अष्ट्रेलियाबाट फर्केर म्यानेजमेन्ट कलेज हाँकिरहेकी ‘गुरुआमा’
पछिल्ला वर्षहरुमा म्यानेजमेन्ट एजुकेशनका लागि कहलिएको शैक्षिक संस्थामा पर्छ—शुभश्री कलेज अफ म्यानेजमेन्ट । बीबीए, बीएचएम, बीसीएसआइटीका ४ सयभन्दा बढी विद्यार्थी कलेजमा अध्ययरत छन् । फुलटाइम र पार्टटाइम गरी ८० जना फ्याकल्टी र कर्मचारी काम गर्छन् । निरन्तर प्रगतिपथमा लम्किइरहेको शुभश्रीको ‘हेड अफ इन्स्टिच्युट’का रुपमा शैक्षिक गुणस्तर, प्रशासनदेखि समग्र व्यवस्थापनको कुशल नेतृत्व गरिरहेकी छन्— मनिता ओली ।
मनिता काठमाडौं विश्वविद्यालयकी पिएचडी स्कलर पनि हुन् । हाल उनी ‘एजुकेशनल लिडरसीप’मा पिएचडी गर्दैछिन् । उनले अष्ट्रेलियाको प्रतिष्ठित युनिभर्सिटी अफ ब्यालरटबाट एमबीए गरेकी छन् । हाम्रो देशमा अष्ट्रेलिया र अमेरिकाजस्ता देशहरुमा पुगेपछि स्वदेश फर्किनु ‘परीको कथा’जस्तै हो । तर, त्यही ‘परीको कथा’की पात्र हुन्—मनिता । अष्ट्रेलिया प्रशस्त सम्भावना लत्याउँदैं आफूले सिकेको सीप र ज्ञान स्वदेशी भूमीमा खर्चने विशुद्ध उद्देश्यका साथ उनी १० वर्षअघि स्वदेश फर्किएकी हुन् ।
मुलुकमै व्यवस्थापनको विश्वस्तरीय संस्था बनाउने सपना देखेकी मनिताले नेतृत्व गरेको शुभश्री कलेज अफ म्यानेजमेन्टले यही शैक्षिक सत्रदेखि बीएससीएसआईटीमा ४३ जना विद्यार्थी पढाउँदैंछ । उनी म्यानेजमेन्ट कलेजहरुमा शुभश्रीलाई नयाँ उचाइमा लैजाने योजनाका साथ काम गरिरहेकी छन् । ‘त्यसका लागि भौतिक पूर्वाधार हामीसँग पर्याप्त नै छ । अब अनुसन्धान र व्यवहारिक सिकाइमा बढी जोड दिन्छौं,’ उनले भनिन्, ‘नेपालमा स्नातकोत्तरमा मात्रै अनुसन्धान गर्ने परम्परा छ तर हामी स्नातक तहमै विद्यार्थीहरुलाई अनुसन्धान गराउँदैंछौं ।’
पढ्दैं—कमाउँदैं, स्टार्टअप, इन्टर्नजस्ता कुरालाई पनि शुभश्रीले एकेडेमिक उपलब्धिको अभिन्न अंग बनाएको छ । त्यसका लागि कर्पोरेट हाउस, आईटी कम्पनी, बैंकलगायतका संस्थाहरुसँग सम्झौता गरेर इन्टर्नको संस्कृति बसाउन खोजिरहेका छ । शुभश्रीले इन्टरनल मार्कलाई जस्टिफाई गर्नका लागि पनि इन्टर्न र स्टार्टअपमा रुचिअनुसार विद्यार्थीलाई पठाउने र लगाउने योजना बनाएको छ । त्यसका लागि उसले विद्यार्थीलाई रुचि र खुबीलाई पहिचान गरेर काम गरिरहेको छ ।
रोजगारीको अभाव, कम आम्दानी, देखासिकी, फ्रिडमको खोजीका कारण बाहिरिरहेका युवापुस्तालाई स्वदेशमै फिर्ता गराउने कार्य चुनौतीपूर्ण छ । त्यो महत्वकांक्षी कामका लागि ‘ग्लोबल भिलेज’को अवधारणामा काम गर्न सक्नुपर्ने मनिता बताउँछिन् । चौथो सेमेष्टरदेखि नै शुभश्रीले इन्टर्नका लागि प्रोत्साहित गर्ने गरेको उनले सुनाइन् । ‘हामी विद्यार्थीको होलस्टीक विकासमा विशेष ध्यान दिन्छौं,’ उनले भनिन्, ‘रियल टाइम एक्सपेरियन्स फ्याकल्टीमार्फत विद्यार्थीलाई व्यवहारमुखी शिक्षा दिन खोजिरहेका छौं ।’ शुभश्रीले स्टार्टअप विजनेशका लागि काम गर्ने योजना बनाएको छ भने उद्यमशीलताका लागि विशेष कार्यक्रम नै गर्ने गरेको छ ।
शिक्षक कालरात्रीमा चम्किएको धुव्रताराजस्तै हुन्, जो अध्यारोमा पनि यात्रीलाई दिशा देखाउँछन् । १० वर्षदेखि गुरुआमाका रुपमा सक्रिय मनिता पनि विद्यार्थीलाई भविष्यको उज्यालो देखाइरहेकी छन् । मनिताको जन्म वि.सं. २०३४ सालमा मोरङमा भएको हो । बुवा जगदीशप्रसाद ओली र आमा चन्द्रकला ओलीकी चारजना सन्तानमध्ये उनी कान्छी हुन् । उनका बुवा जगदीशले झण्डै ३५ वर्षअघि नै सुनसरीमा पिस जोन स्कुल स्थापना गरेका थिए । त्यही कारण मनिता सुनसरीको इटहरीमै हुर्किइन् । ‘त्यो क्षेत्रकै पुराना स्कुलहरुमध्येमा हाम्रो स्कुल पर्छ,’ उनले सुनाइन्, ‘बहुदल लगत्तै बुवाले स्कुल खोल्नुभएको हो ।’
पढेलेखेका जगदीशले दार्जिलिङतिर शिक्षामा भएको प्रगति देखेका थिए । त्यहीकारण परिवर्तित समाजका नयाँ प्रकारको शिक्षा दिनुपर्छ भन्ने सोच उनको बन्यो । त्यही सोचअनुसार नै इटहरीमा पिस जोन स्कुल स्थापना गरे । शिक्षित परिवारमा जन्मिएका कारण मनिता र उनका दाजुदिदीहरु भाग्यशाली ठहरिए ।
मनिताका दुई दाजुको प्रारम्भिक शिक्षादीक्षा दार्जिलिङमा भयो । तर, उनको शिक्षादीक्षा भने इटहरीको आफ्नै स्कुलबाट अगाडि बढेको हो । ‘दाजुहरु पनि पछि नेपालमै फर्केर पढ्नुभयो,’ मनिताले सुनाइन्, ‘बुवाको केही समय स्कुलिङ भारतको रंगु भन्ने ठाउँमा भएकाले पनि स्कुल खोल्नुमा त्यो प्रभाव हुन सक्छ ।’ शिक्षामा राम्रो लगानी गर्नुपर्छ भन्ने धारणा उनका बुवाको छ ।
स्कुल जीवनमा निकै अनुशासनमा बस्नुपरेको मनिता सम्झिन्छिन्, प्रिन्सिपलकी छोरी भएकाले अझ उनीमाथि बढी अनुशासित बन्नुपर्ने दायित्व थियो । त्यो बेला बहुदल आएर भर्खरै फ्रीडम टु स्पीच पाइएको थियो भने बाहिरी संसारसँग जोडिदैं गरेका कारण नेपालमा थुप्रै परिवर्तनहरु पनि आउँदैं थिए । अंग्रेजीलाई विशेष महत्व दिइन थालिएको थियो । मनितालाई स्कुल जीवनमा विज्ञान र गणित रुचिका विषय थिए । साहित्य अनुरागी उनी क्वीज, हाजिरीजवाफ, भलिबल र दौडजस्ता खेलकूद गतिविधीमा पनि सक्रिय हुन्थिन् ।
वि.सं. २०४८ सालमा एसएलसीको पहिलो ब्याच निकालेको पिस जोनकी उनी वि.सं. २०५० सालकी अर्थात तेस्रो ब्याच हुन् । गरिमा शाहले बोर्ड फस्ट गरेको ब्याचकी उनले मोफसलबाट नै फष्ट डिभिजनमै एसएलसी उत्तीर्ण गरेकी हुन् । महिला त्यो पनि मोफसलबाट फस्ट डिभिजन त्यो बेला निकै कमले मात्रै यो उपलब्धि हासिल गर्थे । त्यही कारण मनितालाई सबैले विज्ञान पढ्न जोडबल गरिरहेका थिए । ‘तर, स्कुल जीवनमा विज्ञान मन परेपनि पछि त्यति रुचि लागेन्,’ उनले विज्ञान नपढ्नुको कारण सुनाइन् ।
काठमाडौं आएर पद्यकन्यामा मनिताले अर्थशास्त्र लिएर आईए अध्ययन सुरु गरिन् । हुनत उनका बुवाले पढाउनका लागि दार्जिलिङ लगेका थिए । तर, उनीहरु पुग्दा त्यहाँ होस्टेल प्याक भइसकेको थियो, बाहिर मातापिताको मनले राख्न मानेन । ‘हाम्रो पालामा नेपालमा छोरी मान्छे पढ्ने त पद्यकन्या नै थियो,’ मनिता भन्छिन्, ‘अहिले पनि पद्यकन्या भनेपछि आइफिल प्राउड ।’ उनका दाइहरु काठमाडौं बस्दा मामाघर बस्थे तर उनी भने पद्यकन्याको होस्टेलमा बसेर पढिन् । खुला ठाउँ, भिडभाडमुक्त वातावरण, स्वच्छ वातावरण, थोरै सवारी साधन उनले पहिलो पटक पाइला टेकेको काठमाडौंका विशेषता यस्तै दिए ।
पद्यकन्याको होस्टेलमा लाइफ लेसन पाएको अनुभव उनले सुनाइन् । मेस चलाउनुपथ्र्यो भने ७५ जिल्लाका दिदीबहिनीहरुसँग सहकार्य गर्नुपर्ने र मिलेर बस्नुपथ्र्यो । ‘फरक—फरक सोचाइ र कल्चरहरु पद्यकन्याको होस्टेलले सिकायो,’ उनले भनिन्, ‘मिलेर बस्ने, फरक भाषा र फरक संस्कृतिमा भिज्ने अवसर थियो । सिंगो देश मैले त्यही चिनेँ ।’ फरक क्षमता भएकाहरुसँग मिलेर काम गर्न पनि उनले त्यही बेला पाइन् । वि.सं. २०५३ सालमा उनले पद्यकन्याबाट आईए सकिन् । छोरीमात्रै पढ्ने कलेजको फरक माहौल, गेरुरंगी साडी, शिक्षकलाई गर्ने विशिष्ट सम्मान, हरेक वर्ष पैसा उठाएर जाने पिकनिकको सम्झना उनको स्मृतिपटलमा अझै ताजै छ ।
पद्यकन्याबाटै वि.सं. २०५७ सालमा उनले बीए पनि उत्तीर्ण गरिन् । बीए सकेपछि मनिताले प्लान इन्टरनेशनलमा पहिलो जागिर सुरु गरिन् । माओवादी सशस्त्र द्वन्द्व चुलिएका बेला प्लान इन्टरनेशलले विभिन्न ठाउँका कार्यालयहरु गाभ्न थाल्यो । त्यहीकारण कर्मचारी बढी भएपछि मनिता प्लानबाट झण्डै ६ महिनामै बाहिरिइन् । त्यसपछि उनले केही समय बुवाकै स्कुलमा पढाइन् । यहीबीच सन् २००७ मा उनी चाटर्ड अकाउण्टेन्ट निरज बस्नेतसँग विवाह बन्धनमा बाँधिइन् ।
मनिताका ठूला दाजु अष्ट्रेलिया थिए । माइला दाजु पनि डाक्टरी पढ्ने क्रममा देश बाहिर नै थिए । उनका ठूला दाजुले बहिनीले पनि अष्ट्रेलियामै आएर माष्टर्स गरिदिए हुन्थ्यो भन्ने इच्छा जाहेर गरे । सन् २००७ तिर नै मनिता पनि माष्टर्स पढ्नका लागि अष्ट्रेलिया गइन् । उनले भिक्टोरियाको युनिभर्सिटी अफ ब्यालारेटबाट एमबीए अध्ययन सुरु गरिन् ।
अष्ट्रेलियामा त्यतिबेला विद्यार्थीले २० घण्टा मात्रै काम गर्न पाउने कडा नियम थियो । घर नजिकैको डिपार्टमेन्टल स्टोरमा उनले एडमिनमा काम पाइन् । काम गर्दै पढाइलाई अगाडि बढाइन् । सन् २००९ मा उनले युनिभर्सिटी अफ ब्यालरटबाट एमबीए सकिन् ।
अष्ट्रेलियाको हेल्थकेयरबाट लोभिएकी मनिता र उनका श्रीमानले अष्ट्रेलियामै सन्तानको योजना बनाए । डाक्टर, नर्स, काउन्सिलर, सोसल वर्करलगायतका फरक—फरक पृष्ठभूमीका व्यक्तिहरुले बिरामीलाई निरन्तर गर्ने सपोर्ट नेपालको भन्दा भिन्न रहेको उनी बताउँछिन् । अस्पताल जान नसक्ने अवस्थामा स्वास्थ्यकर्मी घरमै आएर पनि सेवा दिने अष्ट्रेलियन हेल्थकेयर उनलाई मन पर्यो । दुई वटा सन्तान भएपछि उनीहरु सन् २०१४ मा नेपाल फर्किए ।
मनितालाई अष्ट्रेलियाबाट स्वदेश फर्किन के कुराले प्रेरित गर्यो ? भन्छिन्, ‘पहिलो त सुरुदेखि नै आफ्नो देश फर्किनुपर्छ भन्ने भावना । दोस्रो, मेरो श्रीमान चाटर्ड एकाउण्टेण्ट हुनुहुन्छ, उहाँको पनि हामीजस्तो मान्छे स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथै दुवैजनाको परिवार पनि यही भएकाले हामी फर्किऔं ।’ नेपाल फर्केपछि बच्चाहरु पनि सानै भएकाले उनले कन्सल्ट्यान्टका रुपमा केही कामहरु गरिन् ।
त्यहीबीच सन् २०१८ मा उनले ललितपुरस्थित क्याम्पियन कलेजमा कोर्डिनेटरका रुपमा काम सुरु गरिन् । क्याम्पियनमा काम गरेको ९ महिनामै उनको प्रिन्सिपलमा बढुवा भयो । सन् २०२२ मा उनले काठमाडौं विश्वविद्यालयमा पिएचडी अध्ययन सुरु गरिन् । समय व्यवस्थापन गर्न गाह्रो भएपछि उनले क्याम्पियनको जागिरबाट राजीनामा दिइन् ।
दुई महिनापछि पढाइको काम अलि कम भएपछि उनले कतै जागिर गर्ने सोच बनाइरहेकी थिइन् । ठीक त्यही बेला बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले उनलाई ‘हेड अफ द इन्स्टिच्युट’को पद अफर ग¥यो । त्यो प्रस्तावलाई उनले स्वीकार गरिन् । मनिता झण्डै तीन वर्षदेखि शुभश्री कलेज अफ म्यानेजमेन्टको शैक्षिक नेतृत्व कुशलतापूर्वक गरिरहेकी छन् । १०—१२ वर्षदेखि नेपालको शैक्षिक व्यवस्थापनमा संलग्न उनलाई के कुराले खुसी बनाउँछन् ? सार्वजनिक ठाउँहरुमा आफूलाई शिक्षिकाका रुपमा चिनाउने उनी भन्छिन्, ‘जति बच्चाहरु भेटेँ, उहाँहरुसँग सहकार्य गरेँ र उहाँलाई आफूले सिकेको ज्ञान दिएँ ती बच्चाहरुले राम्रो गरिरहेको देख्दा मन खुसीले रमाउँछ ।’ बाटोमा भेटिँदा पनि आफूले पढाएका विद्यार्थीहरुले ‘म्याम’ भनेर बोलाउँदा उनमा खुसीका तरंगहरु फैलिन्छन् । ‘आफूले पढाएका विद्यार्थीहरुले हासिल गरेको सफलता नै खुसीको कारण रहेछ,’ कुराको बिट मार्नुपूर्व उनले भनिन् ।
ताजा अपडेट
- हेल्पले माग्यो साथी शिक्षक, कात्तिक १ गतेदेखि आवेदन खुल्ने
- हेल्पद्वारा स्नातकोत्तर अध्ययनका लागि २ जना विद्यार्थीलाई १ लाख ६० हजार बराबरको छात्रवृत्ति प्रदान
- अब शिक्षकले मासिक रुपमा तलब पाउने, केन्द्रले सबै स्थानीय तहलाई दियो यस्तो निर्देशन !
- चिकित्साशास्त्र अध्ययन संस्थानको डिनका लागि तीन जनाको नाम सिफारिस
- बंगलादेश जाने सपना बोकेर काठमाडौं आउँदै गरेका जुम्ल्याहा दीपेश–दीपिका झ्याप्ले खोलामै अस्ताए
- आईओएमको डिनका लागि पाँच जनाको नाम सर्टलिष्ट
- आइतबारदेखि तीन दिनसम्म देशभरका सबै विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध
- सबै तहका परीक्षा स्थगित गर्ने सरकारको निर्णय, त्रिविले तोक्यो अर्को मिति
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू (भिडियोसहित)
- अष्ट्रेलियाबाट फर्केर म्यानेजमेन्ट कलेज हाँकिरहेकी ‘गुरुआमा’
- चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
- एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- NSL Nepal Open International Pickleball Tournament 2024: A Success Story
- नतिजाका आधारमा देशभरकै टप ५ भित्र मनास्लु वर्ल्ड कलेज
- माइनस १२ पावरको चश्मा मुक्त गराउने गरी माट्रिका आई सेन्टरले गर्यो सफल शल्यक्रिया
तपाईको प्रतिक्रिया