हेल्पद्वारा यो वर्ष पनि ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान, हालसम्म ७ सय ४० जना लाभान्वित
काठमाडौं । हेलम्बु एजुकेशन लाइभ्लीहुड पार्टनरसीप (हेल्प) नेपालले ७५ जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । हेल्पले शनिबार एक कार्यक्रमका बीच ७५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।
हेल्पले विगत १५ वर्षदेखि दिँदै आएको छात्रवृत्तिलाई यसवर्ष पनि निरन्तरता दिएको हो । सिन्धुपाल्चोकलाई आधार बनाएर सुरु भएको यो छात्रवृत्ति कार्यक्रम २५ वटा जिल्लामा बिस्तार भएको छ । यसवर्ष पनि १५ वटा जिल्लाका २३ वटा पालिकाका ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हेल्पका सहसंस्थापक जिमी लामाले जानकारी दिए ।

यो कार्यक्रमबाट हालसम्म ७ सय ४० जनाभन्दा बढी विद्यार्थीहरु लाभान्वित भइसकेको हेल्पले जनाएको छ । यसवर्ष विद्यार्थीहरुलाई ५० देखि ७५ हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिएको लामाले जानकारी दिए ।

छात्रवृत्ति प्रदान कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै थापाले हेल्पले विद्यार्थीका लागि गरेको यो सहयोग मात्र नभएर विश्वास र भरोसा भएको बताए । ‘हेल्पले तपाईंहरुलाई गरेको यो सहयोग मात्र होइन विश्वास भरोसा हो यसलाई टुट्न नदिनुहोला,’ विद्यार्थीलाई उत्प्रेरित गर्दै थापाले भने, ‘आफूले पाएको अवसरलाई आत्मसाथ गरेर अघि बढ्नुहोला ।’

साथै,े जिमी लामा एउटा व्यक्तिले यति ठूलो कार्य गरेको भन्दै थापाले प्रशंसा गरे । ‘उहाँले राज्यले गर्नुपर्ने काम गर्नुभएको छ त्यसका लागि मेरो उच्च सम्मान छ,¬’ लामाको प्रशंसा गर्दै उनले भने, ‘देश घुम्दै गर्दा कसैले आर्थिक अभावमा शिक्षाबाट बञ्चित भएको पाएँ भने मैले जिमीलाई सम्झन्छु अनि उहाँलाई अनुरोध गर्छु ।’
यसगरी, कार्यक्रमका विशेष अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले हेल्पले शिक्षामा नविनतम कार्य गरेको भन्दै प्रशंसा गरे । हेल्पले गाउँका दुरदराजमात्र नभइ काठमाडौं केही भू–भागका जेहन्दार र गरिब परिवारका छोराछोरीलाई पनि छात्रवृत्तिमा समेटेकोमा धन्यवाद व्यक्त गरे । ‘कागेश्वरी मनोहराका विद्यार्थी भाइबहिनीहरुले पनि यो छात्रवृत्ति पाउनुभयो भन्ने सुन्दा खुसी लाग्यो,’ उनले भने, ‘यसरी शैक्षिक उन्नयनका लागि नगरपालिकाको सारथी बन्न पाएकोमा खुुसी छु ।’

कार्यक्रममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई सम्मान गरिएको थियो । शैक्षिक उपलब्धि हासिल गर्न पालिकाले उत्कृष्ट कार्य गरेको भन्दै लामालाई सम्मान गरिएको हेल्पले जनाएको छ । गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँचपोखरी थाङ्पाल गाउँपालिका जिल्लाकै प्रथम पालिका बन्न समेत सफल भएको थियो ।

सम्मानपछि आधारणा राख्दै लामाले हेल्प परिवारलाई धन्यवाद दिए । उनले हेल्पको सहयोगले आफ्नो पालिकाको शैक्षिक सुधार र उन्नयनका लागि ठूलो राहत मिलेको उनले बताए । ‘हेल्पले पाँचपोखरीको शैक्षिक सुधार र उन्नयनका लागि ठूलो गुन लगाएको छ,’ उनले भने, ‘ पाँचपोखरीले आगामी दिनमा पनि हेल्पबाट यस्तै रचनात्मक सहयोगको अपेक्षा गरिरहन्छ ।’

कार्यक्रममा मोण्डो फाउण्डेसनका सिइओ माथ्यू ब्याण्डले हेल्पसँग निरन्तर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘हेल्प र जिमी जीसँगको सहकार्यमा हामीले नेपालमा सहयोग गर्ने मौका पाइरहेका छौँ यसका लागि हेल्प र जिमी जीलाई धन्यवाद दिन चाहन्छु ।’ मोण्डो फाउण्डेशनले नेपालमा लामो समयदेखि स्वयम्सेवा गर्दै आएको छ ।

त्यस्तै, कार्यक्रममा क्याम्ब्रिज विश्वविद्यालयबाट राजनीति विषयमा स्नातक गरेकी पपि लीले अबुखैरेनीमा साथी शिक्षकसँग मिलेर विद्यार्थीहरूलाई पढाएको अनुभव समेत सुनाएकी थिइन् ।

कार्यक्रमका अध्यक्ष एवम् हेल्पका सहसंस्थापक जिमी लामाले कार्यक्रममा बोल्दै हेल्पको १४ वर्षे यात्राका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उनले विद्यार्थी जीवनमा गरेको संघर्षका कथा सुनाउँदै विद्यार्थीहरुमा उत्प्रेरणा भरेका थिए । ‘अहिले विद्यार्थीहरुको जस्तो कथा कुनैबेला मेरो पनि थियो मलाई आफ्नै कथाले यहाँसम्म ल्यायो,’ उनले भने, ‘सकारात्मक सोचसहित अघि बढ्नुभयो भने भोलि तपाईंहरु पनि यो समाजको मार्गदर्शक बन्न सक्नुहुन्छ ।’ लामाले हेल्पको छात्रवृत्ति पाएर उच्च शिक्षा सुरु गरेका विद्यार्थीहरु अहिले विभिन्न क्षेत्रमा क्रियाशिल रहेको बताए । ‘हेल्पको छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरु सफल भएको देख्दा खुसी लाग्दो रहेछ,’ उनले भने, ‘आज हेल्पले तपाईंहरुलाई छात्रवृत्ति दिएको त्यसको बदलामा तपाईंहरुले भोलि देशलाई केही केही योगदान पक्कै दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

कार्यक्रममा हेल्पकी छात्रवृत्ति संयोजक तेजस्वी कार्कीले स्वागत मन्तव्यमार्फत कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेकी थिइन् । उनले हेल्प छात्रवृत्ति के हो ? किन सञ्चालन गरियो ? कहिलेबाट सञ्चालन गरियो भन्ने बारेमा समेत प्रष्ट पारेकी थिइन् । हेल्पको छात्रवृत्तिका लागि यसवर्ष १ सय ८१ वटा आवेदन परेका थिए । ‘हामीले हाम्रो मापदण्डअनुसार विद्यार्थी छनोट गरेका हौँ जसका लागि उहाँहरुले विभिन्न चरण पार गर्नुभएको छ,’ उनले भनिन् ।

त्यस्तै, कार्यक्रममा हेल्प स्कलर सम्झना तामाङले आफ्नो अनुभव सुनाएकी थिइन् । कार्यक्रममा बोल्दै उनले हेल्पको छात्रवृत्तिले आफ्नो शैक्षिक उपलब्धिमात्र नभएर अवसरका ढोकाहरुसमेत खोलेको बताइन् । २०७४ सालमा हेल्पको छात्रवृत्ति पाएर कक्षा ११ र १२ अध्ययन गरेकी उनी हाल पाँचपोखरी थाङपाल गाउँपालिकाको सामुदायिक स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीका रुपमा कार्यरत छिन् ।

त्यस्तै, सुभेच्छा घोरासैनीले यसवर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको तर्फबाट हेल्पलाई धन्यवाद दिएकी थिइन् । ‘हेल्पले हामी माथि गरेको विश्वास र भरोसालाई म टुट्न दिने छैनौँ,’ उनले भनिन्, ‘हेल्पले आज हामीमाथि शैक्षिक लगानी गरेको भोलि यसको प्रतिफल देशलाई दिन चाहन्छौँ ।’ हेल्पको छात्रवृत्ति पाएकी घोरासैनी कमलादीस्थित युनिग्लोब कलेजमा विज्ञान संकाय अध्ययन गरिरहेकी छन् ।
त्यस्तै, कार्यक्रममा याङ्रिमा स्कूलका संस्थापक गोपाल लामा, पब्लिक हेल्थ विशेषज्ञ डा. अञ्जना केसी थापा, समान्ता फाउण्डेशनकी मोना आदित्य, प्रोजेक्ट शिक्षा/१०० ग्रुप्सका बब्लु गुप्ता, हेल्पका सहयोगी इन्जिनियर अर्णराज सिलवाल र पद्मश्री कलेजकी म्यानेजिङ डायरेक्टर सुनिता सिलवाल साथै हेल्पका सह–संस्थापक छिरिङ लामा र बोर्ड सदस्य प्रकाश श्रेष्ठको पनि उपस्थिति रहेकाे थियाे ।



ताजा अपडेट
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
धेरैले पढेको
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया