Techie IT
  • मंगलबार, वैशाख २९, २०८३ / Tuesday, May 12, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारनेपालका हजारौं माविमध्ये उत्कृष्ट १७ औँ स्थानमा मनास्लु वर्ल्ड कलेज

नेपालका हजारौं माविमध्ये उत्कृष्ट १७ औँ स्थानमा मनास्लु वर्ल्ड कलेज


काठमाडौंको चाबहिल–चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड कलेज यस वर्ष देशभरका ४ हजार ९ सय २४ माविमध्ये उत्कृष्ट १७औँ स्थानमा पर्न सफल भएको छ । एजुकेशन समाचारले सार्वजनिक गरेको नेपालका अब्बल माविहरुको सूचीमा मनास्लुले लगातार आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको हो । गत वर्ष उत्कृष्ट २० भित्र परेको मनास्लुले यस वर्ष अझ सुधारिएको नतिजासहित आफूलाई टप १७ मा उभ्याएको छ ।

छोटो समयमै शैक्षिक क्षेत्रमा प्रभावशाली पहिचान बनाउन सफल मनास्लु आज काठमाडौं उपत्यकामा विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षणको केन्द्र बन्दै गएको छ । ‘अ होम फर फ्युचर लिडर्स’ भन्ने मूल मन्त्रसहित अघि बढिरहेको यस कलेजले परम्परागत घोकन्ते शिक्षाभन्दा फरक सोच, व्यवहारिक सिकाइ र विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको छ ।

वि.सं. २०५३ मा प्राक्सिस इन्टरनेशनल स्कुलका रूपमा सुरु भएको संस्था वि.सं. २०७७ देखि मनास्लु वर्ल्ड स्कुल तथा कलेजका रूपमा सञ्चालन हुँदै आएको छ । सोही वर्षदेखि कक्षा ११ र १२ अध्यापन सुरु गरेको मनास्लुले हाल विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ ।

मनास्लुले शिक्षालाई केवल पाठ्यपुस्तक र परीक्षासँग सीमित राखेको छैन । यहाँ प्रत्येक विद्यार्थीको क्षमता, रुचि र सम्भावनालाई बुझेर त्यसलाई निखार्ने वातावरण निर्माण गरिएको छ । कलेजका प्रिन्सिपल एवं संस्थाका अध्यक्ष गेन्द्र लामाका अनुसार मनास्लुको लक्ष्य विद्यार्थीलाई केवल राम्रो अंक दिलाउने होइन, उनीहरूलाई आत्मविश्वासी, सिर्जनशील र नेतृत्व गर्न सक्ने व्यक्तित्वका रूपमा तयार गर्नु हो ।

‘यदि कुनै विद्यार्थी पढाइमा कमजोर छ भने हामी उसलाई सुरुदेखि नै विशेष निगरानी र अतिरिक्त सहयोगमार्फत अघि बढाउने प्रयास गर्छौं,’ लामा भन्छन्, ‘तर उत्कृष्टता भनेको केवल अंक मात्रै होइन । कसैमा खेलकुदको क्षमता हुन्छ, कसैमा कला, कसैमा नेतृत्व गर्ने क्षमता । हामी विद्यार्थीभित्र रहेको त्यही विशेषतालाई पहिचान गरेर अझ निखार्ने काम गर्छौं ।’

आईएसओ सर्टिफाइड संस्था रहेको मनास्लुले आधुनिक भौतिक पूर्वाधार, प्रविधिमैत्री कक्षाकोठा, अनुशासित वातावरण र विद्यार्थीमैत्री शिक्षण प्रणालीलाई बलियो बनाउँदै आएको छ । अध्ययनसँगै अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास, सार्वजनिक प्रस्तुतीकरण र सिर्जनात्मक अभ्यासमा समेत उत्तिकै जोड दिइएकाले विद्यार्थीले कक्षाकोठाभन्दा बाहिर पनि सिक्ने अवसर पाउने गरेका छन् ।

मनास्लुका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको नतिजामा मात्र होइन, एमबीबीएस, इन्जिनियरिङलगायत प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा समेत उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । भारतीय दूतावासमार्फत प्रदान गरिने शतप्रतिशत छात्रवृत्तिमा समेत मनास्लुका विद्यार्थी छनोट हुँदै आएका छन् । कलेजका अनुसार कक्षा ११ र १२ को अध्ययनलाई केवल बोर्ड परीक्षासँग सीमित नराखी विद्यार्थीको त्यसपछिको लक्ष्य र करिअरसँग जोडेर तयारी गराइन्छ ।

देशभरका उत्कृष्ट माविहरुको छनोट गर्ने क्रममा एजुकेशन समाचारले राष्ट्रिय परीक्षा बोर्डको पछिल्ला तीन वर्षको कक्षा १२ को नतिजालाई मुख्य आधार बनाएको थियो । त्यससँगै भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, स्थापना वर्ष, उत्कृष्ट माविको पुरस्कार तथा पब्लिक पर्सेप्सनलाई समेत मूल्यांकनको आधार बनाइएको थियो । यही प्रतिस्पर्धात्मक मूल्यांकनमा मनास्लु वर्ल्ड कलेजले देशभरकै उत्कृष्ट १७औँ माविका रूपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको