Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग

ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग


काठमाडौं — Professional Holdings Ltd. अन्तर्गत सञ्चालित ग्लोबल कलेज ग्रुपले प्रधानमन्त्री विपद् राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो ।

Professional Holdings Ltd. का तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका चिफ फाइनान्स अफिसर (CFO) आरडी पाण्डे, ग्लोबल कलेजका निर्देशक राजेन्द्र त्रिपाठी, निर्देशक डा. डीएल पुरी लगायतको उपस्थिति थियो ।

CFO आरडी पाण्डेका अनुसार देश विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो । संकटका बेला निजी क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताअनुसार सहयोग गरिएको उनले बताए ।

गत बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण सयौँ नागरिकको ज्यान गएको छ भने हजारौँ अझै बेपत्ता छन् । ठूलो संख्यामा परिवार विस्थापित भएका छन् भने घर, सडक, पुल तथा जलविद्युत् संरचनामा समेत व्यापक क्षति पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा निजी क्षेत्रबाट समेत राहत कोषमा सहयोग जुटिरहेको छ । यही क्रममा ग्लोबल कलेज ग्रुपले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २१ लाख रुपैयाँ सहयोग गरेको हो ।

कम्पनीका अध्यक्ष खगेन्द्र ओझाले देशलाई दुःख परेको समयमा आफ्नो संस्थागत जिम्मेवारी पूरा गर्ने उद्देश्यले सहयोग गरिएको बताए । विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि राज्यले अघि बढाएको प्रयासमा आफ्नो तर्फबाट पनि योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उनको भनाइ छ ।

Professional Holdings Ltd. अन्तर्गत ग्लोबल कलेज अफ म्यानेजमेन्ट, युनिग्लोब सेकेन्डरी स्कुल कमलादी, भ्याली भ्यु सेकेन्डरी स्कुल, लिबर्टी कलेज लगायतका शैक्षिक संस्था सञ्चालनमा छन् ।

शिक्षा क्षेत्रमा सक्रिय ग्लोबल कलेज ग्रुपले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत योगदान गर्दै आएको जनाएको छ । विपद्को यस कठिन समयमा गरिएको सहयोगलाई प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गरिएको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोगका रूपमा लिइएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको