Techie IT
  • आईतबार, कात्तिक ३०, २०८३ / Sunday, November 15, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ विद्यार्थीको एक मिनेटको भिडियोले जित्न सक्छ ५० हजार रुपैयाँ, काठमाडौं महानगरले खुलायो अवसर !

विद्यार्थीको एक मिनेटको भिडियोले जित्न सक्छ ५० हजार रुपैयाँ, काठमाडौं महानगरले खुलायो अवसर !


काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय तहका विद्यार्थीलाई जलवायु परिवर्तन र वातावरण संरक्षणका विषयमा सिर्जनात्मक रूपमा सहभागी गराउने उद्देश्यले एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । महानगरपालिकाले ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।

जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारिरहेको असर न्यूनीकरण गर्न समुदायस्तरमा भइरहेका प्रयासको प्रवर्द्धन गर्नुका साथै व्यक्ति र समुदायको जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले विभिन्न साझेदार संस्थासँगको सहकार्यमा जलवायु कार्य सप्ताह सञ्चालन गर्न लागेको जनाएको छ ।

महानगरपालिकाका अनुसार मंसिर ७ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने जलवायु कार्य सप्ताहका क्रममा हरेक दिन फरक–फरक कार्यक्रम आयोजना गरिनेछ । सोही कार्यक्रमअन्तर्गत विद्यालय उमेरका बालबालिकालाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउन भिडियो प्रतियोगिता राखिएको हो ।

प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले ‘जलवायुका लागि बालबालिका’ विषयमा अधिकतम एक मिनेटको भिडियो तयार गरी सहभागी हुन सक्नेछन् ।

कसले सहभागिता जनाउन पाउँछन् ?

काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दाका बालबालिका तथा महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

पुरस्कार कति छ ?

प्रतियोगितामा उत्कृष्ट भिडियो छनोट गरी निम्नानुसार पुरस्कार प्रदान गरिने महानगरपालिकाले जनाएको छ ।

  • प्रथम पुरस्कार : ५० हजार रुपैयाँ

  • दोस्रो पुरस्कार : ३० हजार रुपैयाँ

  • तेस्रो पुरस्कार : २० हजार रुपैयाँ

  • सान्त्वना पुरस्कार : ७ जनालाई जनही १० हजार रुपैयाँ

कसरी हुने सहभागी ?

महानगरपालिकाले प्रतियोगितासम्बन्धी थप जानकारी तथा दर्ताका लागि सार्वजनिक सूचनामा क्यूआर कोड उपलब्ध गराएको छ । इच्छुक विद्यार्थीले उक्त क्यूआर कोड स्क्यान गरी आवश्यक जानकारी लिन तथा दर्ता प्रक्रिया अघि बढाउन सक्नेछन् ।

जलवायु परिवर्तनको असर न्यूनीकरण, वातावरण संरक्षण र दिगो भविष्य निर्माणमा बालबालिकाको भूमिका महत्वपूर्ण हुने भएकाले प्रतियोगिताले विद्यार्थीमा वातावरणीय चेतना र सिर्जनात्मक अभिव्यक्ति विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको