Techie IT
  • शनिबार, जेठ २, २०८३ / Saturday, May 16, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी

ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी


देशभरका हजारौं माविमध्ये पिनाकल एकेडेमी सेकेण्डरी स्कुल यस वर्ष एजुकेशन समाचारले छनोट गरेको नेपालका उत्कृष्ट ३० माविमध्ये छैटौँ स्थानमा पर्न सफल भएको छ । अझ विशेष कुरा त के भने— ललितपुर जिल्लाबाट उत्कृष्टताको प्रतिस्पर्धामा पिनाकल दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित भएको छ ।

विगत २८ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको पिनाकल पछिल्ला वर्षहरूमा विद्यार्थी तथा अभिभावकको विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । विज्ञान, व्यवस्थापन र कानुन संकायअन्तर्गत अध्ययन अध्यापन गराउँदै आएको यस कलेजले अनुशासित वातावरण, व्यवहारिक शिक्षण प्रणाली र विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएको छ ।

परम्परागत घोकन्ते शिक्षाभन्दा फरक शैलीको सिकाइ प्रणालीलाई आत्मसात् गरेको पिनाकलले विद्यार्थीलाई केवल परीक्षामुखी शिक्षामा सीमित राख्दैन । यहाँ विद्यार्थीको क्षमता, रुचि र भविष्यको लक्ष्यलाई ध्यानमा राखेर मार्गदर्शन गर्ने अभ्यासलाई विशेष महत्व दिइन्छ । यही कारण पिनाकलबाट अध्ययन गरेका विद्यार्थीले केवल शैक्षिक क्षेत्रमा मात्र होइन, खेलकुद, गायन, नृत्य, अभिनय तथा विभिन्न सिर्जनात्मक क्षेत्रमा समेत उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् ।

विद्यालयका प्रिन्सिपल डा. ऋषिप्रसाद तिवारीका अनुसार विद्यार्थीलाई पढाइमा केन्द्रित गराउने वातावरण निर्माणसँगै नियमित मूल्यांकन, वैयक्तिक काउन्सिलिङ र आवश्यक विद्यार्थीका लागि अतिरिक्त कक्षामार्फत सिकाइलाई थप प्रभावकारी बनाइँदै आएको छ । ‘हामी विद्यार्थीलाई केवल राम्रो अंकका लागि मात्र तयार गर्दैनौँ,’ उनी भन्छन्, ‘उनीहरूलाई भविष्यमा सक्षम, आत्मविश्वासी र जिम्मेवार व्यक्तित्वका रूपमा विकास गर्ने हाम्रो प्रयास रहन्छ ।’

पिनाकलको अर्को विशेषता भनेको यसको स्थायित्व र शैक्षिक निरन्तरता पनि हो । सुरुवातदेखि नै एउटै व्यवस्थापनको नेतृत्वमा अघि बढिरहेको यस संस्थाले विगतको उत्कृष्ट नतिजा र सार्वजनिक विश्वासलाई अझ मजबुत बनाउँदै आएको छ । दक्ष तथा समर्पित शिक्षक–शिक्षिका, अत्याधुनिक भौतिक तथा शैक्षिक पूर्वाधार, अनुशासित वातावरण र विद्यार्थीमैत्री शिक्षण प्रणाली पिनाकलका प्रमुख सबल पक्ष मानिन्छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम, गोष्ठी तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सक्रिय सहभागिताले पनि पिनाकललाई केवल शैक्षिक नतिजामा मात्र होइन, व्यक्तित्व विकास र नेतृत्व निर्माणमा समेत अब्बल बनाएको छ ।

देशभरका उत्कृष्ट माविहरुको छनोट गर्ने क्रममा एजुकेशन समाचारले राष्ट्रिय परीक्षा बोर्डको पछिल्ला तीन वर्षको कक्षा १२ को नतिजालाई मुख्य आधार बनाएको थियो । त्यससँगै भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, स्थापना वर्ष, उत्कृष्ट माविको पुरस्कार तथा पब्लिक पर्सेप्सनलाई समेत मूल्यांकनको आधार बनाइएको थियो । यही प्रतिस्पर्धात्मक मूल्यांकनमा पिनाकल एकेडेमी सेकेण्डरी स्कुलले देशभर छैटौँ तथा ललितपुरमा दोस्रो उत्कृष्ट कलेजका रूपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।

२८ वर्षदेखिको शैक्षिक विरासत, विद्यार्थीकेन्द्रित शिक्षण प्रणाली, अनुभवी फ्याकल्टी टिम र भविष्य निर्माणमा दिइने स्पष्ट मार्गदर्शनका कारण पिनाकल आज गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीका लागि विश्वासिलो नाम बनेको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको