Techie IT
  • शनिबार, साउन १२, २०८१ / Saturday, July 27, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचाररिलायन्स साहित्य समाजद्वारा साहित्यकार प्रा.डा. पौडेल र युवा कवि हेम प्रभास सम्मानित

रिलायन्स साहित्य समाजद्वारा साहित्यकार प्रा.डा. पौडेल र युवा कवि हेम प्रभास सम्मानित


काठमाडौं । रिलायन्स साहित्य समाजद्वारा बरिष्ठ साहित्यकार प्रा.डा. हेमनाथ पौडेल र युवा कवि/गजलकार हेम प्रभास सम्मानीत भएका हुन् । ११५ औँ लक्ष्मी जयन्तीको सन्दर्भमा कपन मिलनचोकस्थित रिलायन्स इन्टरनेशनल कलेजमा आयोजित कवि गोष्ठी, स्रष्टा सम्मान कार्यक्रममा समाजले यस वर्ष पौडेल र प्रभावलाई सम्मानीत गरेको हो ।

समाजले प्रा.डा. पौडेललाई २५ हजार ५ नगद, प्रमाणपत्र, दोसल्ला र प्रभासलाई ११ हजार ५ नगद, प्रमाणपत्र र दोसल्लाले सम्मानित गरेको हो ।

नेपाली भाषा तथा साहित्यको उत्थान तथा संरक्षणका खातिर स्थापित समाजले विगत ११ वर्षयता स्रष्टा सम्मान गर्दै आएको छ । यसैगरी, समाजले तीन वर्षयता रिलायन्स युवा प्रतिभा सम्मानबाट सम्मान गर्दै आएका छ । जसअन्तर्गत प्रभास सम्मानीत हुने तेस्रो स्रष्टा हुन् । यसअघि य्ुवा प्रतिभा सम्मानबाट बलराम दाहाल, रुपक अलंकार सम्मानित भएका थिए ।

वरिष्ठ साहित्यकार तिल विक्रम नेम्वाङ (वैरागी काईंला)को प्रमुख आतिथ्यतामा सम्मानित कार्यक्रममा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाल विशेष अतिथिका रुपमा रहेका थिए ।

यसैगरी, छन्दकवि प्रा.डा. देवी नेपाल, सहित्यकार रमेश शुभेच्छु, प्रा.डा. रुद्र पौडेल, प्रा.डा. रोहित पौडेल, वरिष्ठ साहित्यकार कलानिधि दाहाल अतिथिका रुपमा रहेका थिए ।

औपचारिक कार्यक्रमको सुरुवातमा रिलायन्स साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् रिलायन्स शैक्षिक प्रतिष्ठानका सहायक प्रिन्सिपल दामोदर निरौलाले कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै समाजको बारेमा प्रकाश पारेका थिए । त्यस्तै, उनले कार्यक्रममा उपस्थित सम्पूर्णलाई ध्यान र योगका बारेमा जानकारी गराउँदै ध्यानको अभ्याससमेत गराएका थिए । साथै, रिलायन्सले हरेक कक्षा सञ्चालन गर्नुभन्दा अघि विद्यार्थीलाई २ मिनेट ध्यान गराउने गरिएको समेत जानकारी दिए ।

कार्यक्रममा बोल्ने क्रममा छन्दकवि देवी नेपालले रिलायन्स जस्तो शैक्षिक संस्थाले साहित्यको क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताए । ‘एउटा शैक्षिक संस्थाले नेपाली भाषा साहित्य जोगाउने उद्धेश्यले यस्तो अनुकरणीय कार्य गर्नु निकै राम्रो हो,’ कार्यक्रममा बोल्दै नेपालले भने, ‘यदि सबैले यसरी नै नेपाली भाषा र साहित्यका क्षेत्रमा योगदान पुर्याउने हो भने नेपाली भाषा र साहित्यको प्रवद्र्धन गर्न खासै गाह्रो पर्दैन थियो ।’ त्यस्तै, कवि रमेश शुभेच्छुले स्रष्टा सम्मानबाट सम्मानित प्रा.डा. हेमनाथ पौडेलको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमका विशेष अतिथि प्रा. पुरुषोत्तम दाहालले सम्मानित हुने दुवैजनालाई बधाई दिँदै यो सम्मानलाई निरन्तरता दिन समाजलाई उत्प्रेरित समेत गरे ।

कार्यक्रमका प्रमुख अतिथि व्याकुल माइलाले एउटा शैक्षिक संस्थाले यस्तो कार्यक्रम गर्नु विद्यार्थी, अभिभावक र समाजका लागि राम्रो काम भएको बताए । ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिको अवसरमा गरिएको काम आफैंमा उदाहरणीय कार्य हो,’ उनले भने, ‘एउटा शैक्षिक संस्थाले नेपाली भाषा साहियको उत्थानका लागि गरिएको कार्यक्रमलाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ ।’

सम्मानित भएसँगै युवा कवि तथा गजलकार प्रभासले आफूलाई थप जिम्मेवार बनाएको बताए । ‘यो सम्मान भन्दा पनि म माथि थिचिएको जिम्मेवारीको भारी भएको महसुश गरिरहेको छु,’ उनी भन्दै थिए, ‘यो जिम्मेवारीको भारीलाई जतिसुकै अप्ठेरो परिस्थितिमा पनि सहजै बिसाउन प्रयत्न गर्नेछु ।’

त्यस्तै, स्रष्टा सम्मानबाट सम्मानित प्रा.डा. पौडेलले समाजलाई धन्यवाद दिँदै साहित्यिक क्षेत्रमा लगानी गर्दै आएको समाजल राष्ट्रिय स्तरको संस्था भइरहेको बताए । रिलायन्स शैक्षिक प्रतिष्ठानले सुरुवाती दिनदेखि नै समाजको विश्वास प्राप्त गर्दै आइरहेको थियो । अब साहित्यिक क्षेत्रमा यसले पुर्याएको योगदान भविष्यमा स्वर्ण अक्षरले लेखिने उनले बताए ।

त्यस्तै, कार्यक्रममा अतिथिका रुपमा रहेका वरिष्ठ साहित्यकार कलानिधि दाहालले रिलायन्सको यो कार्यक्रमले गौरबमय इतिहास बोकेको बताए ।

कार्यक्रमका सभापति एवम् रिलायन्स शैक्षिक प्रतिष्ठानका सञ्चालक अध्यक्ष रविन्द्रजंग थापाले समाजले दुईदिने कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा आयोजक टीमलाई धन्यवाद दिए । त्यसैगरी, लामो समयदेखि साहित्यिक क्षेत्रमा आफ्नो दखल राख्दै आएको साहित्यकारलाई सम्मान गर्न पाउँदा गर्व अनुभूति भएको उनले बताए । ‘हामीले विगत ११ वर्षयता स्रष्टा सम्मान र तीन वर्षयता रियालन्स युवा प्रतिभा सम्मानद्वारा विभिन्न साहित्यकारहरुलाई सम्मानित गर्दै आएका छौँ,’ उनले भने, ‘नेपाली भाषा र साहित्यको संरक्षणमा हामी सधैँ दृढ छौँ यो सम्मान त्यसैको एक उदाहरण हो ।’

पछिल्लो समय नेपाली साहित्यमा श्रष्टाको जन्म भएता पनि श्रष्टाको सम्मान भने निकै कम हुने गरेको उनले दुःख व्यक्त गरे । ‘हामीले ज्ञान त दिन्छौँ तर ज्ञानलाई व्यवहारमा उतार्न हामीले सकेनौँ कि भन्ने लाग्छ,’ उनले भने ।

यस्तै, समाजले लक्ष्मी जयन्तीको सन्दर्भमा राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरेको छ । ‘महाकवि देवकोटाको प्रश्नोत्तर कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा’ शिर्षकमा भएको प्रतियोगितामा देशभरका २४ जना विद्यार्थीले सहभागिता जनाएका थिए । जसमध्ये पाँच फाइनालिष्टले दिएको आजको प्रस्तुतिबाट देवघाटस्थित महेश संस्कृत गुरुकुलका दिगविजय लामिछानेले प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै, जोरपाटीस्थित टाइमलाइन स्कुलकी छात्रा आर्या कार्की दोस्रो, रिपुमर्दिनी स्कुलका छात्र सुतृष्ण पौडेलले तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी, संस्कृत माध्यमिक विद्यालय रानिपोखरीका विजय तिमल्सिना र कान्ति भैरव गुरुकुलका गणेश पराजुलीले क्रमश चौथो र पाचौँ स्थान हालिस गरेका थिए । उनीहरुलाई नगद, प्रमाणपत्र र मेडलमार्फत पुरस्कृत गरिएको थियो ।

समाजका सचिव श्रीधरप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा रिलायन्स शैक्षिक प्रतिष्ठानका सञ्चालक सदस्य एवम् संस्थापक प्रिन्सिपल खेमलाल भुसाल, प्रतिष्ठानका सञ्चालक सदस्य मोतिकृष्ण श्रेष्ठ, सञ्चालक सदस्य राजुकुमार सिवाकोटी, सहायक प्रधानाध्यापक एवम् सञ्चालक सदस्य दामोदर निरौला, रिलायन्स कलेजका सहायक प्रधानाध्यापक एवम् सञ्चालक सदस्य नन्दुप्रसाद कुशुवाहा, सञ्चालक सदस्य महेश्वरी पहारी, प्रतिष्ठानका शैक्षिक निर्देशक विरेन्द्र कुरमा मेहता, रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल वसन्तलाल लामिछाने, रिलायन्स को–एडका प्रिन्सिपल दशरथ ज्ञवाफ, प्रतिष्ठानका प्रोमोटर ज्ञानेन्द्र कार्की, प्रतिष्ठानकी कम्पनी सचिव ललिता रिमाल, रिलायन्स को–एडमन सहायक प्रधानाध्यापक हरिप्रसाद आचार्य, रिलायन्स कलेजका कार्यक्रम संयोजक बलराम राई, कलेजका प्रमुख प्रशासक हेमबहादुर केसी लगायत विभिन्न साहित्य अनुरागीहरुको उपस्थिति रहेको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट