सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?

काठमाडौं । प्राविधिक शिक्षा । बोली खानेभन्दा पनि गरि खाने शिक्षाको रुपमा लिइन्छ, यसलाई । त्यसो त पछिल्लो पुस्ताको आकर्षण प्राविधिक शिक्षातर्फ बढीरहेको छ । आखिर, यो शिक्षाले स्वदेश तथा विदेशमा कस्ता अवसरको ढोका खोल्छन् त ? यसबारे भने भर्खरै एसईई उत्तिर्ण विद्यार्थीमा कौतुहलताको विषय बन्न सक्छ ।
पढाईपछि तुरुन्तै स्वदेश तथा विदेशमा रोजगारीका ढोका खुल्ने आशा र आफैं स्वरोजगार बन्ने अठोटले प्राविधिक शिक्षातर्फ विद्यार्थीहरुको आकर्षण बढ्न थालेको काठमाडौं विश्वविद्यालयका प्रा.डा. टंकनाथ शर्मा बताउँछन् । ‘प्राविधिक विषय पढेको मानिसको श्रमबजारसँगको नाता छिट्टै जोडिन्छ,’ उनले भने, ‘अर्को कुरा जे विषय पढेको हो त्यसैमा उच्च शिक्षा लिन्छु भन्नेहरुका लागि पनि सहज भएकाले यसतर्फ विद्यार्थीको आकर्षण बढ्नु स्वभाविक हो ।’
यद्यपि, नेपालमा उत्पादित प्राविधिक जनशक्ति जति श्रम बजारसँग जोडिनुप¥थ्यो त्यो हुन नसकेको प्रा.डा. शर्माको ठम्याई छ । ‘हाम्रा उत्पादित जनशक्तिलाई स्वदेशमै प्रतिस्थापन गर्नुप¥थ्यो तर, हामीकहाँ श्रम बजार खुम्चिँदै गयो,’ उनी भन्दै थिए, ‘केही वर्षयता देशले आर्थिक क्षेत्रमा प्रगति गर्न सकेन जसले गर्दा हाम्रा जनशक्ति धान्ने बजारको विकास हुनै सकेन ।’
तैपनि, प्राविधिक धारमा शैक्षिक यात्रा अघि बढाएका विद्यार्थीहरुका लागि गरिखाने बाटो आफैंले खन्न सक्ने बनाउनेमा भने उनी ढुक्क छन् । ‘नेपालमा रोजगारीको सिमितता भएपनि विदेशतिर सीप भएका मानिस बिक्न गाह्रो छैन,’ उनी भन्छन्, ‘स्वदेशमै स्वरोजगार भएर पनि उसले राम्रो आम्दानी गर्न सक्छ ।’
हो, नेपालमा यही शिक्षालाई अघि बढाउनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कम्मर कसेर लागेको छ । परिषद्ले हरेक वर्ष प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि ढोका खुला गर्छ । यसवर्षका लागि पनि सीटीईभीटीले एसईई उत्तिर्ण विद्यार्थीका लागि प्राविधिक शिक्षाका विभिन्न विषयका लागि आवेदन खुला गरिसकेको छ । त्यसो त योग्य विद्यार्थीले सीटीईभीटीबाट सम्बन्धन प्राप्त शिक्षण संस्थामार्फत आफ्नो रोजाईको शिक्षा लिन सक्ने सीटीईभीटीका अधिकारीहरु बताउँछन् ।
सीटीईभीटीले हाल स्वास्थ्यमा ११, इन्जिनियरिङमा १६, कृषि तथा वन विज्ञानमा ४ वटा विषयमा अध्यापन गराउँदै आएको छ । साथै, हस्पिटालिटी, इन्टरप्रेनरसीप डेभलपमेन्ट लगायतका विषयमा पनि विद्यार्थी भर्ना लिने गरेको छ ।
प्राविधिक विषयमा अध्ययन गरेका विद्यार्थीले स्वदेश तथा विदेशमा रोजगारी पाउने सम्भावना ७० प्रतिशतभन्दा माथि रहेको जानकारवालाहरु बताउँछन् । त्यसैले पनि प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । यो आकर्षणलाई सीटीइभीटीकै तथ्यांकले पनि पुष्टि गर्छ । २०७७/०७८ सम्म डिप्लोमा तथा प्रमाणपत्र तहमा ९६ हजार २ सय २७ जना र प्रि डिप्लोमा तहमा २ लाख ४० हजार ८ सय ४० जना प्राविधिक जनशक्ति उत्पादन सीटीइभीटीले गरिसकेको छ । यसमध्ये सबैभन्दा बढी स्वास्थ्य र इन्जिनियरिङका विषयमा विद्यार्थीको आकर्षण बढी देखिने गरेको सिटिइभिटीका एक अधिकारी बताउँछन् ।
सीटीईभीटीले सञ्चालन गरेका कुन विषयको कस्तो सम्भावना ?
स्वास्थ्य
यसअन्तर्गत प्रमाणपत्र तहको नर्सिङ, नेत्रविज्ञान, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर एण्ड अकुप्रेसर तथा डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन फिजियोथेरापी र डप्लोमा इन योग एण्ड नेचुरोप्याथी पढ्न पाइन्छ । यी विषयको कोर्स पूरा गर्न तीन वर्ष लाग्छ । परीक्षामा सामेल भएर उत्तीर्ण भएपछि माथिल्लो तहमा अध्ययन गर्ने अवसर समेत प्राप्त हुनेछ । एसईईमा प्राप्त ग्रेडका आधारमा यी विषयमा आवदेन दिएर प्रवेश परीक्षामार्फत छनौट हुने अवसर पाइन्छ ।
स्वास्थ्यतर्फका कार्यक्रममा अध्ययन गर्नका लागि मान्यता प्राप्त शिक्षालयबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज (जि.पि.ए) न्यूनतम २.० वा परिषद्बाट संचालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एस.एल.सी.÷प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्नेछ । स्वास्थ्यतर्फ ३ हजार ६३७ जना पुरुष र ७ हजार ५८५ जना गरी ११ हजार २२२ जनाले अध्ययन गर्न सक्ने छन् ।
इन्जिनियरिङ
यसअन्तर्गडिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ, डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डीसनिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ (हाइड्रोपावर), डिप्लोमा इन मेकाट्रोनिक्स इन्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इन्जिनियरिङ र डिप्लोमा इन एग्रिकल्चर इन्जिनियरिङ अध्ययन गर्न पाइन्छ । डिप्लोमा इञ्जिनियरिङतर्फ पुरुष ७ हजार २०७ जना र महिला २ हजार ५०२ जना गरी ९ हजार ७०९ जनाले अध्ययन गर्न पाउने छन् । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि १.६ जीपीए आए पढ्न पाइन्छ ।
यी सबै कोर्स पूरा गर्न तीन वर्ष लाग्छ । यी विषयहरु प्रि–डिप्लोमा कोर्समा पनि पढाई हुन्छन् । जसको कोर्स पुरा हनु १८ महिना लाग्छ । इन्जिनियरिङका डिप्लोमा तहका यी विषयको अध्ययनपछि हाइड्रोपावर, सडक, खानेपानी आयोजना, पर्यटन लगायतका क्षेत्रमा रोजगारी प्राप्त गर्न सकिन्छ । साथै, विदेशमा पनि यी कोर्सको राम्रो अवसर छ । साथै, सीटीईभीटीले १८ महिनाका लागि प्रि डिप्लोमा कोर्स पनि अध्यापन गराउँदै आएको छ ।
कृषि
कृषि तथा वनविज्ञानसँग सम्बन्धित कार्यक्रमा ४ वटा विषयको अध्ययन गर्न पाइने छ । जसमा डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री छन् । जसमा पुरुष २ हजार ५०५ जना, महिला २ हजार ७८५ र अन्य १ जना गरी ५ हजार २९१ जनाले अध्ययन गर्न सक्ने छन् ।
त्यसबाहेक यसमा टेक्सटाइल एन्ड सेरिकल्चर, आईएस्सी एग्रिकल्चर पनि समावेश छ । डिप्लोमा इन फूड एन्ड डेरी टेक्नोलोजीलाई पनि यही समूहमा राखिएको छ । यी कोर्स पूरा गर्न तीनवर्ष लाग्छ । नेपाल कृषिप्रधान देश भएकाले यी विषयमा रोजगारीको सम्भावना धेरै छ । कृषि अनुसन्धान परिषद्, कृषि विभाग, कृषि मन्त्रालय, कृषि विकास कार्यालय, कृषि सम्बन्धी एनजीओ तथा आइएनजीओहरू रोजगारीका सम्भावित क्षेत्र हुन् ।
फरेस्ट्री
डिप्लोमा तहको यो तीनवर्षे कोर्स पूरा गरेपछि वन विकाससँग सम्बन्धि संघसंस्था वा सरकारी निकायहरूमा रोजगारीको अवसर पाइन्छ । सरकारी सेवाअन्तर्गत वन विभाग, भू–संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु विभाग, बन मन्त्रालय लगायतका स्थानमा रोजगारीको सम्भावना हुन्छ । नेपालमा यो विषय पढाइ हुने कलेज सिमित संख्यामा रहेको छ ।
होटल म्यानेजमेन्ट
डिप्लोमा तहको यो तीनवर्षे कोर्स पूरा भएपछि पर्यटन क्षेत्रमा रोजगारी पाइन्छ । पर्यटकीय स्थलमा खुलेका रिसोर्ट, कटेज, तारे होटल तथा रेस्टुरेन्ट आदि क्षेत्रमा रोजगारीको अवसर पाइन्छ । त्यसबाहेक पर्यटन क्षेत्रमा फड्को मारेका देशहरूमा पनि रोजगारीको अवसर पाइने सम्भावना हुन्छ ।
सामाजिक परिचालक
सिटिइभिटीले नै संचालन गर्दै आएको सामाजिक परिचालकको कोर्स पूरा गर्न तीन वर्ष लाग्छ । यो कोर्स पूरा गरेपछि विशेष गरी एनजीओ तथा आइएनजीओहरूमा रोजगारीको अवसर पाइन्छ । त्यसबाहेक सरकारी स्तरमा पनि रोजगारीको प्रशस्त सम्भावना हुन्छ ।
भर्नाका लागि यस्ता छन् मापदण्ड
अक्षरांकन पद्धति लागू हुनु पूर्वका एसएलसी दिएका विद्यार्थीहरुले टीएसएलसीका कार्यक्रममा अध्ययन गर्नका लागि मान्यताप्राप्त शिक्षालयबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण वा परिषदबाट संचालन हुने कार्यक्रमसँग सम्बन्धित प्राविधिक एस.एल.सी.÷प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्नेछ ।
त्यस्तै, डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्यसम्बन्धि विषयमा अध्ययन गर्नका लागि एसएलसी वा एस.ई.ई. परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनतम ‘सी’ग्रेड अर्थात् जीपीए २.० ल्याएको वा परिषदबाट संचालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एस.एल.सी. प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्ने सीटीईभीटीले जनाएको छ ।
डिप्लोमा इन्जिनियरिङ तर्फका विषयमा अध्ययनका लागि गणित र विज्ञानमा न्यूनतम सी ग्रेड र अंग्रेजीमा न्युनतम डी प्लस ग्रेड प्राप्त गर्नुपर्ने निर्धारण गरिएको छ । डिप्लोमा तहका कृषि फुड एण्ड डेरी टेक्नोलोजी र फरेस्ट्री कार्यक्रममा अध्ययन गर्नका लागि अंग्रेजी, गणित र विज्ञानमध्ये कुनै २ विषयमा न्युनतम ‘सी’ ग्रेड र कुनै एकमा न्यूनतम डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने जनाइएको छ ।डिप्लोमा इन होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसीप डेभलपमेन्ट र सोसियल वर्कका लागि अंग्रेजी विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने सीटीईभीटीले जनाएको छ ।
कति लाग्छ शुल्क ?
डिप्लोमा अन्तर्गत ४९ वटा विषय पढ्न आंगिक मान्यता पाएका कलेजहरुमा विषयअनुसार ८५ देखि १ लाख ६० हजार शुल्क लाग्छ । सामुदायिक र सरकारी अनुदान भएका कलेजहरुमा विषय अनुसार ९० हजारदेखि १ लाख ९० हजार शुल्क लाग्छ । सरकारी अनुदान नपाउने साझेदारी कलेजहरुले २ लाख ५ हजार शुल्क लाग्ने सीटीईभीटीले जनाएको छ । त्यस्तै, प्रि–डिप्लोमा अन्तर्गत विषयहरूमा आंगिकमा १५ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानमा ५५ हजार रूपैयाँ शुल्क लाग्छ ।
प्रि–डिप्लोमाकै इन्जिनियरिङ अध्ययन गर्दा आंगिकमा २२ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानमा ६५ हजार रूपैयाँ लाग्नेछ । प्रि–डिप्लोमाको व्यवस्थापन र अन्य प्राविधिक विषयमा भने आंगिक शिक्षालयमा १८ हजार र सामुदायिक र साझेदारी प्रतिष्ठानहरूमा ५५ हजार शुल्क तोकिएको सीटीईभीटीले बताएको छ ।
ताजा अपडेट
- शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदैं शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
- एम्बार्क कलेजलाई दिल्लीमा उदाउँदो बी–स्कूल को उपाधि
- अमेरिकी विदेश मन्त्रालयद्वारा ६,००० भन्दा बढी विद्यार्थी भिसा खारेज
- विद्यालय तहमा स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिन मन्त्री पौडेलको पहल
- स्वस्थ जीवनशैलीको जग बसाल्न विद्यालयको पाठ्यक्रम परिमार्जन गर्न बनेको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण
- नेपालमा व्यवसायिक शिक्षाको नयाँ युगः इम्बार्क कलेजको अग्रसरता
- १० वर्ष पुगेको अवसरमा स्वास्थ्य पत्रकार मञ्चले मनायो वार्षिकोत्सव
- १० औँ रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्यार्थीले जनाउँदैछन् सहभागिता
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया