Techie IT
  • बुधबार, असोज ७, २०८३ / Wednesday, September 23, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकेएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग

केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग


काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) बागबजारबालकुमारी काठमाडौँ मोडेल कलेज, बागबजारले भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७० हजार ३१६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । विद्यालय तथा कलेजका विद्यार्थी कमिटीका प्रतिनिधिमार्फत् नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोख्रेललाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट २ लाख ५८ हजार २५० रुपैयाँ संकलन भएको हो । यसैगरी, उक्त विनाशकारी बाढीमा परी आफ्ना अभिभावक गुमाएका विद्यालयका चार जना विद्यार्थीलाई विद्यार्थी समितिका तर्फबाट जनही ५१ हजार रुपैयाँका दरले आर्थिक सहयोगसमेत गरिएको छ । विद्यार्थीबाट संकलित रकम तथा विद्यार्थी समितिको कोषबाट उक्त सहयोग उपलब्ध गराइएको विद्यालयले जनाएको छ।

प्राकृतिक विपद्बाट सिर्जित मानवीय पीडा न्यूनीकरणका लागि सबैको साझा सहयोग आवश्यक रहेको भन्दै विद्यालय र कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाइएको छ । विद्यालय तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं शैक्षिक नेतृत्व रामेश्वर अर्यालले बाढीबाट भएको क्षति कुनै निश्चित स्थान, समुदाय वा व्यक्तिको मात्र समस्या नभई समग्र मानव समुदायलाई संवेदनशील बनाउने विषय भएकाले विद्यालयले आफूले सक्ने सहयोग विद्यार्थीमार्फत् गरेको बताउनुभयो । “यो विपद् कुनै निश्चित ठाउँ, समुदाय वा व्यक्तिको मात्र नभई मानव जातिमाथि आएको पीडा हो । यस्तो अवस्थामा आफूले सकेको सहयोग गर्नु हामी सबैको साझा दायित्व हो । त्यसैले विद्यालय र कलेज परिवारको सामूहिक सहभागितामा सहयोग रकम उपलब्ध गराएका हौँ ।”

सहयोग हस्तान्तरणमा विद्यार्थीलाई नै अगाडि सार्नुको कारणबारे अर्यालले भन्नुभयो, “हामीले संस्थापक, प्राचार्य वा संस्थाको उच्च तहमा रहेका व्यक्तिलाई अगाडि सार्नुको सट्टा विद्यार्थीलाई प्रतिनिधिका रूपमा अघि बढायौँ । कुनै पनि शैक्षिक संस्थाका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष विद्यार्थी हुन् । यति मात्र होइन निजी शैक्षिक संस्थाको पुँजी पनि विद्यार्थीहरुका नै निर्माण हुने गर्छ । हाम्रा केही विद्यार्थीले समेत यस विपद्मा आफ्ना अभिभावक गुमाएका छन् । यस्तो अवस्थामा उनीहरूको भावना र संवेदनालाई सम्बोधन गर्दै सहयोगको संस्कार विकास होस् भन्ने उद्देश्यले विद्यार्थीमार्फत् सहयोग गरेका हौँ ।”

केएमसीले तत्कालीन राहतमा मात्र सीमित नभई बाढीबाट प्रभावित क्षेत्रमा दीर्घकालीन शैक्षिक सहयोग गर्ने योजना पनि अघि सारेको जनाएको छ । बाढीका कारण क्षतिग्रस्त तथा भत्किएका शैक्षिक संरचनाको पुनर्निर्माणमा भौतिक सहयोग गर्नुका साथै प्रभावित विद्यार्थी तथा समुदायलाई शैक्षिक रूपमा सबल बनाउन मनोसामाजिक परामर्श, शिक्षक आदानप्रदानलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको केएमसी कलेजका कलेज चिफ सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो । “विपद्पछिको पुनःस्थापना केवल भौतिक संरचना निर्माणमा मात्र सीमित हुनुहुँदैन । प्रभावित विद्यार्थीको मनोबल उकास्दै उनीहरूको शैक्षिक निरन्तरताका लागि आवश्यक वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले भौतिक सहयोगसँगै मनोसामाजिक परामर्श र शिक्षक आदानप्रदानजस्ता कार्यक्रममार्फत् दीगो सहयोग गर्ने हाम्रो योजना छ,” सुवेदीले भन्नुभयो ।

विद्यालय र कलेजले बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित आफ्ना विद्यार्थीको पठनपाठनमा समेत आवश्यक सहयोग तथा सहजीकरण गर्ने जनाएका छन् । विपद्का कारण अध्ययनमा परेको असरलाई न्यूनीकरण गर्दै प्रभावित विद्यार्थीलाई नियमित शैक्षिक गतिविधिमा सहज रूपमा फर्काउन आवश्यक सहयोग गरिने पनि जनाएइको छ ।

यसैबीच, अन्य शैक्षिक संस्थाका संस्थापक, निर्देशक, प्राचार्य तथा उच्च पदस्थ व्यक्तिहरू स्वयं उपस्थित भएर सहयोग रकम हस्तान्तरण गरिरहेको सन्दर्भमा केएमसीले भने आफ्ना विद्यार्थीलाई प्रतिनिधिका रूपमा अगाडि सारेर सहयोग उपलब्ध गराउनु सकारात्मक अभ्यास भएको एक अभिभावकले प्रतिक्रिया दिनुभयो । “विद्यार्थीलाई केवल सहयोग प्राप्त गर्ने पात्रका रूपमा होइन, सामाजिक उत्तरदायित्व निर्वाह गर्ने जिम्मेवार नागरिकका रूपमा अगाडि सार्नु सकारात्मक पक्ष हो । यसबाट विद्यार्थीमा सहयोग, संवेदना र सामाजिक उत्तरदायित्वको भावना विकास हुन मद्दत पुग्छ,” ती अभिभावकले भन्नुभयो ।

काठमाडौँ मोडेल माध्यमिक विद्यालय तथा कलेजले विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा राहत, उद्धार र सामाजिक सहयोगका गतिविधिमा सहभागिता जनाउँदै आएको छ । पछिल्लो सहयोगलाई पनि विद्यालय र कलेजले तत्कालीन राहतसँगै दीर्घकालीन शैक्षिक पुनःस्थापनामा योगदान पु¥याउने अभियानका रूपमा अघि बढाउने जनाएका छन्



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको