कक्षा ११ मा भर्ना : भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा ?
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा ११ ÷ १२ अध्यायन हुने अधिकांश शिक्षालयमा प्रवेश परीक्षाको प्रबन्ध गरिएकाले विद्यार्थी एकभन्दा धेरै विद्यालयमा परीक्षा दिन व्यस्त भएका छन् । उनीहरुले प्राप्त स्तरीकृत अङ्कका आधारमा कुन शिक्षालयमा छात्रवृत्ति वा कति शुल्क छुट पाइन्छ भनेर चासोपूर्वक बुझिरहेका छन् ।
कतिपय ठूला भनिएका निजी क्षेत्रका कलेजसमेतले कक्षा ११ मा भर्ना प्रक्रिया लगभग पूरा गरिसकेका छन् । परीक्षाको वार्षिक कार्यतालिका अनुसार भर्नाको राष्ट्रिय क्यालेन्डर लागू नहुँदा विद्यार्थी र अभिभावकमा एक प्रकारको अन्योल देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसको समग्र व्यवस्थापनका लागि केन्द्रीय शैक्षिक निकाय र सम्बन्धित स्थानीय तहले समन्वय गर्नुपर्नेमा आफूहरुले स्मरण गराएको बताए । बोर्डले स्तरीकृत परीक्षाका लागि जोड दिँदै आएको छ ।
काठमाडौं महानगरपालिकाले एसइईको नतिजा प्रकाशन भएको १५ दिनसम्म भर्नाका लागि समय दिन सार्वजनिक सूचना गरेको छ भने छात्रवृत्तिका लागि परीक्षा आफैँले लिने तयारी गरेको छ । महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०÷८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ गतेदेखि साउन १२ गतेसम्म अनलाइन आवेदन फाराम भर्न सूचनामा भनिएको छ । छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन हुनेछ ।
महानगरपालिकाले कक्षा ११ मा निजी (संस्थागत) विद्यालयले लिने शुल्कको विवरण भर्नाअगावै उपलब्ध गराई स्वीकृत गराउन पनि निर्देशन दिएको छ । मुलुकका अधिकांश स्थानीय तहले भने व्यवस्थितरुपमा कक्षा ११ र १२ को शिक्षाबारे अनुगमन र निर्देशनमा ध्यान दिन सकेका छैनन् ।
कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसइईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का एक दशमलव छ अङ्क प्राप्त गरेका विद्यार्थी योग्य हुनेछन् । यसका लागि राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७९ भदौ १९ को बैठकको निर्णयअनुसार सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रले गरेको पत्राचारका आधारमा राष्ट्रिय परीक्षा बोर्डले सोबारे सूचित गराइसकेको छ ।
पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले आफ्नो विद्यालयमा कक्षा ११ मा विज्ञान विषय पढ्न ८० विद्यार्थीको कोटा रहेकामा पहिलो चरणमा यही साउन ३ गते प्रवेश परीक्षा लिइने र कोटा पूरा नभए अर्को परीक्षा लिइने जानकारी दिए । पर्याप्त प्रयोगशाला अभावकाका कारण विद्यालयले विद्यार्थीको कोटा बढाउन सकेको छैन । विद्यार्थीले विषय र शिक्षालय रोज्दा साथीसाथीको लहैलहैमा लागेर नभई भोलिको आफ्ना योजना के छ, त्यसलाई पूरा गर्न कहाँ सहज हुन्छ भन्ने आधारमा विद्यालय छान्न उनले सुझाव दिए ।
जेभियर इन्टरनेशनल स्कुलका प्रबन्ध निर्देशक लोकबहादुर भण्डारीले विद्यार्थीले सुनेको सूचनाका आधारमा मात्र नभई आफैँले सामाजिक सञ्जालबाट अध्ययन र स्थलगत अवलोकन गरेर शिक्षालयको गुणस्तर, उचित वातावरण, शिक्षण प्रक्रियाको टुल्स, अन्तर्राष्ट्रियस्तर आदि हेरेर विषय र विद्यालय रोज्ने गरेको पाइएको बताए । जिपिए ४ ल्याउने कतिपय विद्यालय आफ्नो कलेजमा भर्नाका लागि आएको उल्लेख गर्दै उनले निजी शिक्षालयबीच हुने स्वच्छ प्रतिस्पर्धालाई सबैले स्वीकार्नुपर्नेमा जोड दिए ।
नेपाली उपभोक्ता महासङ्घका प्रवक्ता लुमडी कार्कीले उस्तै विषय उस्तै शिक्षालयमा पढ्न कतै वर्षमा रु ५० हजार भए हुने र कतै रु पाँच लाखसम्म लाग्ने स्थिति देखिएकाले यसबारे आफूहरुले स्थलगत अध्ययन गरी प्रतिवेदन ल्याउने तयारी गरेको जानकारी दिए ।
उनले उपभोक्तालाई हुने यस प्रकारको भ्रम चिर्न र ठगी रोक्न कानुनी उपचारमा जान आफूहरु बाध्य हुने बताए । हाल कक्षा ११ ÷ १२ मा सामुदायिक तीन हजार छ सय ८६, निजी एक हजार एक सय ३२ र धार्मिक २८ गरी चार हजार आठ सय ४६ विद्यालय छन् । शिक्षा तथा मानवस्रोत केन्द्रका अनुसार शैक्षिकसत्र २०७९ मा कक्षा ९ देखि १२ सम्ममा ७५ दशमलव चार प्रतिशत खुद भर्नादर रहेको छ भने कक्षा १२ सम्मको टिकाउ दर ३५ दशमलव छ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को फागुनसम्मको अवधिमा कूल सात हजार नौ सय ३७ ले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र लिएको आँकडा छ ।
बोर्डका अनुसार यस वर्ष जिपिए शून्य दशमलव ८० देखि एक दशमलव २० ग्रेडमा २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत र जिपिए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा ३८ हजार सात सय ७७ अर्थात् सात दशमलव ९९ प्रतिशत छन् । उनीहरुले ग्रेडवृद्धिको परीक्षामा नतिजा नसुधारेसम्म कक्षा ११ मा भर्ना पाउँदैनन् ।
बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्म आवेदन दिन सूचना प्रकाशन गरेको छ । साधारण र प्राविधकतर्फ नियमित तथा ग्रेडवृद्धि परीक्षामा सहभागी विद्यार्थीले तोकिएको ढाँचा र प्रक्रियाबमोजिम पुनर्योग गराउन आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
- हेल्पद्वारा कक्षा ११ र १२ अध्ययनका लागि ७२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
- ६ वर्षपछि विपीमा १९५ जना शिक्षकको एक तह बढुवा
- इन्टरनेशनल प्रसिडेन्ट फ्याब्रीसियोको उपस्थितिमा लायन्स डिष्ट्रिक्ट ३२५ ई नेपालको पहिलो बैठक सम्पन्न
- काठमाडौं महानगरद्वारा छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
- दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने त्रिभुवन विश्वविद्यालयको निर्णय
- बंगलादेशबाट १७ जना विद्यार्थी नेपाल आइपुगे, अरुको अवस्था के छ ?
- त्रिवि उप–प्राध्यापक छनौट : २०७७ सालमा विज्ञापन, ०८१ मा लिखित परीक्षा !
- को हुन् शिक्षामन्त्री विद्या भट्टराई ? यस्तो छ उनको पृष्ठभूमी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू (भिडियोसहित)
- चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
- एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- NSL Nepal Open International Pickleball Tournament 2024: A Success Story
- नतिजाका आधारमा देशभरकै टप ५ भित्र मनास्लु वर्ल्ड कलेज
- हजारौं कलेजको भीडमा साउथवेस्टन स्टेटलाई नै किन रोज्ने ?
- सेन्ट लरेन्सलाई ‘कलेज अफ दि इयर’ एवार्ड
तपाईको प्रतिक्रिया