Techie IT
  • शुक्रबार, वैशाख ४, २०८३ / Friday, April 17, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन

 शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन


काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिका लागि ओजश्वी शेरचन को नाम टुंगिएको छ । प्रतिनिधि सभाका विभिन्न विषयगत समितिको नेतृत्व बाँडफाँट गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ले उक्त समितिको सभापतिमा शेरचनलाई अघि सारेको हो ।

स्वास्थ्य सेवा र अनुसन्धान क्षेत्रमा अनुभव हासिल गरेकी शेरचन अब शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिजस्ता महत्वपूर्ण क्षेत्रसँग सम्बन्धित नीति, योजना र सरोकारका विषयमा संसदीय नेतृत्व गर्ने जिम्मेवारीतर्फ अघि बढेकी छन् ।

शेरचन राष्ट्रिय स्वतन्त्र पार्टी बाट समानुपातिक सांसद बनेकी हुन् । अध्ययनशील र व्यावसायिक पृष्ठभूमिका कारण उनको नामलाई अर्थपूर्ण रूपमा हेरिएको छ । स्वास्थ्य क्षेत्रको अनुभव अब नीति निर्माणमा उपयोग हुने अपेक्षा गरिएको छ ।

डा. ओजस्वीको स्कुलिङ कालिङपोङको सेन्ट जोसेफ कन्भेन्टबाट भएको हो । प्लस टुको अध्ययन भने उनले युनिभर्सल कलेज काठमाडौंबाट पूरा गरिन् । सन् २००८ मा नेपाल मेडिकल कलेज अत्तरखेलबाट एमबीबीएस सकेकी डा. ओजस्वीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सन् २०१४ मा बायोकेमेष्ट्रीमा विशेषज्ञता हासिल गरेकी हुन् । डा. ओजस्वी अहिले नेपाल मेडिकल कलेजमा बायोकेमेष्ट्रीको एशोसियट प्रोफेसरका रुपमा कार्यरत छन् ।

समाज सेवामा समेत सक्रिय उनी ‘मिसेस नेपाल कल्चर—२०२३’ विजेता समेत हुन् । विभिन्न प्रतियोगिता जितिसकेकी उनले सन् २०१५ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मिड करिअर साइन्टीष्टको उपाधि पनि जितेकी थिइन् । त्यसबाहेक वौद्धिक प्रतिस्पर्धाहरुमा पनि उनले दरिलो उपस्थिती जनाउँदैं आएकी छन् ।

अब उनको नेतृत्वमा शिक्षा सुधार, स्वास्थ्य सेवाको गुणस्तर, प्रविधिको विस्तार तथा सम्बन्धित क्षेत्रका समस्यामाथि संसदमा गम्भीर बहस र प्रभावकारी पहल हुने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको