Techie IT
  • शुक्रबार, वैशाख ४, २०८३ / Friday, April 17, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारजहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !

जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !


काठमाडौं । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधारका अनेक प्रयास भइरहेका बेला एउटा फरक र प्रभावकारी अभियानले धेरैको ध्यान तानेको छ । त्यो हो— साथी शिक्षक कार्यक्रम ।  ‘साथी शिक्षक’— नाम सुन्दा सामान्य लाग्न सक्छ , तर यसभित्र लुकेको कथा असाधारण छ । यहाँ शिक्षक केवल पाठ्यपुस्तकका अध्याय पढाउने पात्र होइनन्, उनीहरू विद्यार्थीका साथी हुन्, प्रेरणा हुन् र भविष्यप्रतिको भरोसा हुन् ।

जहाँ शिक्षकको अभाव छ, जहाँ विद्यार्थीले गणित देखेर डराउँछन्, अंग्रेजी सुन्दा अलमल्ल पर्छन्— त्यहीँ पुग्छन् साथी शिक्षक । उनीहरू केवल पढाउन जाँदैनन् । विद्यार्थीका साथी बन्छन्, आत्मविश्वास जगाउँछन्, सिकाईलाई रमाइलो बनाउँछन् र भविष्यप्रति आशा भरिदिन्छन् ।

हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसीप (हेल्प) ले विगत सात वर्षदेखि स्थानीय पालिकासँग सहकार्य गर्दै यो अभियान सञ्चालन गर्दै आएको छ । शिक्षकहरुलाई पारिश्रमिक भने गाउँपालिकाहरूले नै उपलब्ध गराउँदै आएका छन् । विशेषगरी सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभावलाई केही हदसम्म सम्बोधन गर्दै सिकाइको स्तर उकास्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हेल्पका संस्थापक अध्यक्ष जिमी लामा बताउँछन् । ‘अझै धेरै सामुदायिक विद्यालयमा अंग्रेजी, गणितजस्ता विषय चुनौतीपूर्ण रहेका छन्,’ उनले भने, ‘यस्ता विद्यालयमा साथी शिक्षक पठाएर विद्यार्थीमैत्री वातावरणमा अध्यापन गराइँदै आएका छौँ ।’

६ वर्ष अघि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबाट सुरु भएको साथी शिक्षक कार्यक्रमले हालसम्म ४ वटा पालिकासँग सहकार्य गरिसकेको छ । सिन्धुपाल्चोककै मेलम्ची नगरपालिकामा समेत साथी शिक्षक कार्यक्रम सञ्चालन गरिएको थियो । हाल, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका र तनहुँको आबुखैरेनी गाउँपालिकामा साथी शिक्षक कार्यक्रम सञ्चालित छ । यसैवर्षबाट तनहुँकै बन्दीपूर गाउँपालिकामा पनि साथी शिक्षक कार्यक्रम बिस्तारित हुन लागेको अध्यक्ष लामाले जानकारी दिए ।

सातौँ समूह भित्रियो, पाँचौँ समूह विदा भयो

यस वर्ष हेल्पले सातौँ समूहका साथी शिक्षक तयार गरेको छ । उनीहरूलाई २४ दिनसम्म आवासीय तालिम दिएपछि शनिबार विशेष समारोहका बीच स्वागत गरिएको छ ।

त्यसै कार्यक्रममा दुई वर्षे कार्यकाल पूरा गरेका पाँचौँ समूहका साथी शिक्षकहरूलाई सम्मानसहित विदाइ गरिएको थियो । समारोहमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए भने शैक्षिक अभियन्ता डा. मिनाक्क्षी दाहाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन् ।

१५ विद्यालयमा ३० साथी शिक्षक

सन २०१९ बाट सुरु भएको यो कार्यक्रम हाल तीनवटा पालिकाका १५ वटा सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको छ । कार्यक्रममार्फत १५ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएको जनाइएको छ । कार्यक्रम संयोजक सुजित राईका अनुसार हाल ३० जना साथी शिक्षक विभिन्न विद्यालयमा कार्यरत छन् । यस वर्ष सातौँ समूहसमेत थपिएसँगै कार्यक्रमको दायरा अझ विस्तार हुने अपेक्षा गरिएको छ ।

‘कम स्रोतमा पनि उत्कृष्ट काम गर्न सिक्यौँ’– साथी शिक्षक सुस्मिता

कार्यक्रममा गणित विषयकी साथी शिक्षक सुस्मिता थापाले आफ्नो अनुभव सुनाउँदै साथी शिक्षक कार्यक्रमले आफूलाई धेरै कुरा सिकाएको बताइन् । ‘कम स्रोत साधनमै उत्कृष्ट काम गर्न सिक्यौँ । शैक्षिक सामग्री निर्माण गर्न सिक्यौँ । समुदायसँग मिलेर काम गर्न सिक्यौँ । धैर्य गर्न सिक्यौँ,’ उनले भनिन् ।

‘कक्षाकोठा मात्र होइन, जीवन बदलिरहेका छन्’–डा. दाहाल

विशिष्ट अतिथि डा. मिनाक्षी दाहालले साथी शिक्षकहरूलाई समाजका आदर्श पात्रको संज्ञा दिँदै उनीहरूले विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याइरहेको बताइन् ।
त्यस्तै , त्रिपुरासुन्दरी गाउँपालिका का अध्यक्ष भक्तध्वज बोहोरा ले सामुदायिक विद्यालयमा साथी शिक्षकहरूको योगदान उल्लेखनीय रहेको बताए । उनले भने , ‘शिक्षक कस्तो हुनुपर्छ भन्ने कुरा साथी शिक्षकहरूले व्यवहारमै देखाइदिनुभएको छ ।’

‘साथी शिक्षकहरु समाजका रत्न हुन्’–गगन थापा

प्रमुख अतिथि गगन कुमार थापाले साथी शिक्षक कार्यक्रमलाई पवित्र अभियानको संज्ञा दिँदै सहभागी शिक्षकहरूको खुलेर प्रशंसा गरे । ‘तपाईंहरू केवल गणित , अंग्रेजी र विज्ञान पढाइरहनुभएको छैन । जीवन जिउने कला पनि सिकाइरहनुभएको छ । तपाईंहरू समाजका रत्न हो,’ उनले भने ।

आशा बाँड्ने अभियान

आज साथी शिक्षक कार्यक्रम केवल एउटा परियोजना बनेर सीमित छैन । यो सामुदायिक विद्यालयमा आशा बाँड्ने अभियान बनेको छ । जहाँ शिक्षक पुगेका छन्, त्यहाँ सिकाइमा परिवर्तन देखिएको कार्यकारी अध्यक्ष लामाले बताए । ‘जहाँ साथी पुगेका छन्, त्यहाँ विद्यार्थीमा आत्मविश्वास बढेको छ,’ उनले भने ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको