Techie IT
  • बिहीबार, असोज २२, २०८३ / Friday, October 9, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ अपरचुनिटी/स्कलरसीप ∕ काठमाडौं महानगरपालिकाको छात्रवृत्तिमा २६ हजार ८८८ जनाको आवेदन, आवेदन स्वीकृत गर्ने क्रम जारी

काठमाडौं महानगरपालिकाको छात्रवृत्तिमा २६ हजार ८८८ जनाको आवेदन, आवेदन स्वीकृत गर्ने क्रम जारी


काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भर्नुभएको छ । आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र ६ जना अन्य रहेका छन् ।

आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनुपर्ने देखिएकाले मोबाइल र इमेलमार्फत सूचना पठाइएको छ । उहाँहरुले भोलि दिउँसो १२ बजेसम्म विवरण सच्याएर पुनः पेश गर्नुपर्नेछ ।

प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक तथा विद्यार्थीलाई सहजीकरण गर्न शिक्षा विभागमा सहायता कक्ष स्थापना गरिएको छ । अभिभावक तथा विद्यार्थीहरूले उक्त कक्षबाट आवश्यक सहायता प्राप्त गर्न सक्ने महानगरले जनाएको छ ।

अहिलेसम्म ८४ जनाको आवेदन अस्वीकृत गरिएको छ । सबै ठाउँमा एउटै डकुमेन्ट राखिएको, अनावश्यक कागजात अपलोड गरिएको तथा आवश्यक विवरण पूरा नगरिएका आवेदन फाराम अस्वीकृत गरिएको शिक्षा विभागले जनाएको छ । खड्काका अनुसार विद्यार्थीहरूको परीक्षा दिन पाउने अवसरलाई संवेदनशील रूपमा हेरिएको छ । तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नुपर्ने विवरण वा कागजात पेश नगरेमा तथा विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुनेछ । जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया जारी रहनेछ ।

आवेदन फाराम स्वीकृत भएका आवेदकले जेठ १४ गते बिहान १० बजेपछि फाराम भरेकै साइटमा गएर प्रवेशपत्र डाउनलोड गरी कलर प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र तथा परीक्षा सम्बन्धी जानकारी प्रवेशपत्रबाट प्राप्त गर्न सकिनेछ ।

आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषय रोजेका छन् । विज्ञानमा १८ हजार ९९६ जना, व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना तथा मानविकीमा ७९ जनाले आवेदन दिएका छन् ।

कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले सिफारिस गर्ने व्यवस्था रहेको छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरी नतिजाका आधारमा सिफारिस गर्नेछ ।

परीक्षापछि योग्यताक्रम सूची प्रकाशन गरिनेछ । त्यसपछि म्याचिङ लिस्टमार्फत नाम सिफारिस गरिनेछ । सिफारिस भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा अध्ययन गर्दा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु नपर्ने महानगरले जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको