हेल्पद्वारा कक्षा ११ र १२ अध्ययनका लागि ७२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं । हेलम्बु एजुकेशन लाइभ्लीउड पार्टनरसीप (हेल्प) ले कक्षा ११ र १२ अध्ययनका लागि ७२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । हेल्पले शुक्रबार विगतका वर्षहरुमा जस्तै एक कार्यक्रम बीच देशभरका १२ जिल्लाका ७२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
सन् २००९ सालमा स्थापित संस्था हेल्पले सुरुवाती वर्षदेखि नै आर्थिक रुपमा बिपन्न, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । हालसम्म ६ सय ६५ जनाभन्दा बढी विद्यार्थीले यो छात्रवृत्ति प्राप्त गरिसकेको हेल्पका अध्यक्ष जिमी लामा बताउँछन् ।

यसवर्षको छात्रवृत्तिका लागि गत चैत्र २३ गतेदेखि वैशाख २९ गतेसम्म पहिलो चरणको आवेदन खुला गरिएको थियो । त्यसपछि दोस्रो चरणका लागि जेठ ७ गतेसम्म विद्यार्थीले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । आवेदन बुझाउने क्रममा विद्यार्थीले आफ्नो वैयक्तिक विवरणका साथै तीनवटा निबन्धसमेत बुझाउनेपर्ने थियो । त्यसैका आधारमा एक सय जना विद्यार्थी छनोट गरी अन्तर्वार्तामा सहभागि गराइएको हेल्पका अध्यक्ष लामाले जानकारी दिए । ‘एक सयजना मध्ये अन्तर्वार्ताबाट ७२ जना छनोट गरी छात्रवृत्ति प्रदान गरिएको हो,’ उनले भने ।

उनीहरुलाई जनही ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको लामा बताउँछन् । ‘हामीले प्रति विद्यार्थी ६० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्छौं,’ उनले भने, ‘उहाँहरुले आफैंले विद्यालय छनोट गरेर आफूले चाहेका विषयमा अध्ययन गर्न सक्नुहुनेछ ।’ हेल्पले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई सहजीकरण गर्नका लागि २५ जना मेन्टरको समेत व्यवस्था गरेको छ । ‘एकजना मेन्टरको भागमा तीन जना विद्यार्थी पर्नुहुन्छ,’ लामा भन्दै थिए, ‘उहाँहरुले विद्यार्थीहरुमा परेको समस्या बुझ्नुहुन्छ र समाधानका लागि संस्थालाई जानकारी गराउनुहुन्छ ।’
नेपाली चलचित्रका महानायक राजेश हमालको हातबाट प्रदान गरिएको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

हेल्पले विद्यार्थीलाई छात्रवृत्ति प्रदानसँगै समुदायमा शिक्षाको विकासका लागि महत्वपूर्ण कार्यक्रमहरु समेत गर्दै आएको छ । त्यसमध्येको एक हो– साथी टिचर्स प्रोगाम । हेल्पले सन् २०१९ बाट यो कार्यक्रम सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबाट सुरुवात गरेको थियो । जसले शैक्षिक सुधार र सुदृढिकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको यस कार्यक्रमकी संयोजक साधना श्रेष्ठ बताउँछिन् । ‘विद्यार्थीसँग शिक्षकले साथीजस्तो व्यवहार गरी उनीहरुलाई शिक्षक सिकाइ क्रियाकलापमा सहयोग गर्ने साथी टिचर्स प्रोग्रामको मूख्य उद्धेश्य हो,’ श्रेष्ठ भन्दै थिइन्, ‘विशेषगरी गणितीय ज्ञान र अंग्रेजी भाषिक सुधारका लागि हामीले एउटा विद्यालयमा २ जना साथी टिचर राखेका छौँ ।’
यो कार्यक्रम अन्तर्गत आवद्ध भएर पाँचौं व्याचका साथी टिचर्सहरुले काम गरिरहेको उनले बताइन् । ‘यो कार्यक्रममा आवद्ध भएर हालसम्म ३१ ज्नाले काम गरिसक्नुभएको छ,’ उनले भनिन्, ‘हामीले अहिले तनहुँको आबुखैरेनी गाउँपालिका, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी र पाँचपोखरी थाङपाल गाउँपालिकाका १३ वटा विद्यालयमा यो कार्यक्रम लागू गरिएको छ ।’ जसमा झण्डै एक हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष जोडिएको उनले जानकारी दिइन् ।

छात्रवृत्ति कार्यक्रममा बोल्ने क्रममा श्रेष्ठले साथी टिचर्स कार्यक्रमले विद्यार्थीहरुको शिक्षण सिकाइ क्रियाकलापमा उल्लेख्य सुधार ल्याएको बताइन् । ‘साथी टिचर्सले गर्दा विद्यार्थीहरुमा धेरै परिवर्तन देखा परेको छ,’ उनले भनिन्, ‘प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरु अंग्रेजीमा राम्रो हुँदै आएको छ । कक्षा कोठमा गरिने विभिन्न अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीले सहजै सिक्ने र शिक्षकलाई साथीका रुपमा लिन थालेका गरेका छन् ।’

कार्यक्रममा हेल्प स्कलरसीप कार्यक्रमका संयोजक रामहरी सापकोटाले विद्यार्थीलाई छात्रवृत्तिका साथै उनीहरुको वैयक्तिक विकास, मेन्टरसीप, करिअर डेभलपमेन्ट र फाइनान्सियल डेभलपमेन्टमा समेत सहयोग गर्ने बताए ।
कार्यक्रममा अतिथिका रुपमा रहेकी टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले छात्रवृत्ति पाउने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएकी थिइन् । कार्यक्रममा बोल्ने क्रममा उनले आफूले विद्यार्थी जीवनमा भोगेको भोगाइहरुसमेत विद्यार्थीहरुलाई सुनाएकी थिइन् । ‘सुख र दुःखको संगम नै जीवन हो,’ आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, ‘जीवनमा आउने अप्ठ्यारा अवस्था र निराशालाई आशामा बदल्नु नै सफलता रहेछ ।’

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि महानायक राजेश हमालले विद्यार्थीहरुमाझ प्रेरणादायी मन्तव्य दिएका थिए । कुनै पनि व्यक्तिले गर्ने कामले नै उसको भविष्य निर्धारण गर्ने उनले बताए । साथै, आजका युवाहरुमा योग्यता हुँदाहुँदै पनि धेरै महत्वाकांक्षी, अधैर्य हुँदा सफलता प्राप्त गर्नबाट बन्चित भइरहेको उनको भनाइ थियो । ‘जीवनमा धैर्यता, समर्पण, लगनशीलता, मेहेनत बिना केही पनि हासिल गर्न सकिँदैन,’ विद्यार्थीलाई उत्प्रेरणा भर्दै राजेश भन्दै थिए, ‘आफ्नो सपना र लक्ष्य पुरा गर्न आफूले गरेका काम कसरी गरिरहेको छु भन्ने बारे सोच्नुपर्छ ।’

त्यस्तै, सफलता प्राप्त गर्नका लागि आफ्नो क्षमता पहिचान गर्नुपर्ने हमालले बताए । ‘तपाईंहरुमा पनि केही न केही प्रतिभा छ त्यसलाई हिचान गर्न सक्नुपर्छ,’ उनले भने, ‘क्षमता पहिचान गरिसकेपछि त्यसलाई कसरी प्रस्फुटन गर्न सकिन्छ भन्ने कुरामा लागि पर्नुस् ।’
कार्यक्रममा हमालले आफ्नो सिने यात्राका क्रममा आएका आरोह अवरोहका बारेमा समेत बताएका थिए । ‘म चलचित्र क्षेत्रमा आउँदा यो क्षेत्रको न भूत थियो न भविष्य गतिलो देखिन्थ्यो तर म हाम फालेँ,’ उनी आफ्नो अनुभव सुनाउँदै थिए, ‘यदि सफल भएँ भने उदाहरणीय बन्छु सफल बन्न नसके मेरो सिकाइ हुन्छ भनेर लागेँ त्यसैले आज यो स्थानमा छु ।’

त्यस्तै, आजको युवाहरुमाथि सूचना प्रविधिको विकास बोझ बनिरहेको हमालले बताए । ‘यो ठूलो चुनौतिको कुरा हो । त्यसैले अब हरेक युवा सूचना र प्रविधिमा पोख्त नभइ हुँदै हुँदैन,’ उनले भने, ‘परिवर्तित प्रविधिमा अपडेट हुन सक्नुभएन भने तपाईं निष्क्रिय हुनुहुन्छ ।’
कार्यक्रममा हेल्पका अध्यक्ष जिमी लामाले छात्रवृत्ति पाउने विद्यार्थीलाई बधाई तथा उपस्थित सबैलाई धन्यवाद दिए । साथै, ७२ जना विद्यार्थी सबैले आफ्नो क्षमता प्रदर्शन गरेर छात्रवृत्ति पाएको लामाले बताए । ‘हामीले निकै पारदर्शी ढंगबाट यो छात्रवृत्ति प्रदान गरेका छौँ,’ उनले भने, ‘यो हामीले दिएको भन्दा पनि विद्यार्थीले आफ्नो क्षमताले पाएको छात्रवृत्ति हो ।’

छात्रवृत्तिका लागि विद्यार्थी छनोटमा हेल्पले अपनाएको विधिले भोलिका दिनमा विद्यार्थीहरुलाई नै सहयोग गर्नेसमेत उनले बताए । ‘हामीले जुन विधि अपनाएका छौँ,’ उनले भने, ‘यो प्रक्रियामा सामेल भएका विद्यार्थीले भोलिका दिनमा ठूला ठूला छात्रवृत्तिको परीक्षालाई सहजै सामना गर्न सक्छन् भन्ने हाम्रो विश्वास छ ।’

त्यस्तै, कार्यक्रममा स्नातकोत्तर अध्ययनका लागि २ जनालाई १ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति दिने घोषणा गरिएको थियो । एन्थोनी लन्च मेमोरियल स्कलरसीप फर पोष्ट ग्राजुएट्स इन नेपाल कार्यक्रमअन्तर्गत एक महिला र एक पुरुष गरी दुई जनालाई स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने लामाले जनाकारी दिए । उक्त छात्रवृत्तिका लागि आवेदनसमेत खुला गरिएको छ ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया