Techie IT
  • मंगलबार, जेठ २६, २०८३ / Tuesday, June 9, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजअर्बाना स्कुलद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

अर्बाना स्कुलद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न


काठमाडौं । पुतलीसडकस्थित अर्बाना स्कुल अफ साइन्सले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहबीच कार्यक्रम सम्पन्न भएको हो ।

कलेजका अध्यक्ष रबिन्द्र शर्मा खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कलेजका सल्लाहकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित विद्यार्थी तथा अतिथिलाई स्वागत गर्दै सहायक प्रिन्सिपल तारा राईले अर्बानामा अध्ययन गर्ने विद्यार्थीहरूले भविष्यमा कुनै पनि प्रकारको पछुतो महसुस गर्न नपर्ने बताइन् । उनले विद्यार्थीहरूलाई सही मार्गनिर्देशनमार्फत उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि आवश्यक अवसर र वातावरण प्रदान गरिने उल्लेख गरिन् ।

‘हामी पहिलो दिनदेखि नै विद्यार्थीहरूलाई उच्च शिक्षा तथा भावी करियरका लागि सहज हुने खालका शैक्षिक गतिविधिहरू सञ्चालन गर्छौं,’ उनले भनिन् । एमबीबीएस, इन्जिनियरिङलगायतका प्रवेश परीक्षादेखि अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा समेत अर्बानाका विद्यार्थीहरूले उत्कृष्ट छात्रवृत्ति हासिल गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा सूचना तथा प्रविधि (आईटी) क्लबकी आराधना यादवले क्लबद्वारा सञ्चालन गरिएका गतिविधिबारे जानकारी गराउँदै विद्यार्थीहरूले विभिन्न क्लबमा आबद्ध भएर आफ्नो नेतृत्व क्षमता तथा सिकाइ क्षमतालाई थप अभिवृद्धि गर्न सक्ने बताइन् ।

उत्प्रेरक वक्ताका रूपमा सहभागी डा. मिलन गैरले दृढ विश्वास, मिहिनेत, लगनशीलता, धैर्यता, इमान्दारिता र अनुशासनजस्ता गुणहरू भए असफलतालाई पनि सफलतामा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गरे ।

यसैगरी, स्कुलका प्रोग्राम कोअर्डिनेटर यमनारायण पोखरेलले कलेजको व्यवस्थापन तथा फ्याकल्टी टोलीको परिचय गराउँदै अर्बाना केवल शैक्षिक संस्था मात्र नभई विद्यार्थीहरूको दोस्रो घर भएको बताए । उनले यहाँका शिक्षक–शिक्षिकाले अभिभावकको भूमिकासमेत निर्वाह गर्ने उल्लेख गर्दै जीवनमा सफलता प्राप्त गर्न बहुआयामिक गुणहरूको आवश्यकता पर्ने बताए ।

कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थी अनुपराज सेजुवालले ‘बाको सपना’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । साथै, विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

स्कुलका प्रिन्सिपल रामप्रसाद तिवारीले विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनीहरूको सपना साकार पार्न अर्बाना प्रतिबद्ध रहेको बताए । ‘तपाईंहरू जुन सोच र उद्देश्यका साथ अर्बाना परिवारमा जोडिनुभएको छ, हामी त्यसलाई साकार पार्न दृढ छौं,’ उनले भने ।

उनले अर्बानामा कक्षा ११ देखि नै कक्षा १२ पछिको अध्ययनलाई लक्षित गरी शैक्षिक गतिविधि सञ्चालन गरिने जानकारी दिए । विद्यार्थीहरूलाई एमबीबीएस, इन्जिनियरिङलगायत विभिन्न विषयका प्रवेश परीक्षाका लागि आवश्यक तयारी कक्षा कक्षा ११ बाटै सुरु गराइने उनको भनाइ थियो ।

नेपालकै प्रतिष्ठित नेम इन्स्टिच्युटबाट सञ्चालित अर्बाना स्कुल अफ साइन्सले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तिगत विकासलाई केन्द्रमा राख्दै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको