Techie IT
  • बिहीबार, पुस १०, २०८२ / Thursday, December 25, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारराजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी

राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी


काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजनीतिक दल र त्यसका भातृ तथा शुभेच्छुक संस्थामा आवद्धमा शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पुनले आइतबार ध्यानाकर्षण गराउँदै राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

‘मन्त्रालयको आधिकारिक इमेल, टेलिफोनलगायत विभिन्न सामाजिक सञ्जालमा अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज, शिक्षाविद् तथा सरोकारवालाहरूबाट श्रम ऐन, २०७४ तथा ट्रेड युनियन ऐन, २०४९ बमोजिम पेसागत हकहित र अधिकार प्राप्तिका लागि सौदाबाजी गर्न स्थापना भएका नेपाल शिक्षक महासंघ तथा नेपाल शिक्षक महासंघसँग आबद्धता लिएका पेसागत संगठनहरू र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेसागत संघसंगठनहरू पेसागत कर्तव्य, नैतिक दायित्व र पेसागत आचरणविपरीत राजनीतिक गतिविधिहरूमा संलग्न भएको र उक्त कारणले शैक्षिक गुणस्तर खस्किँदै गएको भनी व्यापक जनगुनासो प्राप्त भएको सन्दर्भमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्री पुनद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी पेसागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रबन्ध गरेको सर्वविदितै छ। कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिका लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु ।’

मन्त्री पुनले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसंगगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको बताएका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको