Techie IT
  • मंगलबार, असोज ६, २०८३ / Tuesday, September 22, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारराजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !

राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !


सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा सक्रिय रूपमा संलग्न भएको भन्दै सिन्धुलीमा चार जनामाथि कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्र पठाउँदै ती शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानूनअनुसार आवश्यक कारबाही गर्न अनुरोध गरेको हो ।

एकाइका अनुसार सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट प्राप्त जानकारी तथा प्रकाशित सामग्रीका आधारमा चार जना शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको छ । कारबाहीका लागि सिफारिस गरिएकामा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिना रहेका छन् ।

एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्रमा शिक्षक तथा कर्मचारीको उक्त गतिविधि शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत हुने उल्लेख गरिएको छ ।

स्थानीय तहलाई कारबाहीको जिम्मेवारी

शिक्षा विकास तथा समन्वय एकाइले सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्दै आरोपित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । पत्रअनुसार दुधौली नगरपालिका नगर कार्यपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिका गाउँ कार्यपालिकालाई यसबारे जानकारी गराइएको हो ।

साथै, सम्बन्धित स्थानीय तहले गरेको कारबाहीबारे शिक्षा विकास तथा समन्वय एकाइलाई अविलम्ब जानकारी गराउन समेत भनिएको छ ।  पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई समेत दिइएको छ ।

सामाजिक सञ्जालबाट समेत निगरानी

शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको विषयमा पछिल्लो समय सामाजिक सञ्जालमा सार्वजनिक हुने सामग्रीसमेत आधार बन्न थालेको देखिन्छ । सिन्धुलीमा पनि सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा चार जनाको राजनीतिक गतिविधिमा संलग्नता देखिएको भन्दै स्थानीय तहलाई पत्राचार गरिएको हो । यद्यपि, पत्रमा उल्लेख गरिएका व्यक्तिहरूमाथि अन्तिम कारबाही हुनुअघि सम्बन्धित स्थानीय तहबाट प्रचलित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको