Techie IT
  • सोमबार, भदौ २२, २०८३ / Monday, September 7, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजएन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान

एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान


काठमाडौं । आर्थिक अभावका कारण उच्च शिक्षा अघि बढाउन कठिनाइ भइरहेका चार युवाले एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोष प्राप्त गरेका छन् । गत साता काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

एन्थोनी लन्च मेमोरियल छात्रवृत्तितर्फ रिन्चेन तामाङ र सुष्मा तामाङ तथा साथी अलुम्नी छात्रवृत्ति कोष–२०२६ तर्फ पुस्पराज चौधरी र समीक्षा प्रसाईं छनोट भएका हुन् । उनीहरूले नेपालमै स्नातकोत्तर तहको अध्ययन अघि बढाउनेछन् ।

रिन्चेन काठमाडौं विश्वविद्यालयमा सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता र सुष्मा शिक्षा नेतृत्व तथा व्यवस्थापन विषयमा स्नातकोत्तर गर्दैछन् । त्यस्तै, पुस्पराजले अंग्रेजी शिक्षा र समीक्षाले लोक प्रशासन विषयमा स्नातकोत्तर अध्ययन गर्ने तयारी गरेका छन् ।

छात्रवृत्तिको आर्थिक सहयोग मोण्डो फाउण्डेशनले गरेको हो । मोण्डो फाउण्डेशन एन्थोनी लन्चले करिब २१ वर्षअघि स्थापना गरेका थिए ।

नेपालमा लामो समय स्वयंसेवकका रूपमा काम गरेका एन्थोनीले विशेषगरी सिन्धुपाल्चोकको हेलम्बुबाट शिक्षा तथा सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्‍याएका थिए । ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा उनले लामो समय काम गरेका थिए ।

उनको निधनपछि परिवारले उनको सम्झनामा नेपालमै स्नातकोत्तर अध्ययन गर्न चाहने दुई विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको हो ।

‘एन्थोनी लन्चले नेपालमा थुप्रै सामाजिक कार्य गर्नुभएको छ । धेरै वर्षअघि सिन्धुपाल्चोकको हेलम्बुबाट सेवा प्रारम्भ गर्नुभएको उहाँको गत वर्ष निधन भएको थियो । उहाँकै सम्झनामा यो छात्रवृत्तिको स्थापना गरिएको हो,’ कार्यक्रममा बताइएको थियो ।

छात्रवृत्तिअन्तर्गत आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गरिँदै आएको छ । प्रत्येक विद्यार्थीले दुई वर्षका लागि करिब १ लाख ८० हजारदेखि २ लाख रुपैयाँसम्म सहयोग पाउनेछन् ।

यसअघि पनि शर्मिला तामाङ, योगेन्द्र अनुपम जिसी, सुशीला तोलाङ्गे र उपमा राई लगायतले यही छात्रवृत्तिबाट उच्च शिक्षा अघि बढाइसकेका छन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल र शिक्षाविद् विद्यानाथ कोइरालाको आतिथ्यता रहेको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको