Techie IT
  • बिहीबार, असोज १, २०८३ / Friday, September 18, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारशिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड

शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड


काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको परीक्षा प्रणाली सुधार गर्दै शिक्षक भर्ना र परीक्षाफल प्रकाशनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा शिक्षक सेवा आयोगका नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा मन्त्री पोखरेलले आयोगका कामकारबाहीलाई नतिजामुखी बनाउनुपर्नेमा जोड दिए ।

छलफलमा शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसँग सम्बन्धित ऐन–नियमावलीलाई समयसापेक्ष बनाउने विषयमा छलफल भएको थियो । मन्त्री पोखरेलले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र परीक्षाफल समयमै प्रकाशनलाई प्राथमिकतामा राख्न आयोगका पदाधिकारीलाई आग्रह गरे ।

विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेत समेटिने बताए ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा. हरिप्रसाद लम्साललाई शिक्षक सेवा आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त अध्यक्ष डा. लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउन काम सुरु गरिसकेको बताए । आयोगको प्रभावकारिता बढाउन तथा शिक्षक व्यवस्थापनमा सुधार ल्याउन नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसतर्फ आयोगले पहल थालेको जानकारी दिए ।

शिक्षक सेवा आयोगको परीक्षा, शिक्षक नियुक्ति तथा बढुवा प्रक्रियालाई थप व्यवस्थित र समयमै सम्पन्न गर्ने विषयलाई नयाँ पदाधिकारीले प्राथमिकतामा राखेको आयोगले जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको