ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
युवा व्यवसायी राजन कँडेलले बेलायतमा रहेको आफ्नो व्यवसायलाई सन् २०११ मा नेपालमा विस्तार गरे । नेपालमा गुणस्तरीय ब्रिटिस एजुकेशन दिने उद्देश्यका साथ उनले थापाथलीस्थित ट्रेड टावरमा ‘वर्ल्ड क्लास इन्फ्रास्टक्चर’ बनाए । सम्भवतः त्यतिबेला कर्पोरेट कलेजहरुमा द ब्रिटिस कलेजको पूर्वाधार नम्वर वान थियो । त्यसपछि उनले लण्डनस्थित प्रतिष्ठित युनिभिर्सिटीको एफिलियसनमा स्वदेशमै बेलायती डिग्रीको सपना पूरा गर्ने नेपाली विद्यार्थीको चाहनालाई यथार्थतामा बदलें । १४ वर्षदेखि द ब्रिटिस कलेजले १० हजारभन्दा बढी विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय बेलायती डिग्रीबाट दीक्षित गरिसकेको छ ।
यो बीचमा द ब्रिटिस कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजन कँडेलले संसारका चार वटा महादेशसँगै नेपालमा पोखरा, चितवन र बुटवलमा समेत शिक्षामा लगानी विस्तार गरिसकेका छन् । तर, पछिल्ला केही हप्तादेखि ब्याचलर अफ हस्पिटालिटीका केही विद्यार्थीहरुले द ब्रिटिस कलेजको इन्टर्नसीप लगायतका विषयलाई लिएर विवाद सिर्जना गरिरहेका छन् । नेपालमा द ब्रिटिस कलेजको सुरुवात, विस्तार र पछिल्ला विवादको विषयलाई लिएर एजुकेशन समाचारले कलेजका सिईओ कँडेलसँग गरेको कुराकानीः
पछिल्लो समय द ब्रिटिस कलेज विवादमा छ । खास विवादको कारण के हो ? स्पष्ट पारिदिनुहोस् न ?
यो ठूलो समस्या होइन । १४ वर्षको इतिहासमा हामीले दशौं हजार विद्यार्थीहरुको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छौँ । हाम्रा अल्मुनाईहरु विश्वका विभिन्न कुनामा रहेर काम गरिरहनुभएको छ । नेपालमै पनि हाम्रा विद्यार्थीहरुले राम्रो काम गरिरहेका विवरण हामीसँग छन् । हामीले विद्यार्थीहरुलाई इन्टरनेशनल एक्स्पोजर होस् भन्ने उद्देश्यले एक वर्ष नेपालमा र दुई वर्ष दुबईमा अध्यापन गराउँदै आएका थियौँ । त्यसमध्ये होटल म्यानेजमेन्टमा अध्ययन गर्ने विद्यार्थीलाई दुबईमा लगिएको थियो । दुबईको त्यो कलेजमा नेपालबाट गएर झण्डै ५१ जना विद्यार्थी अध्ययन गर्छन् । तीमध्ये केही विद्यार्थीहरुलाई कुनै कुरामा चित्त नबुझेपछि उहाँहरु आक्रोशित हुनुभयो । त्यो ठूलो समस्या थिएन हामीले व्यवस्थापन पनि गरिरहेका थियौं । तर, उहाँहरु नेपालमा फर्किएर अनावश्यक रुपमा संस्थालाई विवादमा ल्याइदिनुभयो । त्यतिमात्र होइन, उहाँहरुले कलेजमा शिक्षक, कर्मचारीमाथिसमेत अभद्र व्यवहार गर्नुभयो । १४ वर्षे इतिहासमा यस्तो कहिल्यै भएको थिएन । त्यसैले हामी नै अचम्मित छौं । तर, हामी अभिभावक हौं, बच्चाहरुले गल्ती गरे भनेर उनीहरुको विरुद्धमा बोल्दैनौं । उनीहरुको चित्त बुझाउँछौँ । त्यसैतर्फ हामी लागिरहेका छौं ।
कलेजले ६ लाख रुपैयाँ लिएर सामान्य होटलमा इन्टर्नसीप गराएको, २ वर्ष पढाउँछु भनेर ६ महिनामै फिर्ता गरेको भन्ने आरोप छ नि ? यसबारे चाहिँ के भन्नुहुन्छ ?
हामीले विद्यार्थीहरु भर्ना लिँदा नै एक वर्ष नेपालमा पढ्ने र दुई वर्ष दुबईमा पढ्ने भनेर सम्झौता नै गरेका हुन्छौं । शुल्कका बारेमा पनि विद्यार्थीलाई पहिल्यै जानकारी दिइएको हुन्छ । त्यो डकुमेन्ट हामीसँग छ । यसअघि त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीहरु अहिले पनि अध्ययन गरिरहेका छन् । उनीहरु खुसी छन् ।
तर, जो विद्यार्थीहरु फर्किएर आए उनीहरु चाहिँ कोहीबाट परिचालित भए कि भन्ने पनि हामीलाई शंका लागिरहेको छ । यद्यपि, हामीले गर्नुपर्ने कुरा सबै गरेका थियौं । उनीहरुले चित्त बुझाएनन् । त्यो विषयमा हामीले विद्यार्थी तथा अभिभावकहरुसँग छलफल गरिरहेका थियौं । उहाँहरु समाधानको बाटोमा नगई एक्कासी हामीमाथि जाई लाग्नुभयो । फेरि अहिले सामाजिक सञ्जालमा हल्ला गर्ने, कलेजको बदनाम गर्नेहरु जति पनि छन्, ती दुबई गएका विद्यार्थी नै होइनन् र केही त हाम्रा विद्यार्थी पनि होइनन् । जो फर्किएका विद्यार्थीहरु हुन्, उनीहरुसँग हामीले उनीहरुका अभिभावकहरुसँग संवाद गरेर समस्या समाधान गरिसकेका छौँ ।
लामो समय काम गर्न लगाएको, श्रम शोषण गरेको भन्ने आरोप पनि छ नि ?
हामी शिक्षण संस्था हो । इन्टर्नसीपमा कति घण्टा काम हुन्छ, त्यो हामीसँग सम्बन्धित विषय होइन । हामीले विद्यार्थीलाई इन्टर्नसीपका लागि कुनै संस्थासँग भेटाइदिन्छौं । त्यहाँ उहाँहरुबीचमा के सहमति हुन्छ, त्यो हामीलाई थाहा हुँदैन । हामी कुनै म्यानपावर एजेन्सी होइन, हामी त शिक्षण संस्था हौं । हाम्रो जिम्मेवारी भनेको पढाउने र विद्यार्थीको वेलफेयरमा सपोर्ट गर्ने हो । अब इन्टर्नसीपमा कति काम गर्छ ? कुन दिन काम गर्न चाहन्छ ? वा चाहँदैन ? कस्तो—कस्तो दिनमा काम गर्ने भन्ने कुरा त्यो कम्पनी र विद्यार्थीबीच हुने सम्झौता हो । त्यसमा हामी आउँदैनौं । तर, ती हाम्रा नै विद्यार्थी भएकाले बीचमा उनीहरुलाई कुनै अप्ठ्यारो परेको कुरा हामीलाई भनेको भए, सहयोग गर्थ्यौं ।
तपाईंहरुले नेपालबाट दुबईमा विद्यार्थी पठाउने प्रक्रिया नै अवैध छ भनिनरहेका छन् नि ?
हामीले अहिलेसम्म नेपालको कानुनले जे—जे अधिकार दिएको छ, त्यो भन्दा माथि उठेर कुनै काम गरेका छैनौं । नेपालमा जति पनि हस्पिटालिटी कलेजहरु छन्, ती सबै कलेजहरुबाट विदेशमा इन्टर्न गर्न विद्यार्थीहरु लैजाने कुरा सामान्य हो । कानुनी रुपमा पनि यो सामान्य अभ्यास हो । हामीले विद्यार्थीहरुलाई सहजीकरण मात्र गरेका हौं । हामीले अवैध ढंगबाट कुनै काम गरेका छैनौं ।
यस्ता खाले घटनाले स्वदेशमै लगानी गर्छु भन्ने मानिसहरुका लागि कस्तो असर पार्ला ?
यसले पक्कै पनि नकारात्मक सन्देश गएको छ । नेपालमा विभिन्न समयमा भएका गतिविधिले धेरै नोक्सान भएका छन् । त्यसले पनि कतिपय कम्पनीहरु नेपालमा लगानी गर्न हिच्किचाइरहेका छन् । शिक्षाजस्तो पवित्र ठाउँमा असम्बन्धित व्यक्तिहरु आएर कलेज तोडफोड गर्ने प्रयास गर्नु भनेको त राम्रो हुँदै होइन । यसले अभिभावकलाई पनि त्रसित बनाएको छ । यसै त नेपाली युवाहरुले देश छोडिरहेको अवस्था छ । अब यस्ता खालका घटनाले त देशमा युवा नै नरहने खतरा हुन्छ ।
द ब्रिटिस कलेजमा भएको विवादका कारण यहाँ पढ्न चाहने विद्यार्थी तथा तिनका अभिभावकहरु अन्योलमा परेको देखिन्छ । त्यस्ता विद्यार्थी र अभिभावकलाई के सन्देश दिन चाहनुहुन्छ ?
यो केही विद्यार्थीहरुले वुद्धि नपुर्याएर थोरै गल्ती गरेका हुन् । हामी उनीहरुलाई सम्झाउने बुझाउने गर्छौंं । हाम्रो कलेजमा शैक्षिक गतिविधिहरु रोकिएको छैन । विद्यार्थीहरुले पाउने सुविधा सबै पाएका छन् । त्यसैले म सरोकारवाला सबैलाई ब्रिटिस कलेज नेपालको ऐन कानुन, बेलायतको युनिभर्सिटीको ऐन कानुन पालना गरेर अगाडि बढिरहेको बताउन चाहन्छु । हाम्रो १४ वर्षको सफल इतिहास छ । यहाँबाट दशौं हजार विद्यार्थीहरु विश्वका विभिन्न देशमा छन्, यही नै हाम्रो इतिहास हो । दुई तीन जना विद्यार्थीहरुको उच्छृंखल गतिविधिको पछि नलाग्नु हुन अनुरोध गर्दछु । र, हामीमाथि कुनै शंका छ भने सम्बन्धित निकायमा गएर बुझ्न पनि अनुरोध गर्दछु ।
यस्तो बेलामा सरकार तथा सरकोकारवाला निकायहरुबाट कस्तो अपेक्षा राख्नुहुन्छ ?
संस्थाका बारेमा कुनैबेला गुनासाहरु आउँछन् । दुवैपक्षको कुरा सुनेर निर्णय गर्न उहाँहरुलाई अनुरोध गर्दछु । हुन त उहाँहरुलाई विद्यार्थीहरु नै गएर गुनासो गरेपछि कतै संस्थाले नै अन्याय गर्यो कि भन्ने शंका लाग्नु स्वभाविकै हो । तर, केही असम्बन्धित मानिसहरुको हुल आएर कलेजमा तोडफोडको प्रयास गर्ने, शिक्षक, कर्मचारीमाथि जाइलाग्ने काम भएका छन् । यसमा शिक्षा मन्त्रालय लगायतका सम्बन्धित निकायले सहज ढंगबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने वातावरण मिलाइदिन अनुरोध गर्दछु । दुई चार जना विद्यार्थीको समस्यालाई हामी आफैं डिल गर्छौं तर अरु १५ सय जना विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुनिश्चित राज्यले गरिदेओस् भन्न चाहन्छु ।
यो घटनाबाट तपाईंले सिकेको पाठ के हो ?
हामीले गर्नुपर्ने जिम्मेवारी सबै पूरा गरेका छौं जस्तो लाग्छ । तर, केही मानिसहरुले सामाजिक सञ्जालमार्फत मलाई यति पैसा दे नत्र भने तेरो झन् बेइज्जत गरिदिन्छौं भन्नेजस्ता ब्ल्याकमेलिङ समेत भइरहेको छ । तर, हामी यस्ता कुराबाट बिचलित हुने छैनौं । हामी विधि र पद्धतिमा चलेको कलेज हौं । एक दुई जना विद्यार्थीले उट्पट्याङ काम गरे भन्दैमा हामी त्यसमा कम्प्रमाइज्ड गर्ने पक्षमा छैनौं । आजका दिनसम्म हामीले भर्ना गरेका र पढाएका विद्यार्थीहरु असल छन्, अनुशासित छन् । तर, केही पूर्व तयारीमा चाहिँ बस्नुपर्ने रहेछ भन्ने कुरा यो घटनाबाट सिकियो ।
ताजा अपडेट
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
- जथाभावी विद्यार्थीको कपाल मुण्डन नगर्न विद्यालयहरुलाई महानगरको आग्रह
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया