्लातर्फ र्‍याङ्क १४७ छात्रवृत्ति पाएकोमा छोरालाई बधाई भन्दा पनि आलाङ्ने (धन्यवाद) साथै आशीर्वाद भन्छु।”

वर्दीदेखि एप्रोनसम्म

अल्फ्रेड अब म्यादी प्रहरीको वर्दी फुकालेर डाक्टरको सेतो एप्रोन लगाउने तयारीमा छन्। कतारको अस्पतालमा बुवाले देखेको सपना अब छोराको मेहनतमार्फत पूरा हुने बाटोमा छ। बुवा-छोराको यो कथाले अहिले सामाजिक सञ्जालमा धेरैलाई भावुक र प्रेरित बनाएको छ। आर्थिक अभाव भएपनि अठोट र मेहनत भए सपना पूरा हुन्छ भन्ने उदाहरण बनेका छन्, अल्फ्रेड र उनका बुवा।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको