Techie IT
  • शनिबार, चैत्र २१, २०८२ / Saturday, April 4, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारएसईईको नयाँ निर्देशिका जारी: यस्तो छ केन्द्राध्यक्षको जिम्मेवारी

एसईईको नयाँ निर्देशिका जारी: यस्तो छ केन्द्राध्यक्षको जिम्मेवारी


काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्रक्रिया छिटो र व्यवस्थित बनाउन सरकारले नयाँ निर्देशिका जारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले मंगलबार नयाँ कार्यविधि पारित गरेपछि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एसइइ सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ जारी गरेको हो।

नयाँ निर्देशिकाअनुसार अब एसइइको नतिजा परीक्षा सकिएको एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। यसका लागि उत्तरपुस्तिका परीक्षण प्रक्रियामा महत्वपूर्ण परिवर्तन गर्दै केन्द्राध्यक्षलाई प्रमुख जिम्मेवारी दिइएको छ।

परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण

यसअघि उत्तरपुस्तिका संकलन गरेर अन्य जिल्ला वा परीक्षण केन्द्रमा पठाएर जाँच्ने व्यवस्था थियो। तर नयाँ कार्यविधिअनुसार अब परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिनेछ। निर्देशिकाले प्रत्येक परीक्षा केन्द्रलाई नै ‘परीक्षण केन्द्र’ का रूपमा परिभाषित गरेको छ।

केन्द्राध्यक्षका प्रमुख जिम्मेवारी

परीक्षणको नेतृत्व :
उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको सम्पूर्ण जिम्मेवारी केन्द्राध्यक्षको हुनेछ। उनले प्रत्यक्ष निगरानीमा उत्तरपुस्तिका जाँच गराउनुपर्नेछ।

परीक्षक नियुक्ति :
सम्बन्धित विषयका माध्यमिक तहका शिक्षक वा अवकाशप्राप्त शिक्षकलाई परीक्षक र सम्परीक्षकका रूपमा खटाउने जिम्मेवारी केन्द्राध्यक्षलाई दिइएको छ।

सुरक्षा र सीसीटीभी :
उत्तरपुस्तिकाको गोपनीयता कायम राख्न सम्भव भएसम्म सीसीटीभी जडान भएको सुरक्षित कक्षमा परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ।

विद्युतीय उपकरणमा प्रतिबन्ध :
परीक्षण कक्षभित्र परीक्षक वा सम्परीक्षकले मोबाइल फोन वा अन्य विद्युतीय उपकरण लैजान नपाउने सुनिश्चितता केन्द्राध्यक्षले गर्नुपर्नेछ।

मार्कस्रिप बुझाउने :
परीक्षा सकिएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सम्पन्न गरी प्राप्ताङ्क (मार्कस्रिप) सिलबन्दी रूपमा शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्नेछ।

नतिजा प्रकाशनमा तीव्रता

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार पारित गरेको कार्यविधिले उत्तरपुस्तिका परीक्षणलाई विकेन्द्रीकृत प्रणालीमा लैजाने बाटो खोलेपछि मन्त्रालयले यो निर्देशिका स्वीकृत गरेको हो। केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुने भएपछि ढुवानी र प्रशोधनमा लाग्ने समय बचत भई एक महिनाभित्र नतिजा सार्वजनिक गर्न सकिने बोर्डको विश्वास छ।

यो निर्देशिका वि.सं. २०८२ को एसइइ परीक्षादेखि लागू हुनेछ। निर्देशिकामा लापरवाही गर्ने परीक्षकलाई पारिश्रमिक कट्टा गर्नेदेखि विभागीय कारबाहीसम्मको व्यवस्था पनि गरिएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको