Techie IT
  • शुक्रबार, असोज ३०, २०८३ / Friday, October 16, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ कलेज ∕ सेन्ट लरेन्समा ३० औँ ब्याचको भव्य स्वागत, सम्पन्न भयो अभिमुखीकरण कार्यक्रम

सेन्ट लरेन्समा ३० औँ ब्याचको भव्य स्वागत, सम्पन्न भयो अभिमुखीकरण कार्यक्रम


काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजले कक्षा ११ मा भर्ना भएका ३० औँ ब्याचका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित भव्य समारोहबीच कार्यक्रम सम्पन्न भएको हो ।

३० औँ वर्षमा प्रवेश गरेको सेन्ट लरेन्स कलेज लामो समयदेखि देशकै उत्कृष्ट माविमध्ये एकका रूपमा स्थापित हुँदै आएको छ । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक–शिक्षिका, शान्त शैक्षिक वातावरण, अतिरिक्त क्रियाकलापमा जोड तथा कुशल व्यवस्थापनका कारण कलेज वर्षेनी सयौँ विद्यार्थीको रोजाइमा पर्दै आएको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले अतिथि तथा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै एसईई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई बधाई दिएका थिए । उनले आगामी दुई वर्ष विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा कलेज सधैँ साथमा रहने विश्वास व्यक्त गरे ।

‘अबको दुई वर्ष तपाईंहरू हामीसँगै हुनुहुनेछ । तपाईंहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा हामी सँगसँगै हुनेछौँ,’ उनले भने ।

महर्जनले विद्यार्थीलाई आफ्नो रुचि र चाहनाअनुसारको विषय छनोट गर्न सुझाव दिँदै भविष्यको सम्भावनाभन्दा पनि रुचिअनुसारको विषयमा मेहनत गरे सफलता हासिल गर्न सकिने बताए ।

कार्यक्रममा कक्षा १२ की छात्रा सुरुची केसीले सेन्ट लरेन्ससँगको एक वर्षको अनुभव साट्दै आफू कलेजमा भर्ना भएदेखि निराश हुन नपरेको बताइन् ।

‘गत वर्ष एसईई उत्तीर्ण गरेपछि म पनि उत्साह, अन्योल र दोधारका बीचमा थिएँ । तर, मभित्र सपना र इच्छाशक्ति पनि त्यत्तिकै थियो । जब म सेन्ट लरेन्समा भर्ना भएँ, आजसम्म निराश हुनुपरेको छैन,’ उनले भनिन् ।

शिक्षकहरूको तर्फबाट महेश तिमल्सिनाले विद्यार्थीहरूलाई स्वागत गर्दै मार्कसिटमा प्राप्त हुने प्राप्ताङ्कभन्दा पनि जीवनमा सफलता हासिल गर्न इमान्दारिता, लगनशीलता, अनुशासन र चरित्रमा उत्कृष्ट जीपीए ल्याउनुपर्ने बताए ।

‘अबदेखि तपाईंहरूले केवल गणितका सूत्र, विज्ञानका सिद्धान्त र व्यवस्थापनका विषयमा मात्र उत्कृष्ट जीपीए ल्याउने लक्ष्य नराख्नुस्,’ उनले भने, ‘अनुशासनमा उत्कृष्ट जीपीए ल्याउनुस्, मिहिनेतमा उत्कृष्ट जीपीए ल्याउनुस्, लगनशीलतामा उत्कृष्ट जीपीए ल्याउनुस्, इमान्दारितामा उत्कृष्ट जीपीए ल्याउनुस् र सबैभन्दा महत्त्वपूर्ण कुरा, चरित्रमा उत्कृष्ट जीपीए ल्याउनुस् ।’

कलेजका प्रिन्सिपल ताराप्रसाद सुवेदीले नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै आगामी दुई वर्ष जीवनकै अविस्मरणीय बन्ने बताए । उनले सेन्ट लरेन्सले किताबी ज्ञानसँगै जीवन विज्ञान र अतिरिक्त क्रियाकलापलाई पनि समान महत्त्व दिने उल्लेख गरे ।

‘हामीले विद्यार्थीलाई नौ वटा क्लबमा आबद्ध गराएर विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रोत्साहन गर्दै आएका छौँ,’ उनले भने ।

सुवेदीले सेन्ट लरेन्सले हासिल गरेको सफलतामा विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन पक्षको समान योगदान रहेको उल्लेख गर्दै कलेज देशकै उत्कृष्ट माध्यमिक विद्यालयमध्ये एकका रूपमा स्थापित हुँदै आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि हास्यकलाकार मनोज गजुरेलले विद्यार्थीहरूलाई सधैँ उच्च शिखरमा पुग्ने लक्ष्य राख्न सुझाव दिए । व्यंग्यात्मक शैलीमा प्रस्तुत भएका गजुरेलले आफ्ना जीवनका विभिन्न पाटाबारे अनुभव सुनाउँदै कुनै पनि क्षेत्रमा निरन्तर प्रयास र लगनशीलताले सफलता हासिल गर्न सकिने बताए ।

कलेजका अध्यक्ष केशवप्रसाद दंगालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौँ विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष दंगालले सेन्ट लरेन्सलाई प्लस टु अध्ययनको गन्तव्यका रूपमा छनोट गर्ने सबै विद्यार्थीप्रति आभार व्यक्त गरे ।

उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीले यस वर्ष पनि सेन्ट लरेन्सलाई आफ्नो शैक्षिक गन्तव्य बनाएको उल्लेख गर्दै विविध भूगोल, संस्कृति र प्रतिभा भएका विद्यार्थीको क्षमता उजागर गर्दै उनीहरूसँग सहयात्रा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामीकहाँ विभिन्न क्षेत्रबाट विविध प्रतिभा भएका विद्यार्थी आउनुभएको छ । हामी उहाँहरूको प्रतिभालाई उजागर गर्दै शैक्षिक यात्रामा सँगसँगै अघि बढ्नेछौँ,’ उनले भने ।

कार्यक्रममा सेन्ट लरेन्समा अध्ययन गरी विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्वविद्यार्थीलाई अभिनन्दनसमेत गरिएको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको