Techie IT
  • बिहीबार, वैशाख २०, २०८१ / Thursday, May 2, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजसाउथवेस्ट्रन स्टेट कलेजमा विज्ञान प्रदर्शनीको कुम्भमेला, २५ हजारले अवलोकन गर्ने

साउथवेस्ट्रन स्टेट कलेजमा विज्ञान प्रदर्शनीको कुम्भमेला, २५ हजारले अवलोकन गर्ने


काठमाडौं । बसुन्धारास्थित साउथवेस्ट्रन स्टेट कलेजमा १२ औँ संस्करणको विज्ञान प्रदर्शनी तथा करिअर इन म्यानेजमेन्ट–२०२४ आजबाट सुरु भएको छ । भोलि अर्थात माघ १९ गतेसम्म चल्ने उक्त प्रदर्शनीलाई टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका हुन् ।

काठमाडौं उपत्यका भित्रका स्कुल, कलेज, बैंक, अनुसन्धान संस्थालगायत विभिन्न संघसंस्थाहरुले सहभागिता जनाएको प्रदर्शनीमा ६० वटाभन्दा बढी स्टल राखिएको छ । जसमा विभिन्न विद्यालयका विद्यार्थीले बनाएको विज्ञान र प्रविधिसम्बन्धि सामग्री प्रदर्शनमा राखिएका छन् । जसमा जनरल अप्रेशनल बोट फर इमर्जेन्सी रेस्क्यू, पोइजन मसरुम डिटेक्सन, बायो डिजेल, ब्लाइण्ड गाइडर, फायर एक्सटिङ्गिजर रोबोर्ट, भोटिङ एप लगायतका सामग्रीहरु प्रदर्शनीका आकर्षण हुन् ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ आयाम ल्याउने र विद्यार्थीको क्षमता अभिवृद्धि गर्न हौसला प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले जानकारी दिए । ‘आजको युग विज्ञान र प्रविधिको युग हो,’ उनले भने, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले सुरुवातका वर्षहरुदेखि नै विज्ञान प्रदर्शनी गर्दै आएका छौँ, आज १२ औँ संस्करणको प्रदर्शनी त्यसैको निरन्तरता हो ।’

प्रदर्शनीका अवसरमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको छ । जसअन्तर्गत चिरायु इन्टरनेशनल अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण भइरहेको छ । बसुन्धारास्थित कान्तिपुर जनरल अस्पतालसँगको सहकार्यमा निःशुल्क दन्त तथा आँखा परीक्षण भइरहेको कलेजले जनाएको छ । यसैगरी, साउवेस्ट्रन भूतपूर्व विद्यार्थी समाज र हेड्स नेपाल बागमती प्रदेशको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।

कलेजकै रोबोटिक क्लबसँग मिलेर रोबोटिक प्रतियोगिता र नेपाल एस्ट्रोनोमिकल सोसाइटी र कलेजको एस्ट्रोनोमी एण्ड एस्ट्रो फिजिक्स क्लबको सहकार्यमा सोलार अवलोकन कार्यक्रम र विज्ञान परियोजना प्रस्तुतिकरण लगायतका कार्यक्रम रहेको कलेजले जनाएको छ ।

औपचारिक कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिलाई स्वागत गर्दै कलेजकी इन्टननेशनल रिलेसन कोअर्डिनेटर साथै कार्यक्रमको संयोजक सरिता शाक्य प्रधानले यो प्रदर्शनीलाई उपत्यकाका झण्डै २५ हजार विद्यार्थी तथा शिक्षकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको बताइन् ।

विज्ञान र प्रविधिको विकासबिना कुनैपनि देशले समृद्धिको यात्रा तय गर्न सक्दैन भन्ने मूल्यमान्यतालाई आत्मसाथ गर्दै साउथवेस्ट्रन स्टेट कलेजले स्थापना कालदेखि नै हरेक वर्ष विज्ञान प्रदर्शनी गर्दै आएकोसमेत उनले बताइन् । ‘यो हाम्रो बाह्रौं शृंखला हो,’ उनले भनिन्, ‘यसलाई हामी आगामी वर्षहरुमा समेत निरन्तरता दिनेछौँ ।’ विकसित मानव मस्तिष्कलाई नवीन सम्भावनाहरुको खोजी गर्न तथा विभिन्न वैज्ञानिक चमत्कारहरु प्रदर्शन गर्नको लागि यस्ता किसिमका प्रदर्शनीहरुले प्रोत्साहित गर्ने उनको विश्वास छ ।

कार्यक्रममा बोल्दै टोखा प्याब्सनका अध्यक्ष टङ्ककुमार चापागाईंले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरे । उनले साउथवेस्ट्रनले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीलाई विगतका वर्षहरुदेखि नै अवलोकन गर्दै आएको बताए । ‘अबको पुस्ता विज्ञान र प्रविधिबिना बाँच्न सक्दैन,’ उनले भने, ‘साउथवेस्ट्रनले आफ्नो विज्ञान प्रदर्शनीलाई १२ औँ संस्करणसम्म जीवन्त राखेको छ । यसका लागि शुभकामना दिन चाहन्छु ।’

पछिल्लो समय विज्ञान र प्रविधि गरिखाने विषय बन्न थालेको बताउँदै उनले भने, ‘आज यो प्रदर्शनीमा राखिएका ६० वटा स्टल हाम्रा सम्पत्ति हुन्, यो निर्माण गर्ने विद्यार्थी हाम्रा गहना हुन् ।’

टोखा प्याब्सनले पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विभिन्न विषयगत सेमिनारहरुको आयोजना गर्दै आएको उनले बताए । ‘हाम्रा विद्यार्थी पढाइमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा समेत अब्बल छ भन्ने प्रमाण यही हो,’ उनले भने ।
सैद्धान्तिक शिक्षामा समेत टोखा नगरपालिका अब्बल रहेको उनले दाबी गरे । ‘ एसईईमा देशभरबाट २५ जना विद्यार्थीले ४ जीपीए ल्याउँदा टोखा नगरपालिकाबाटै ५ जना विद्यार्थी परेका छन्,’ उनले भने, ‘प्रयोगात्मक शिक्षामा पनि हामी अब्बल छौँ, राज्यले गर्नुपर्ने काम संस्थागत विद्यालयले गरिरहेको छ । आज साउथवेस्ट्रनले गरेको यो प्रदर्शनी त्यसैको उदाहरण हो ।’

त्यस्तै, हिसानका केन्द्रीय सचिव राजेन्द्र अधिकारीले अबको शिक्षालाई विज्ञान र प्रविधिसँग नजोड्ने हो भने आधुनिक शिक्षाको परिकल्पना गर्न नसकिने बताए । पछिल्लो समय विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोबारे चिन्ता व्यक्त गर्दै उनले भने, ‘सरकारी तथ्यांकलाई हेर्ने हो भने शिक्षामा चुनौति र देशको भविष्यमाथि नै प्रश्न चिह्न खडा भइसकेको छ,’ उनले भने, ‘अब केही दशकभित्रै नेपालका विद्यालयमा विद्यार्थीको संख्या निकै न्यून हुने देखिन्छ त्यसैले अब व्यवाहारिक शिक्षामाथि जोड दिनुपर्ने आजको टड्कारो आवश्यकता हो ।’ साथै, उपत्यका भित्रका हजारौँ विद्याथीलाई भेला गरी प्रदर्शनीमा सहभागि गराएकोमा उनले साउथवेस्ट्रन कलेजप्रति आभारसमेत व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि एवम् टोखा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरोत्तम रानाले साउथवेस्ट्रन कलेजले टोखा नगरपालिकाको शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको बताए । टोखामा सामुदायिक र संस्थागत गरी ९२ वटा स्कुल रहेपनि यस्ता प्रदर्शनीमा सामुदायिक विद्यालयहरुको कम सहभागिता हुनु दुःखद रहेकोसमेत बताए । ‘हाम्रै नगरपालिका भित्र यस्तो राम्रो प्रदर्शनी भइरहेको छ यसमा हाम्रै सामुदायिक विद्यालयहरुको सहभागिता किन भएन ?,’ प्रश्न गर्दै उनी भन्छन्, ‘आगामी प्रदर्शनीमा टोखा नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई सहभागिता गराउने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।’

साउथवेस्ट्रनले विज्ञान प्रदर्शनी तथा करिअर म्यानेजमेन्ट जस्तो कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई क्षमता प्रदर्शन गर्ने अवसर दिएकोमा उनले शुभकामनासमेत व्यक्त गरे ।

त्यस्तै, साउथवेस्ट्रन ग्रुपका अध्यक्ष एवम् साउथवेस्ट्रन स्टेट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसीले सुरुवातका दिनदेखि नै आफूहरुले प्रविधिमैत्री शिक्षामा जोड दिँदै आएको बताए । यो कार्यक्रमले एक सयभन्दा बढी स्कुल र कलेजका शिक्षक र विद्यार्थीबीचमा नेटवर्किङ गर्ने अवसरसमेत प्रदान गरेको उनको भनाई थियो । ‘यो कार्यक्रम एक सयभन्दा बढी स्कुल कलेजका विद्यार्थी र शिक्षकका बीचमा नेटवर्किङ गर्ने थलो बनेको छ,’ उनले भने, ‘यसको फाइदा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुले लिनुहुनेछ भन्ने मेरो विश्वास छ ।’

कार्यक्रमका प्रमुख अतिथि एवम् टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले साउथवेस्ट्रनले आयोजना गरेको विज्ञान प्रदर्शनी तथा करिअर इन म्यानेजमेन्ट कार्यक्रमको सफलताको शुभकामना दिए । कार्यक्रममा बोल्दै उनले साउथवेस्ट्रन स्टेट कलेज टोखा नगरपालिकाकै पहिचान भएकोसमेत बताए । ‘टोखा नगरपालिका भित्र ९२ वटा विद्यालय छन् त्यसमध्ये साउथवेस्ट्रन स्टेट कलेज हामीले समेत गर्व गर्ने संस्थाका रुपमा स्थापित भएको छ,’ उनले भने, ‘हरेक क्षेत्रमा कला प्रस्फुटन गर्ने मौका विद्यार्थीलाई दिँदै आएको यस कलेजले विज्ञान प्रदर्शनीमार्फत राष्ट्रका लागिसमेत योगदान गर्दै आएको छ ।’ नगरभित्रको शैक्षिक गतिविधि सञ्चालनमा साउथवेस्ट्रन कलेज जस्तो गतिलो सारथी पाएकोमा उनले खुसीसमेत व्यक्त गरे । ‘कोही पनि नगरबासी आर्थिक अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो प्रतिवद्धतालाई साकार पार्न साउथवेस्ट्रनले साथ दिँदै आएको छ,’ उनी भन्दै थिए, ‘आगामी दिनमा पनि कलेजसँग नगरपालिकाले यस्तै साथ र सहयोगको अपेक्षा गर्दछ ।’

साउथवेस्ट्रनले हरेक वर्ष गर्दै आएको विज्ञान प्रदर्शनीलाई आफूले निरन्तर सात वर्षसम्म अवलोकन गर्दै आएकोसमेत बताए । ‘मैले साउथवेस्ट्रन आएको बेलामा यहाँका विद्यार्थीहरुसँग शैक्षिक क्रियाकलापका बारेमा प्रतिक्रिया पनि लिने गरेको छु,’ उनले भने, ‘विद्यार्थीले प्रफुल्लित मुद्रामा दिएको प्रतिक्रियाले मलाई गर्व महसुुस गराएको छ ।’

कार्यक्रमका सभापति एवम् कलेज सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर बासुदेव विष्टले यस्ता प्रदर्शनीले विद्यार्थीमा उत्सुकता उजागर गर्ने विश्वास व्यक्त गरे । ‘अहिले मानिसको जीवनका आएको समस्यालाई विज्ञान तथा प्रविधिले नै समाधान गर्न थालेको छ,’ उनले भने, ‘हामीले पनि विद्यार्थीलाई कसरी समस्याको पहिचान र समाधान गर्ने भन्ने कुरा सिकाउनकै लागि यो प्रदर्शनीको आयोजना गरेका हौँ ।’ आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तता दिने प्रतिवद्धता व्यक्त गर्दै उनले कार्यक्रममा उपस्थितहरुप्रति आभारसमेत व्यक्त गरे ।

प्रदर्शनीमार्फत युवा प्रतिभालाई हौसला प्रदान गर्न विजयी विद्यालय तथा विद्यार्थीहरुलाई नगद, प्रसंशापत्र, सिल्ड र मेडलबाट सम्मानित गरिने कलेजले जनाएको छ । प्रदर्शनीमा तीन चरणका प्रतियोगिताहरु समावेश गरिएका छन् । जसअन्तर्गत अन्तरविद्यालय विज्ञान प्रदर्शनी, अन्तरकलेज विज्ञान प्रदर्शनी र साउथवेस्ट्रन कलेजभित्रका विद्यार्थीहरुकाबीच प्रतियोगिता हुनेछ ।

कार्यक्रमको उद्घाटन सत्रलाई कार्यक्रम संयोजक राजेन्द्रप्रसाद लामिछानेले सञ्चालन गरेका थिए । सञ्चालनकै क्रममा उनले कलेजले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने ‘क्यूएए’ प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट