अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
काठमाडौं । पुतलीसडकस्थित अर्वाना स्कुल अफ साइन्सले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा शुक्रबार नेपाल पुलिस क्लबमा आयोजित समारोहबीच कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको हो ।
कार्यक्रममा अर्वाना स्कुल अफ साइन्सका अध्यक्ष रविन्द्र शर्मा, निर्देशक डा. नविन शर्मा, प्रिन्सिपल रामप्रसाद तिवारीलगायत शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

कार्यक्रमको सुरुवातमा विद्यालयकी सहायक प्रिन्सिपल तारा राईले स्वागत मन्तव्य राख्दै नयाँ विद्यार्थीलाई अर्वानामा स्वागत गरेकी थिइन् । उनले विद्यालयले अवलम्बन गर्दै आएको शिक्षण पद्धतिबारे धारणा राख्दै विद्यार्थी सफल हुन धैर्यता, लगनशीलता, दृढता र अनुशासन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा कक्षा १२ मा अध्ययनरत छात्र प्रतिक जोशीले अर्वानासँग जोडिएको आफ्नो अनुभव सुनाएका थिए । अर्वानामा प्रवेश गर्दा सुरुवातमा केही अन्योल र द्विविधा भए पनि अध्ययनका क्रममा विद्यालयको शैक्षिक वातावरण र गतिविधिले आफूलाई सन्तुष्ट बनाएको उनले बताए ।
त्यस्तै, कक्षा ११ मा अध्ययनरत छात्रा अद्येता क्षेत्रीले अर्वानामा आएपछिको आफ्नो अनुभव साझा गर्दै स्वागत कार्यक्रम आयोजना गरेकोमा कक्षा १२ का विद्यार्थीहरूलाई धन्यवाद दिइन् ।

कार्यक्रममा विद्यालयका निर्देशक डा. नविन शर्माले विद्यार्थीलाई उत्प्रेरणामूलक मन्तव्य दिएका थिए । उनले विद्यार्थीले समयको सदुपयोग गर्दै आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिए । आफ्नै सफलतासम्मको यात्राका अनुभवसमेत सुनाउँदै उनले आजदेखि नै आफ्नो सपना पूरा गर्ने दिशामा अघि नबढ्ने हो भने भविष्यमा पछुताउनुपर्ने अवस्था आउन सक्ने बताए ।

‘एउटा व्यक्ति सफल हुनका लागि उसले एक्लै मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘आजकै दिनदेखि आफ्नो सपना पूरा गर्न नदौडिने विद्यार्थी वा कुनै पनि व्यक्तिसँग भविष्यमा पछुताउनुबाहेक अर्को विकल्प हुँदैन ।’
निर्देशक शर्माले विद्यार्थीलाई पुस्तकसँग गहिरो सम्बन्ध स्थापित गर्नसमेत सुझाव दिए । सुरुवातमा कठिन लागेका विषय निरन्तर अभ्यास र मेहनत गरेपछि सहज हुँदै जाने बताउँदै उनले कठिनाइबाट भाग्नेभन्दा त्यसलाई सामना गर्ने बानी विकास गर्न विद्यार्थीलाई आग्रह गरे ।
‘आज तपाईंलाई कुनै विषय गाह्रो लाग्न सक्छ, तर मिहिनेत गर्नुहोस्, ती सबै गाह्रा कुरा पनि सजिला लाग्छन्,’ उनले भने, ‘आज पुस्तक वा कुनै विषय गाह्रो लाग्यो भनेर छोड्नुभयो भने भोलि त्योभन्दा गाह्रो परिस्थिति आउँदा आफूलाई सम्हाल्न सक्नुहुन्न । त्यसैले लगनशील भएर मिहिनेत गर्नुहोस् ।’

कार्यक्रममा विद्यालयका प्रिन्सिपल रामप्रसाद तिवारीले अर्वानाले विद्यार्थीलाई गुणस्तरीय तथा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको बताए । अघिल्ला वर्षहरूमा विभिन्न परीक्षामा विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि उत्कृष्ट नतिजाका लागि विद्यार्थीले मेहनत, लगनशीलता र अनुशासनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रतिभा प्रदर्शनसँगै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

ताजा अपडेट
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया