Techie IT
  • सोमबार, भदौ २२, २०८३ / Monday, September 7, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग

ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग


काठमाडौं । बाढी–पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ग्लोबल स्कुल अफ साइन्स (GSS) का विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग गरेका छन् ।

भोटेकोशी तथा त्रिशूली आसपासका क्षेत्रमा बाढी–पहिरोका कारण प्रभावित नागरिकको पीडामा ऐक्यबद्धता जनाउँदै विद्यार्थीहरूले आफ्नो तर्फबाट रकम संकलन गरी उद्धार कोषमा जम्मा गरेका हुन्। विद्यार्थीहरूको यो पहलले विपत्तिको समयमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

‘सानो योगदान, ठूलो जिम्मेवारी’ भन्ने भावनासहित गरिएको उक्त सहयोग केवल आर्थिक सहयोगमा सीमित नभई विपत्तिमा परेका परिवारप्रति विद्यार्थीहरूले व्यक्त गरेको साथ र सहानुभूतिको प्रतीकसमेत हो।

ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूले शिक्षासँगै समाज र समुदायप्रतिको जिम्मेवारीलाई पनि आत्मसात् गर्दै विपत्तिमा सहयोग गर्ने अभियानमा सहभागिता जनाएका हुन्। उनीहरूको यो प्रयासले विद्यार्थी जीवनदेखि नै सेवा, सहयोग र मानवताको भावना विकास गर्न शिक्षाको महत्वपूर्ण भूमिका हुने सन्देश दिएको छ।

यसअघि ग्लोबल कलेज ग्रुपले पनि बाढी–पहिरो प्रभावितका लागि २१ लाख रुपैयाँ सहयोग गरिसकेको थियो। समूहले विपत्तिमा परेका नागरिकलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले गरेको उक्त सहयोगपछि GSS का विद्यार्थीहरूले समेत आफ्नोतर्फबाट रकम जुटाएर मानवीय अभियानमा सहभागिता जनाएका हुन्।

विपत्तिको कठिन समयमा संस्थाले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको भावना विकास गर्न गरेको प्रोत्साहनको समेत प्रशंसा गरिएको छ। विद्यार्थीहरूले एकताबद्ध भएर गरेको यो प्रयासले सहयोगको मात्रा ठूलो वा सानोभन्दा पनि संकटमा परेकालाई साथ दिने भावना महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ।

ग्लोबल स्कुल अफ साइन्स तथा ग्लोबल कलेज ग्रुपले बाढी–पहिरोबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यका लागि प्रतिबद्ध रहेको जनाएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको