समाचार
सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
काठमाडौं—सेन्ट लरेन्स कलेजमा सातौं साइन्स एण्ड आइटी एक्स्पो सुरु भएको छ । बिहीबारबाट चाबहिलस्थित कलेजको प्राङ्गणमा एक्स्पो सुरु भएको हो ।
एक्स्पोमा १८ वटा विद्यालयहरुको सहभागिता रहेको छ । सहभागी विद्यालयका विद्यार्थीहरुले विभिन्न अवधारणामा आधारित प्रोजेक्टहरु प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा कृषि डोजर, सेन्सर छडीदेखि स्याटेलाइटसम्मका सामग्रीहरु देख्न सकिन्छ ।
२५ माघसम्म चल्ने प्रदर्शनी १० हजारभन्दा बढी मानिसहरुले अवलोकन गर्ने सेन्ट लरेन्सको अनुमान रहेको छ । ‘हामीले २ सयभन्दा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई यो प्रदर्शनी अवलोकन गर्नका लागि निमन्त्रणा गरेका छौं,’ कलेजका साइन्स कोअर्डिनेटर तेज तिमिल्सिनाले जानकारी दिँदै भने, ‘१० हजारभन्दा बढी मानिसहरुले एक्स्पोको अवलोकन गर्ने हाम्रो अनुमान छ ।’
एक्स्पोको उद्घाटन सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. रवीन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कलेजका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्वमा सुरु भएको कार्यक्रममा कलेजका प्रिन्सिपल ताराप्रसाद सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्ने क्रममा सुवेदीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभएर सिर्जनात्मक ज्ञानमा समेत अग्रसर गराउन सेन्ट लरेन्स निरन्तर लागिरहेको बताए । ‘हामीले विद्यार्थीलाई अब सैद्धान्तिक ज्ञानमात्र दिएर हुँदैन भन्ने सोचेरर ७ वर्षदेखि निरन्तर साइन्स एण्ड आइटी एक्स्पो गर्दै आएका छौं,’ उनले भने, ‘यसले देशलाई सिर्जनात्मक र प्रविधिमा दखल राख्ने जनशक्तिको उत्पादनमा एउटा इँटा थप्ने काम गर्छ भन्नेमा विश्वस्त छौं ।’
प्रविधिमैत्री शिक्षालाई जोड दिने उद्देश्यले स्कुलले रिसर्च सेन्टरसमेत सञ्चालनमा ल्याएको उनले बताए । ‘हामीले रिसर्च सेन्टरमार्फत विद्यार्थीहरुलाई नयाँ—नयाँ प्रविधिको आविष्कारमा जोडिरहेका छौं,’ उनले भने, ‘आजको यो एक्स्पो पनि सेन्टरकै सक्रियतामा सम्पन्न हुन गइरहेको छ ।’
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथी डा. ढकालले पछिल्लो पुस्ताका विद्यार्थीहरुमा प्रविधिप्रति लगाव रहेपनि लगनशीलताको भने खाँचो रहेको प्रष्ट पारे । ‘विद्यार्थीहरुमा प्रविधिप्रति रुचि त छ तर लगनशीलताको भने खाँचो देखिन्छ,’ कार्यक्रममा बोल्दै डा. ढकालले भने, ‘अब विद्यालयहरुले विद्यार्थीहरुलाई प्रविधिका क्षेत्रमा लगनशील भएर लाग्न प्रेरणा भर्नुपर्ने देखिन्छ ।’

उनले विद्यार्थीहरुलाई अरुले गरेको काम भन्दा पनि आफ्नै दिमाग खियाएर प्रविधिको अन्वेषणमा लाग्न उनले सुझाव दिए । ‘नेपालमा आगलागी नियन्त्रण, नदी सरसफाई र कृषिमा रहेको समस्यालाई समाधान गर्न थुप्रै प्रविधिको आविष्कार गर्न जरुरी छ,’ उनले भने, ‘यस्ता कुरामा विद्यार्थी भाइबहिनीहरुले आजैबाट दिमाग खियाउन सुरु गर्नुस् ।’
कार्यक्रममा उनले प्रतिष्ठानले गरिरहेको कामको समेत अवगत गराएका थिए । नास्टले ४ वर्षअघि अन्तरिक्षमा प्रक्षेपण गरेको स्याटेलाइटबारे अवगत गराउँदै अब दुई महिनाभित्र मुनाल नामको स्याटेलाइट प्रक्षेपण गर्न लागेको समेत उनले जानकारी गराए । त्यस्तै, प्रविधिका क्षेत्रमा रुचि भएका र विशेष आइडीया भएका विद्यार्थीहरुलाई नास्टले सहयोग गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे ।
कार्यक्रमका सभापति एवं सेन्ट लरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगालले अबको नेपाल प्रविधिको विकासले मात्र परिवर्तन गर्न सकिने बताए । साथै, सेन्ट लरेन्सले विगत लामो समयदेखि विद्यार्थीहरुलाई प्रविधिसँगको नेटवर्किङमा जोडिरहेको जानकारी दिए । ‘हामी आजको पुस्तामा भएको ज्ञानलाई प्रस्फुटन गरी देशलाई काम लाग्ने प्रविधि बनाउन सक्ने जनशक्ति बनाउन उद्धत छौं,’ उनले भने, ‘त्यो लक्ष्य प्राप्त नहुन्जेलसम्म हामी निरन्तर लागिरहनेछौं ।’
सातौं संस्करणसम्म आउँदा सेन्ट लरेन्सले पनि विज्ञान तथा प्रविधिको विकासमा एउटा सिँढी थप्ने काम गरेको उनले बताए । आगामी दिनमा नास्टजस्ता संस्थाहरुसँग विद्यार्थीहरुलाई प्रविधि समाजसँग जोड्ने सन्दर्भमा सहकार्य गर्ने जानकारी दिए । ‘नेपालमा अब नयाँ नयाँ प्रविधि आविष्कारको खाँचो छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालले प्रविधिमा उपलब्धि हासिल गर्न सक्यो भने समृद्ध बन्न धेरै समय कुर्नु पर्दैन ।’
एक्स्पोको उद्घाटन समारोहमा सेन्ट लरेन्सका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन, एकेडेमिक इन्चार्ज नवराज भण्डारी, कोअर्डिनेटर तेज तिमिल्सिना तथा श्याम कोइरालाको उपस्थिति रहेको थियो । त्यस्तै, विभिन्न विद्यालयबाट आएका शिक्षक शिक्षिक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो । उद्घाटन सत्रलाई कलेजका शिक्षक नानीकाजी खड्का (एनके)ले सञ्चालन गरेका थिए ।
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया