Techie IT
  • शनिबार, जेठ २३, २०८३ / Saturday, June 6, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारविश्व वातावरण दिवसमा ग्रीन आर्मीको विशेष कार्यक्रम, वातावरण संरक्षणसँगै विद्यार्थीको नेतृत्व विकासमा जोड

विश्व वातावरण दिवसमा ग्रीन आर्मीको विशेष कार्यक्रम, वातावरण संरक्षणसँगै विद्यार्थीको नेतृत्व विकासमा जोड


काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा ग्रीन आर्मी नेपालले वातावरण संरक्षण, विद्यार्थी नेतृत्व विकास तथा खेलकुद प्रवद्र्धनलाई केन्द्रमा राखेर विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले वातावरण संरक्षणका क्षेत्रमा ग्रीन आर्मी नेपालले पुर्‍याउँदै आएको योगदान उल्लेखनीय रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिसालले ग्रीन आर्मीले गोकर्णेश्वरलाई मुख्य आधार क्षेत्र बनाएर वातावरण संरक्षणका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाएको बताए । वातावरणीय अभियानसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले जेनजी आन्दोलनका बेला उत्पन्न सुरक्षा चुनौतीका समयमा ग्रीन आर्मीले गरेको सहयोगको प्रशंसा गरे ।

ग्रीन आर्मी नेपालका संस्थापक तथा चिफ सविन शर्माले संस्थाले वातावरण संरक्षणलाई मात्र नभई विद्यार्थीको प्रतिभा पहिचान, नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई समेत प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । युवालाई सकारात्मक गतिविधिमा सहभागी गराउँदै जिम्मेवार नागरिक निर्माण गर्ने उद्देश्यका साथ देशभर अभियान सञ्चालन भइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ग्रीन आर्मी नेपालका सल्लाहकार हरिकृष्ण श्रेष्ठले विद्यार्थीलाई अनुशासित बनाउने र वातावरण संरक्षणप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ पाँच विद्यालयबाट अभियान सुरु गरिएको बताए। सुरुआतमा सीमित क्षेत्रबाट सुरु भएको अभियान अहिले देशव्यापी रूपमा विस्तार भइसकेको उनले जानकारी दिए ।
कार्यक्रमका क्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । साथै, ग्रीन आर्मी नेपालले आयोजना गरेको फुटसल तथा बास्केटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोली तथा खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा ग्रीन आर्मी रनिङ सिल्डको उपाधि कपनस्थित बोधीसदन सेकेण्डरी स्कुलले हात पारेको थियो । त्यस्तै, दोस्रो रनिङ सिल्ड सेलिब्रेसन को एड र क्रिश्चियन कम्युनिटी स्कुल तेस्रो रनिङ सिल्ड चुमेको थियो ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, खेलकुद भावना र सामाजिक उत्तरदायित्वको विकासमा टेवा पुर्‍याएको आयोजकले जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको