Techie IT
  • आईतबार, असार २८, २०८३ / Sunday, July 12, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारसेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई, स्नातक तहमा ५० प्रतिशतसम्म छात्रवृत्तिको घोषणा

सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई, स्नातक तहमा ५० प्रतिशतसम्म छात्रवृत्तिको घोषणा


काठमाडौं । सेन्ट लरेन्स कलेजले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा शुभकामना व्यक्त गर्दै  विदाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा २०८३ सालको कक्षा १२ को परीक्षामा उत्तीर्ण विद्यार्थीलाई औपचारिक रूपमा विदाई गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले यस वर्षको ब्याचलाई कलेजको ३० वर्षे इतिहासकै गर्व गर्न लायक ब्याचको संज्ञा दिए । उनले विद्यालय तहको शिक्षा पूरा गरी उच्च शिक्षातर्फ अघि बढिरहेका विद्यार्थीलाई शुभकामना दिँदै अबको यात्रामा पनि सेन्ट लरेन्सको पहिचानलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले सेन्ट लरेन्समा प्रि–प्राइमरीदेखि मास्टर्स तहसम्म करिब चार हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै विदाईको यो क्षण विद्यार्थीका लागि जीवनभर स्मरणीय रहने बताए । साथै, कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्बोधन गर्दै उनले सेन्ट लरेन्स कलेजले सञ्चालन गर्दै आएका स्नातक तहका कार्यक्रमले उनीहरूलाई नै पर्खिरहेको बताए । ‘हामीले स्नातक तहमा बीएससी सीएसआईटी, बीसीए, बीए, बीएसडब्लू र बीबीएस कार्यक्रम सञ्चालन गर्दै आएका छौँ,’ उनले भने, ‘अब हामी तपाईंहरूलाई त्यही ब्याचलर ब्लकमा भेट्नेछौँ ।’

पासआउट विद्यार्थी तथा व्यवस्थापन संकायका टपर रोनिश मगरले विद्यार्थीका तर्फबाट अनुभव सुनाउँदै सेन्ट लरेन्स प्रवेश गर्दाको दुविधा, डर र अन्योल दुई वर्षको यात्रासँगै आत्मविश्वासमा रूपान्तरण भएको बताए । ‘सुरुमा सेन्ट लरेन्स छिर्दा केही आशंका र डर स्वाभाविक थियो । तर दुई वर्ष बित्दा कलेज कहिले मेरो दोस्रो घर बन्यो, मैले नै पत्तो पाइनँ,’ उनले भने । रोनिशले राष्ट्रिय परीक्षा बोर्ड (NEB) को कक्षा १२ परीक्षामा व्यवस्थापन संकायतर्फ ३.९२ जीपीए प्राप्त गरेका थिए ।

शिक्षकहरूको तर्फबाट मन्तव्य राख्दै सरोज महर्जनले २४ वर्षअघि आफूले प्लस–टु उत्तीर्ण गर्दाको क्षण स्मरण गर्दै विद्यार्थी जीवनका सम्झनाहरू जीवनभर अमूल्य रहने बताए । ‘आजको दिन खुसीको पनि हो र केही भावुक क्षणको पनि । जीवनको यात्रा नै यस्तै हो—कहिले स्वागत त कहिले विदाई । यहाँबाट तपाईंहरूले सम्मान, अनुशासन, नैतिकता र जिम्मेवारी सिकेर जानुभएको छ भन्ने विश्वास छ,’ उनले भने । उनले सेन्ट लरेन्सको मूल मन्त्र ‘Your Success, Our Commitment’ विद्यार्थीहरूको सफलतामार्फत सार्थक भएको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड (NEB) को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो । विज्ञान संकायतर्फ कुशल दंगाललाई ३.९६ जीपीए सहित नेपाल टपरमध्ये एक बन्न सफल भएकोमा सम्मान गरिएको थियो भने व्यवस्थापन संकायतर्फका टपर रोनिश मगरलाई सम्मान गरिएको थियो ।

सम्मानपछि अनुभव सुनाउँदै कुशल दंगालले प्लस–टुको दुई वर्षको यात्रा कहिले सुरु भयो र कहिले समाप्त भयो भन्ने नै थाहा नभएको बताए । उनले सेन्ट लरेन्सले आफूलाई केवल उत्कृष्ट नतिजा हासिल गर्न मात्रै होइन, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

‘यहाँ बिताएका दुई वर्ष मेरो जीवनका सबैभन्दा अविस्मरणीय समय बने । शिक्षकहरूको निरन्तर मार्गदर्शन, साथीहरूसँगको मित्रता र कलेजले सिर्जना गरेको सिकाइको वातावरणले यो सफलता सम्भव भएको हो,’ उनले भने ।

उनले आफूले कलेजबाट केवल शैक्षिक उपलब्धि मात्रै नभई जीवनभर सम्झिने मित्रता, अनुभव र सिकाइ लिएर अगाडि बढिरहेको उल्लेख गर्दै सम्पूर्ण शिक्षक, अभिभावक तथा सहपाठीप्रति आभार व्यक्त गरे ।

त्यस्तै पासआउट विद्यार्थी रियाशा कार्कीले पनि कक्षाकोठामा बिताएका अविस्मरणीय क्षण, शिक्षकहरूको माया र सिकाइलाई रमाइलो शैलीमा प्रस्तुत गर्दै आफ्ना अनुभव साटेकी थिइन् ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई मायाको चिनोसहित सम्मानसमेत गरिएको थियो ।

कार्यक्रमका सभापति तथा कलेजका प्रिन्सिपल ताराप्रसाद सुवेदीले विदाईलाई केवल बिदाइ नभई नयाँ यात्राको उत्सवका रूपमा व्याख्या गर्दै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।

‘तपाईंहरूलाई कक्षा ११ र १२ बाट मात्र विदाई गरेका हौँ, सेन्ट लरेन्स परिवारबाट होइन । तपाईंहरू सधैं हाम्रो मन र मुटुमा रहनुहुनेछ । सेन्ट लरेन्सबाट अध्ययन पूरा गरेका विद्यार्थीले नेपाल र विदेश दुवै ठाउँमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ । शिक्षा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि हाम्रा विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेका छन्,’ उनले भने ।

सुवेदीले सकेसम्म स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीलाई आग्रह गर्दै सेन्ट लरेन्सको स्नातक तहमा भर्ना हुने विद्यार्थीका लागि ५० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिने घोषणा गरे । साथै, बीएससी सीएसआईटी (BSc CSIT), बीसीए (BCA), बीए (BA) र बीएसडब्लुए (BSW) लगायतका स्नातक कार्यक्रमका लागि कलेज पूर्ण रूपमा तयारी अवस्थामा रहेको जानकारी दिए ।

कार्यक्रमको सञ्चालन शिक्षक नानीकाजी खड्का (एनके)ले गरेका थिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको