अब कक्षा १२ उत्तीर्ण भएकाले मात्र नर्सिङ पढ्न पाउने
काठमाडौँ– नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पु¥याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ ।
नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।
कार्यदलले नर्सिङ पढाइसम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासबारे पनि अध्ययन गरेको थियो । आयोगका सदस्यसचिव काप्रीले भने, “धेरै विदेशी मुलुकमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको अध्ययनबाट देखिएको छ । नेपालमा पनि सोही व्यवस्था लागु गर्नु पर्छ भन्ने कोणबाट आयोगले आवश्यक गृहकार्य गरिरहेको छ ।”
केसी संयोजक रहेको कार्यदलले दिएको प्रतिवेदनलाई आयोगले गत चैत ९ गते पारित गरेको थियो । सोही प्रतिवेदन पारित गरेपछि मापदण्ड निर्माण अघि बढाइएको काप्रीले जानकारी दिए । उनका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषयको पढाइ हुन्छ । नयाँ व्यवस्था अनुसार जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले पनि नर्सिङ पढ्न पाउने छन् । “तर तीनवर्षे नर्सिङ पढेपछि रोजगारीमा कुन हैसियतमा जाने ? यसलाई लोक सेवा आयोगले मान्यता दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ,” काप्रीले भने, “नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्डले यी सबै विषयलाई स्पष्ट पार्ने छ । त्यसपछि आयोगको बैठकले पारित गरेपछि मात्रै कार्यान्वयन चरणमा जान्छ ।” अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नेले नर्सिङ पढ्न पाउने व्यवस्था छ । प्रमाणपत्र तहमा नर्सिङ उत्तीर्ण गर्नेले ब्याचलर अफ नर्सिङ (बिएन) अध्ययन गर्ने बाटो खुल्छ ।
त्यसबाहेक कक्षा १२ मा विज्ञान विषय पढेकाले बिएस्सी नर्सिङ पढ्न पाउँछन् । एसइईपछि दुई वर्षको आधारभूत अध्ययनपछि मात्रै नर्सिङ पढ्ने व्यवस्था गर्दा विद्यार्थीका लागि अध्ययनको जग बसाल्न सहयोग पुग्ने तथा अन्तर्राष्ट्रिय अभ्याससँग पनि एकरूपता हुने विश्वास आयोगले लिएको छ ।
पछिल्लो समय मुलुकमा नर्सिङ पढाइप्रति विद्यार्थीको आकर्षण बढे पनि रोजगारीको अवस्था भने चित्तबुझ्दो छैन । नेपालमा वार्षिक चार हजार नर्स रोजगारी बजारमा जाने गरेका छन् । हाल नेपाल नर्सिङ काउन्सिलमा ८३ हजार नौ सय ६६ जना नर्स दर्ता छन् । तर अधिकांश नर्सको रोजगारीको गन्तव्य भने विदेश हुने गरेको छ ।
सम्बन्धन दिन निर्देशन
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले मापदण्ड पूरा भएका नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले यस्तो निर्देशन दिएको हो ।
चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लगायत सरोकारवाला निकायका अधिकारी बैठकमा सहभागी हुनुभएको थियो ।
मापदण्ड पूरा भएका नर्सिङ कलेजलाई सम्बन्धन दिन निर्देशन दिने सहमति भए पनि समितिले लिखित निर्देशन भने दिएको छैन । यस विषयमा थप निर्णय गरिने समितिले जनाएको छ । अहिले सम्बन्धन दिन लागिएको नर्सिङ कलेजले यसै शैक्षिक सत्रदेखि नर्सिङ विषयको पढाइ सञ्चालन गर्न पाउने छन् । आजको गोरखापत्रमा यो खबर प्रकाशित छ ।
ताजा अपडेट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया