Techie IT
  • बुधबार, जेठ २७, २०८३ / Wednesday, June 10, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठअपरचुनिटी/स्कलरसीपशिक्षामा गोकर्णेश्वरको नयाँ मोडल : नर्सिङ, फार्मेसीदेखि इन्जिनियरिङसम्म छात्रवृत्ति

शिक्षामा गोकर्णेश्वरको नयाँ मोडल : नर्सिङ, फार्मेसीदेखि इन्जिनियरिङसम्म छात्रवृत्ति

शिक्षामा गोकर्णेश्वरको ‘गेम चेन्जर’ योजना : विद्यार्थीलाई एकपछि अर्को छात्रवृत्ति


काठमाडौं । एसईई सकिएसँगै धेरै विद्यार्थी र अभिभावकको एउटै चिन्ता हुन्छ— “अब के पढ्ने ? कहाँ पढ्ने ? खर्च कसरी जुटाउने ?” गोकर्णेश्वर नगरपालिकाले भने यही चिन्तालाई सम्बोधन गर्ने गरी पछिल्लो समय शिक्षा क्षेत्रमा एकपछि अर्को विद्यार्थीमैत्री कार्यक्रम अघि सारिरहेको छ ।

कहिले एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई कक्षा ११ र १२ निःशुल्क पढाउने घोषणा, कहिले स्थानीय छोरीहरूलाई पीसीएल नर्सिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति, त कहिले इन्जिनियरिङ अध्ययनमै निःशुल्क अवसर । त्यसमाथि स्वास्थ्य शिक्षाका विभिन्न प्राविधिक विषयमा ‘जेन जी छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत छात्रवृत्ति घोषणा गरेपछि गोकर्णेश्वर अहिले शिक्षा क्षेत्रमा फरक र प्रभावशाली अभ्यास गर्ने स्थानीय तहका रूपमा चर्चामा छ ।

एसईईकाे नतिजा सार्वजनिक भए लगत्तै नगरपालिकाले एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई कक्षा ११ र १२ निःशुल्क अध्ययन गराउने घोषणा गरेको थियो । उक्त निर्णयले मेधावी विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै अभिभावकको आर्थिक भार कम गर्ने अपेक्षा गरिएको थियो । स्थानीय तहबाट यस्तो प्रकारको घोषणा विरलै हुने भएकाले  यो निर्णय व्यापक चर्चामा आएको थियो ।

त्यसपछि नगरपालिकाले ‘गोकर्णेश्वर नगर छोरी नर्सिङ कार्यक्रम’ ल्याउँदै एसईई उत्तीर्ण स्थानीय छात्रालाई पीसीएल नर्सिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने घोषणा गर्‍यो । आर्थिक अभावकै कारण स्वास्थ्य शिक्षा पढ्ने सपना अधुरो नहोस् भन्ने उद्देश्यसहित ल्याइएको यो कार्यक्रमलाई नगरपालिकाको महत्वाकांक्षी योजनाका रूपमा हेरिएको छ ।

यतिमै नगरपालिकाको शिक्षा अभियान रोकिएन । अब नगरपालिकाले ‘जेन जी छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत स्वास्थ्य शिक्षाका विभिन्न प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसाबर ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, फिजियोथेरापी असिस्टेन्ट, डेन्टल हाइजिनिस्ट, डिप्लोमा इन फार्मेसी, रेडियोग्राफर तथा अप्थाल्मिक असिस्टेन्ट अध्ययन गर्ने विद्यार्थीले उक्त छात्रवृत्ति पाउनेछन् ।

त्यस्तै, प्राविधिक शिक्षा अन्तर्गत इन्जिनियरिङ अध्ययनका लागि पनि नगरपालिकाले पूर्ण छात्रवृत्ति कार्यक्रम अघि सारेको छ । शंखरापुर बहुप्राविधिक शिक्षालयसँगको सहकार्यमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, हाइड्रोपावर इन्जिनियरिङ तथा अटोमोबाइल इन्जिनियरिङ अध्ययनका लागि ‘जेन जी छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत निःशुल्क अध्ययनको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । प्रत्येक कार्यक्रममा ४८ जनासम्मको कोटा निर्धारण गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले स्थानीय सरकार अब केवल सडक र भवन निर्माणमै सीमित हुन नहुने बताए । ‘स्थानीय सरकारले पूर्वाधार मात्रै होइन, अब विद्यार्थीको भविष्य निर्माणमा पनि लगानी गर्नुपर्छ,’ उनले भने, ‘आर्थिक अभावकै कारण कुनै विद्यार्थी पढाइबाट वञ्चित नहोस् भन्ने उद्देश्यले नगरपालिकाले योजनाबद्ध रूपमा छात्रवृत्ति कार्यक्रम अघि बढाएको हो ।’

उनका अनुसार नगरपालिकाको लक्ष्य गोकर्णेश्वरलाई शिक्षा र सीपको केन्द्रका रूपमा विकास गर्नु हो । ‘मेधावी विद्यार्थीलाई प्रोत्साहन गर्ने, प्राविधिक शिक्षा पढ्न प्रेरित गर्ने र स्थानीय युवालाई रोजगारीसँग जोड्ने हाम्रो दीर्घकालीन सोच हो,’ रिसालले बताए ।

स्थानीय सरकार गठनपछि धेरै पालिकाहरू अझै सडक, ढल र भौतिक पूर्वाधारमै केन्द्रित भइरहेका बेला गोकर्णेश्वरले भने शिक्षा क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम अघि सारेको चर्चा हुन थालेको छ । विद्यार्थीको आर्थिक भार कम गर्ने, प्राविधिक शिक्षामा आकर्षण बढाउने र स्थानीय युवालाई दक्ष जनशक्तिमा रूपान्तरण गर्ने लक्ष्यसहित ल्याइएका यी कार्यक्रमलाई धेरैले ‘गोकर्णेश्वर शिक्षा मोडल’ का रूपमा लिन थालेका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको