Techie IT
  • बिहीबार, असोज १, २०८३ / Thursday, September 17, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारबदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?

बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?


काठमाडौँ । नेपालको विद्यालय शिक्षाको पाठ्यक्रममा अब कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ, जलवायु परिवर्तन, नैतिक शिक्षा, संस्कार, सीप तथा उद्यमशीलताजस्ता विषयले थप स्थान पाउने सम्भावना देखिएको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनको तयारीमा रहेको पाठ्यक्रम विकास केन्द्रले देशभरबाट संकलन गरेको सुझावमा शिक्षालाई समयअनुकूल, व्यवहारिक र जीवनोपयोगी बनाउनुपर्ने आवाज बलियो देखिएको हो ।

केन्द्रले सातै प्रदेशका ४६ केन्द्रमा सञ्चालन गरेको सुझाव संकलन अभियानमा २५ हजारभन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय तह तथा अन्य सरोकारवाला सहभागी भएका छन् । कक्षाकोठामै पुगेर संकलन गरिएको सुझावमा वर्तमान पाठ्यक्रमको कार्यान्वयन अवस्था, देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारबारे धारणा लिइएको केन्द्रले जनाएको छ ।

सुझाव संकलनका क्रममा विद्यालय शिक्षालाई केवल परीक्षामुखी नभई व्यवहारिक र जीवनसँग जोड्नुपर्ने विषय प्रमुख रूपमा उठेको छ । बदलिँदो प्रविधिको युगअनुसार विद्यार्थीलाई तयार पार्न एआई र कोडिङजस्ता विषय पाठ्यक्रममा समेट्नुपर्ने सुझाव आएको छ । प्रविधि र आधुनिक सीपसँगै विद्यार्थीमा नैतिकता, संस्कार तथा सामाजिक उत्तरदायित्व विकास गर्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने धारणा सरोकारवालाले राखेका छन् ।

त्यस्तै, जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई विद्यार्थीको दैनिक जीवनसँग जोडेर सिकाउनुपर्ने सुझावसमेत आएको छ । सीप तथा उद्यमशीलतालाई विद्यालय तहदेखि नै प्राथमिकता दिँदै विद्यार्थीलाई भविष्यमा रोजगारी खोज्ने मात्र नभई अवसर सिर्जना गर्न सक्ने बनाउनेतर्फ पाठ्यक्रम केन्द्रित हुनुपर्ने सुझाव दिइएको छ ।

पाठ्यक्रमलाई थप लचिलो बनाउँदै विद्यार्थीले विद्यालयमा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्नेमा पनि जोड दिइएको छ । ‘बुक फ्री डे’ र ‘व्यागलेस डे’ जस्ता अभ्यासलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषयसमेत सुझावमा समेटिएको छ ।

पाठ्यक्रम परिवर्तनसँगै शिक्षकको क्षमता विकास र मूल्याङ्कन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ । नयाँ विषय र प्रविधि पाठ्यक्रममा समेटिए पनि शिक्षकलाई आवश्यक ज्ञान, सीप र स्रोतसाधन उपलब्ध गराउन नसके त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्ने धारणा सरोकारवालाले राखेका छन् ।

केन्द्रका अनुसार देशभरबाट प्राप्त सुझावसँगै विज्ञका १२ वटा थिमेटिक पेपर तथा विभिन्न अनुसन्धानका निष्कर्षलाई समेत आधार बनाएर राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम अघि बढाइनेछ ।

परिमार्जनपछि विद्यालय शिक्षाको पाठ्यक्रमलाई समयसापेक्ष बनाउँदै विद्यार्थीको ज्ञानसँगै सीप, सिर्जनशीलता, प्रविधिको प्रयोग, नैतिकता, वातावरणीय चेतना र उद्यमशीलता विकासमा केन्द्रित गर्ने प्रयास गरिनेछ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको