Techie IT
  • सोमबार, असोज १२, २०८३ / Tuesday, September 29, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि

इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि


काठमाडौं । इजरायलमा रोजगारीका लागि गएका विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । इजरायलको किबुजस्थित कृषि फार्ममा २० असोजमा हमास समूहको आक्रमढापछि बेपत्ता भएका जोशी गाजा क्षेत्रमा हमासको कब्जामा रहेको पुष्टि भएको हो ।

जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्याण्डका नागरिकहरुसँगै सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको सक्रियतामा उपलब्ध सबै कूटनीतिक तथा व्यक्तिगत च्यानलबाट बुझ्ने क्रममा आइतबार उनी सकुशल रहेको पुष्टि भएको हो । रराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले विपिन सकुशल रूपमा गाजा क्षेत्रमा रहेको भरपर्दो सूचना प्राप्त भएको जानकारी दिए ।

नेपाली राजदूतावास र नेपालस्थित इजरायलको राजदूतावासबाट प्राप्त सूचनाका आधारमा जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि भएको हो ।

उनी त्यहाँ हमास समूहको नियन्त्रणमा रहेको आशंकामा हमास समूहसँग सम्बन्ध रहेका अरब मुलुकका समकक्षीहरूसँग परराष्ट्रमन्त्री साउदले यसअघि टेलिफोनमा संवादसमेत गरेका थिए । परराष्ट्र मन्त्रालयले हमासका मित्र मानिएका मुलुकको कूटनीतिक च्यानलमार्फत जोशीलाई पत्ता लगाउने र स्वदेश फर्काउन प्रयास गर्दै आएको थियो ।

परराष्ट्रमन्त्री साउदले यसअघि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन गरेर जोशीको मुक्तिका लागि प्रयास गरिदिन अनुरोध गरेका थिए । मध्यपूर्वको इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ । सरकारले मध्यपूर्वका यीलगायतका मुलुकसँग नेपाली विद्यार्थीको खोजीका लागि प्रयास गरेको छ । सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)लगायतका संघसंस्थासँग पनि जोशीको खोजबिन गरिदिन अनुरोध गर्दै आएको थियो ।

इजरायलमा २० असोजमा हमास समूहले गरेको हिंसात्मक हमलापछि रहेका १७ जनामध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका जोशीलाई आक्रमणकारीहरूले लिएर गएको जानकारी स्वदेश फर्केका विद्यार्थीले दिएका थिए ।

हमास समूहले गरेको ग्रिनेड आक्रमणमा बंकरभित्रै चारजना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । मृतकहरूको शव स्वदेश ल्याएर अन्तिम संस्कार सम्पन्न भइसकेको छ ।

आक्रमणमा परेर घाइते भएका सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको बयान दिँदै आएका थिए । उनीहरूका अनुसार हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए । त्यसपछि उनीहरूले जोशीलाई लिएर गएका थिए ।

जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीको भनाइ थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको