Techie IT
  • शनिबार, चैत्र २१, २०८२ / Saturday, April 4, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारबालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी

बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी


काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा १५ दिनभित्रै सार्वजनिक गर्ने गरी कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलमार्फत बोर्डलाई यस्तो निर्देशन दिइएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि बोर्डले नतिजा प्रकाशन प्रक्रिया छिटो बनाउने उद्देश्यसहित नयाँ कार्यविधि तयार गरेको छ । बोर्डका एक उच्च अधिकारीका अनुसार तयार गरिएको कार्यविधि मंगलबार बस्ने बोर्डको पूर्ण बैठकले पारित गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गर्ने तयारी गरिएको छ ।
‘सरकारको निर्देशनअनुसार १५ दिनभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कार्यविधि तयार गरिएको छ,’ ती अधिकारीले भने, ‘परीक्षालाई मर्यादित, भयरहित र निष्पक्ष बनाउने व्यवस्था पनि यसमा समेटिएको छ ।’

परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण

प्रस्तावित कार्यविधिअनुसार परीक्षा केन्द्रमै परीक्षा भएकै दिन सम्बन्धित विषयको उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरिनेछ । स्रोतकाअनुसार केन्द्राध्यक्ष, सुरक्षाकर्मी र सीसीटिभीको निगरानीमा उत्तरपुस्तिका जाँच गरिनेछ ।

त्यसपछि सोही दिन उत्तरपुस्तिका र प्राप्ताङ्क सिलबन्दी गरेर सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा पठाइने व्यवस्था मिलाइनेछ ।
स्रोतका अनुसार चालु वर्षका लागि कार्यविधिमार्फत परीक्षादेखि नतिजा प्रकाशनसम्मको काम अघि बढाइनेछ । आगामी वर्ष भने कानुनी व्यवस्था गरेर एसईई परीक्षा प्रदेश सरकार वा विद्यालयलाई नै जिम्मा दिने विषयमा पनि छलफल भइरहेको छ ।

प्रदेशअनुसार क्रमसः नतिजा

हालसम्म बोर्डले देशभरको एसईई नतिजा एकैपटक सार्वजनिक गर्दै आएको थियो । तर, प्रस्तावित व्यवस्थाअनुसार जुन प्रदेशको नतिजा पहिला तयार हुन्छ, त्यस प्रदेशको नतिजा क्रमसः सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको छ । परीक्षा केन्द्रबाट प्राप्ताङ्क सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाइनेछ । इकाइले सफ्टवेयरमा नतिजा प्रविष्ट गरेपछि बोर्डले क्रमशः नतिजा सार्वजनिक गर्ने व्यवस्था गरिनेछ ।

नतिजा सार्वजनिक भएपछि सम्बन्धित इकाइले उत्तरपुस्तिका प्रदेश कार्यालयमा पठाउनेछन् । प्रदेश कार्यालयबाट पुनर्योग, पुनःजाँच लगायतका काम सञ्चालन गर्ने व्यवस्था गर्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।  यद्यपि, प्राविधिक धारका विद्यार्थीका हकमा ओजेटी (अन द जब ट्रेनिङ) नम्बरका कारण के गर्ने भन्ने विषय भने कार्यविधिमा स्पष्ट उल्लेख गरिएको छैन । उक्त विषयमा बोर्डले छुट्टै निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्रीको अडानले कर्मचारी दबाबमा

एसईई नतिजा छिटो सार्वजनिक गर्ने विषयमा प्रधानमन्त्रीले अडान कायम राखेपछि बोर्डका कर्मचारीहरूमा दबाब सिर्जना भएको बताइएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणी पौडेलले मन्त्रीसमक्ष एसईई नतिजा सार्वजनिक गर्न कम्तीमा दुई महिना लाग्ने बताएका थिए । तर, प्रधानमन्त्रीले १५ दिनभित्रै नतिजा सार्वजनिक गर्नुपर्ने अडान दोर्होयाएपछि बोर्डभित्र दबाब बढेको स्रोतले जनाएको छ ।

मन्त्रालयका एक कर्मचारीले प्रधानमन्त्रीको भनाई उदृत गर्दै भने, ‘परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीको अंक बढ्ने वा घट्ने चिन्ता नगर्नुहोस्, १५ दिनभित्र नतिजा कसरी सार्वजनिक गर्न सकिन्छ त्यसको योजना ल्याउनुहोस् ।’

यस विषयमा राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)का परीक्षा नियन्त्रक टुकराज अधिकारी ले कार्यविधि तयार हुँदै गरेको पुष्टि गरे । तर बोर्डमा औपचारिक छलफल नभएसम्म यस विषयमा थप टिप्पणी गर्न नसकिने उनले बताए ।

यसवर्षको एसईई परीक्षा आगामी चैत १९ गतेबाट सुरु हुँदैछ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको