Techie IT
  • आईतबार, भदौ २८, २०८३ / Sunday, September 13, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न

ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न


प्रेसिडेन्सियल ग्राजुएट स्कुलको आयोजनामा ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षामा सहयोग तथा बाढी तथा विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले शनिबार ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न भएको छ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलबाट सुरु भई सोही स्थानमा समापन भएको ५ किलोमिटर दौडमा करिब ७७५ जनाको सहभागिता रहेको थियो। स्वास्थ्य, शारीरिक तन्दुरुस्ती र सामुदायिक सहभागितासँगै सामाजिक उत्तरदायित्वलाई जोड दिँदै आयोजना गरिएको दौडमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए।

कार्यक्रममा सहभागी हुन तोकिएको प्रतिव्यक्ति ३९९ रुपैयाँ दर्ता शुल्कबाट संकलित सम्पूर्ण रकम दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका–२, साँखुस्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री तथा स्रोत–साधन उपलब्ध गराउन प्रयोग गरिने विद्यालयले जनाएको छ।

त्यस्तै, हालैको बाढी तथा विपद्बाट प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रमस्थलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सकिने क्यूआर कोडसमेत राखिएको थियो। प्रेसिडेन्सियल ग्राजुएट स्कुलले उक्त राहत कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ।

विद्यालयका अध्यक्ष लक्ष्मण केसीले ‘प्रेसिडेन्सियल रन फर कज’लाई केवल ५ किलोमिटरको दौडका रूपमा मात्र नहेर्न आग्रह गरे। उनका अनुसार विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका विद्यार्थी तथा समुदायप्रति सामूहिक ऐक्यबद्धता प्रकट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

“शिक्षण संस्थाको जिम्मेवारी कक्षाकोठाभित्रको पठनपाठनमा मात्र सीमित हुँदैन। विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण समुदायलाई एकजुट गर्दै समाजका लागि अर्थपूर्ण योगदान गर्न हामी प्रतिबद्ध छौँ,” अध्यक्ष केसीले भने।

विद्यालयका अनुसार कार्यक्रमले संस्थाको सामाजिक उत्तरदायित्व, सामुदायिक सहभागिता तथा दिगो सामाजिक प्रभावप्रतिको प्रतिबद्धतालाई समेत उजागर गरेको छ। संस्थाले समुदायको हित, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न पहलहरू सञ्चालन गर्दै आएको जनाएको छ।

‘प्रेसिडेन्सियल रन फर कज’ले युवाहरूलाई सामाजिक परिवर्तनका लागि ठूला वा असाधारण काम नै आवश्यक नहुने सन्देश दिएको आयोजकको भनाइ छ। आवश्यकतामा रहेका व्यक्ति तथा समुदायको साथमा उभिएर सामूहिक रूपमा चालिएको एउटा सानो कदमले पनि सकारात्मक परिवर्तनको सुरुवात गर्न सकिने कार्यक्रममार्फत सन्देश दिइएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको