भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
काठमाडौं । विद्यालय खुल्ने सुरसार हुँदै थियो। विद्यार्थीहरू विद्यालय परिसरमा जम्मा हुँदै थिए। शिक्षकहरू पनि कक्षा सञ्चालनको तयारीमा थिए। त्यही बेला भोटेकोशीमा ठूलो बाढी आएको खबर विद्यालय प्रशासनसम्म पुग्यो। सूचना आएको थियो—बाढी विद्यालयतर्फ आउन सक्ने सम्भावना छ।
समय धेरै थिएन। विद्यालय प्रशासनले तत्काल निर्णय लियो—विद्यार्थीलाई सुरक्षित स्थानतर्फ पठाउने । प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार सूचना पाएपछि करिब १५ मिनेटभित्रै विद्यालयमा रहेका विद्यार्थीलाई बाहिर निकालेर सुरक्षित स्थानतर्फ पठाइएको थियो। विद्यार्थीहरू विद्यालयबाट बाहिरिएको केहीबेरमै भोटेकोशी हुँदै आएको बाढी त्रिशूली क्षेत्रमा पस्यो र त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भौतिक संरचना तहसनहस बनायो।
विद्यालयमा कक्षा १२ सम्म अध्ययन हुने गरेको छ। विद्यालयमा १ हजार ६ सय ४३ विद्यार्थी अध्ययनरत छन्। बाढीले विद्यालयको भवन, कक्षाकोठा र अन्य संरचनामा ठूलो क्षति पुर्याए पनि समयमै सतर्कता अपनाउँदा विद्यालयभित्र रहेका विद्यार्थीलाई जोखिमबाट बाहिर निकाल्न सकिएको प्रधानाध्यापक दवाडीको भनाइ छ।
‘बाढी आउनुभन्दा अगाडि नै हामीले सूचना पाएका थियौँ। त्यसपछि विद्यार्थीलाई तत्काल सुरक्षित ठाउँतिर पठायौँ,’ दवाडीले भने।
उनका अनुसार विद्यार्थीलाई विद्यालय परिसरबाट बाहिर निकालेर माथिल्लो डाँडातर्फ जान भनिएको थियो। शिक्षक तथा कर्मचारीले विद्यार्थीलाई सुरक्षित स्थानतर्फ पठाउने काम गरिरहेका थिए। जोखिम बढ्दै गएपछि प्रधानाध्यापक दवाडी र शिक्षक प्रदीप पण्डित विद्यालयबाट अन्तिममा बाहिरिएका थिए।
‘म र प्रदीप पण्डित सर सबैभन्दा अन्तिममा निस्किएका हौँ। हामी विद्यालयबाट निस्किँदा त्यहाँ विद्यार्थी थिएनन्,’ दवाडीले बताए।
विद्यालयबाट विद्यार्थीलाई बाहिर निकालिए पनि त्यसपछि उनीहरू विभिन्न दिशातर्फ लागेका कारण सबैसँग तत्काल सम्पर्क स्थापित हुन नसकेको उनले बताए। बाढीपछि त्रिशूली क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा विद्यार्थी र अभिभावकबीच सम्पर्क गर्नसमेत समस्या भएको छ।
दवाडीका अनुसार केही अभिभावकले आफ्ना छोराछोरीसँग सम्पर्क नभएको जानकारी विद्यालयलाई गराएका छन्। केही विद्यार्थी भने सुरक्षित रूपमा घर पुगेको जानकारीसमेत प्राप्त भएको उनले बताए।
विद्यालय प्रशासनले सामाजिक सञ्जालमा ‘विद्यालयसँगै सबै विद्यार्थी बगे’ भन्ने किसिमका सूचना फैलिएको भन्दै त्यस्ता खबरमा विश्वास नगर्न आग्रह गरेको छ। प्रधानाध्यापक दवाडीका अनुसार विद्यालयबाट विद्यार्थीलाई बाढी परिसरमा प्रवेश गर्नुअघि नै बाहिर निकालिएको थियो। तर विद्यालयबाट बाहिरिएपछि विद्यार्थीहरू कहाँ–कहाँ पुगे भन्ने तत्काल यकिन गर्न नसकिएको अवस्था छ।
यसबीच, विद्यालयसँगै रहेको महिला छात्रावासमा करिब ३० जना छात्रा बस्दै आएका थिए। बाढीले छात्रावासतर्फ समेत क्षति पुर्याए पनि छात्राहरूलाई समयमै सुरक्षित स्थानमा निकाल्न सफल भएको दवाडीले बताए।
विद्यालयका तीनवटा बस भने सुरक्षित अवस्थामा रहेको उनले जानकारी दिए।
बाढीबाट विद्यालय मात्र प्रभावित भएको छैन। त्रिशूली बजार तथा आसपासका बस्ती र व्यापारिक क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। कतिपय क्षेत्रमा घर तथा व्यापारिक संरचनामा क्षति पुगेको छ भने मानिसहरू उद्धारको प्रतीक्षामा रहेको स्थानीयको भनाइ छ।
अहिले केही शिक्षक, कर्मचारी र विद्यार्थीसहित करिब ५० जना त्रिशूली बजारनजिकैको माथिल्लो क्षेत्रमा सुरक्षित रहेको दवाडीले बताएका छन्। तर सञ्चार सम्पर्क तथा विद्युत् सेवा अवरुद्ध भएकाले बाहिरी क्षेत्रसँग सम्पर्क कायम गर्न कठिनाइ भइरहेको छ।
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भौतिक संरचना बाढीले ध्वस्त बनाएपछि विद्यालयको नियमित शैक्षिक गतिविधि सञ्चालनमा समेत चुनौती थपिएको छ। तर विद्यालय प्रशासनका लागि अहिले विद्यालय पुनर्निर्माणभन्दा पनि विद्यार्थी तथा उनीहरूका परिवारको अवस्थाबारे यकिन गर्नु पहिलो प्राथमिकता बनेको छ।
ताजा अपडेट
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया